सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० विश्वकपमा भारतको पहिलो जित

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक १८, ०८:२३ खबर संवाददाता

काठमाडौंः आईसीसी टी–२० विश्वकपमा भारतले पहिलो जित हात पारेको छ। युएईमा भइरहेको विश्वकप अन्तर्गत बुधबार भएको सुपर १२ को खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हरायो।

जितपछि भारत तीन खेलबाट दुई अंक जोड्दै चौथो स्थानमा उक्लेको छ। यसअघि पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको भारतले पहिलो जितपछि अंकको खाता खोलेको हो। पहिलो जितपछि भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।

चार खेलमा दोस्रो हार बेहोरेको अफगानिस्तान चार अंकसहित तेस्रो स्थानमा छ। अफगानिस्तानले अब न्युजिल्याण्डसँग खेल्न बाँकी छ। भारतले दिएको २११ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनायो।

अफगानिस्तानका लागि करिम जन्नतले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए। उनले २२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान मोहम्मद नावीले ३५ रन जोडे। भारतका मोहम्मद शामीले तीन, रवीचन्द्रन आश्विनले दुई तथा जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले रोहित शर्मा र केएल राहुलको अर्धशतक मद्दतमा दुई विकेट गुमाएर २१० रन बनाएको थियो। पहिलो विकेटका लागि रोहित र राहुलले १४० रनको साझेदारी गरेका थिए।

रोहितले ४७ बल खेल्दै ८ चौका र ३ छक्का मद्दतमा ७४ रन बनाए। यस्तै राहुलले ४८ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा ६९ रन बनाए। यस्तै हार्किक पाण्ड्य र ऋषभ पन्तले पनि आक्रमक ब्याटिङ गर्द अविजित ६३ रनको साझेदारी गरे। 

हार्दिकले अविजित ३५ र पन्तले अविजित २७ रन बनाए। दुवैले समान १३ बल खेलेका थिए। हार्दिकले चार चौका र दुई छक्का प्रहार गरे। पन्तले एक चौका र तीन छक्का प्रहार गरे। अफगानिस्तानका करिम जन्नत र गुल्बादिन नइबले एक–एक विकेट लिए।

कमेन्ट लोड गर्नुस