सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रम तथा रोजगार कार्यालय धनगढी बाहिर सेवाका नाममा लुट

२०७८ कार्तिक १८, १०:२९ कमल सावद

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का राजेन्द्र साउँद यसै मंगलबार श्रम स्वीकृतिका लागि धनगढी आए। रोजगार दाताले श्रम स्वीकृतिका लागि माग फार्म नपठाएपछि उनी धनगढीमै बसे। बुधबार पुनः श्रम स्वीकृतिका लागि श्रम तथा रोजगार कार्यालय धनगढी पुगेका उनलाई अनलाइन फारम भर्न लगाइयो। श्रम कार्यालय धनगढी बाहिर रहेको फर्ममा उनले अनलाइन फारम भरे। उनले कर, बीमा र सेवा शुल्कसहितबापत ६ हजार ३ सय तिरे। ‘कर र बीमाको ६ हजार ३ सय लियो। तर कुनको कति हो भनिएको छैन। सेवा शुल्क कति लियो मलाई थाहा भएन,’ उनले दिनेशखबरसँग भने।  श्रम तथा रोजगार कार्यालय धनगढी बाहिर सेवाका नाममा लुट मच्चाइएको गुनासो उनले गरे। 

यसरी नै श्रम स्वीकृतिको अनलाइन फारम भर्न सञ्चालनमा रहेका फर्महरुले लुट मच्चाएको आरोप बेलाबेला लाग्ने गरेको छ। सेवा शुल्क भन्दै अवैध रुपमा सञ्चालनमा रहेका फर्महरुले एक जना सेवाग्राहीबाट एक हजारसम्म लिँदै आएका छन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कर तथा सरकारलाई तिर्नुपर्ने रकमका बारेमा जानकारी नभएकाले बढी रकम तिर्न बाध्य पारिने गरिएको छ। 

दर्ता समेत नभएका अधिकांश फर्महरुले मनोमानी रकम असुल्दै आएका छन्। उनीहरुले सेवाग्राही अनुसार फरक–फरक शुल्क लिदै आएका छन्। एक अर्का सेवाग्राहीले दिनेशखबरसँग भने, ‘सेवा शुल्क बाफत ४ सय तिरेको छु।’
श्रम कार्यालय बाहिर सेवाग्राहीबाट गैरकानूनी फर्महरुले मनोमानी रकम असुल गर्दै आएको भएपनि त्यसको नियमन भएको छैन।

श्रम कार्यालय, स्थानीय तह तथा स्थानीय प्रशासनले नियमन गर्नुपर्ने भएपनि बेवास्ता गरेको गुनासो गरिएको छ। श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त प्रमुख जनक उखेडाले समेत नियमन नभएको स्वीकार गरेका छन्। उनले भने, ‘फर्म भर्दा बढी रकम लिएको गुनासो आएका छन्। उहाँहरुलाई सामान्य सुझाव दिएका छौं। तर बढी रकम लिने क्रम रोकिएको छैन।’ सेवा प्रदान गरेको भन्दै महंगो रकम लिदै आएका फर्महरु दर्ता भए–नभएको बारेमा समेत उनी अनभिज्ञ छन्।

यसरी गैरकानूनी रुपमा सञ्चालनमा रहेका फर्महरुबाट सरकारले कर लिन सकेको छैन भने, नागरिकहरु दिनहुँ ठगिने गरेका छन्। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस