सुदूर नेपाललाई विश्वसँग जोड्दै

२७ जना विपन्न महिलाहरुद्धारा १३ विगाहमा आलु खेती सुरु

कैलालीमा व्यवसायिक आलु खेती फस्टाउँदै

२०७५ पुष ७, १०:४३

करोडौंको आलु भारतबाट आयात भईरहेका वेला कैलालीमा व्यवसायिक आलु खेती फस्टाउँदै गएको छ । जिल्लाका विभिन्न भेगहरुमा व्यवसायिक रुपमा आलु खेती वढ्दै गएको हो । करौडौंको आलु भारतबाट आईरहेको अवस्थामा सम्भावना देखेर यसतर्फ आकर्षित हुने किसानहरुको संख्या पनि वढिरहेको छ । धनगढीको विशालनगरका २७ जना विपन्न महिलाहरु व्यवसायिक आलु खेती गर्न  थालेका छन् । कतिपयले भएको आफ्नो जग्गा र कतिपयले जग्गा भाडामा लिएर समेत व्यवसायिक रुपमा आलु खेती गरिरहेका हुन् । आलु खेतीको राम्रो सम्भावना भएको कैलालीमा करौडौको आलु भारतवाट आईरहेको अवस्थामा यसको खेती गरेमा राम्रो आम्दानी गर्न सकिने सम्भावना छ । त्यही सम्भावनालाई खोजेर घरायसी कामकाजमा लागिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का महिलाहरु व्यवसायिक आलु देती तर्फ लागेका छन् । दुई वटा समुहमा आवद्ध भएर महिला त्यसमा पनि विपन्न महिलाहरुले व्यवसायिक रुपमा यसपालीदेखि आलु खेती थालेका हुन् । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरका २७ जनामा महिलाहरुले दुवै समुह वनाएर १३ विगाह अर्थात ८ हेक्टर क्षेत्रफलमा व्यवसायिक आलु खेती थालेका हुन् । दुवै समुहका महिलाहरुले विभिन्न ६ वटा ब्लकमा आलु खेती हुर्काईरहेका छन् । आशिष महिला कृषक समुहमा आवद्ध भएर १४ जना महिलाले भएको आफ्नो साढे चार हेक्टर जग्गामा आलु खेती गरिरहेको कृषक समुहकी अध्यक्ष मधु चौधरीले बताईन् । १३ जना महिला आवद्ध रहेको मोहना व्यवसायिक तरकारी उत्पादक कृषक समुहले पनि साढे तीन हेक्टर जग्गामा यसपालीदेखि आलु खेती थालेका छन् । यो समुहमा आवद्ध भएका सवै महिलाहरु मुक्तकमैयाहरु हुन् । मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका उनीहरुले यसअघि च्याउ खेती पनि गरिसकेका छन् । आलु खेती गरेर जिवनस्तर सुधार हुने आम्दानी हुने देखेर खेतीमा लागेको मोहना व्यवसायिक तरकारी उत्पादक कृषक समुहकी उपाध्यक्ष लक्ष्मी चौधरीले बताईन् । 

यसअघि पनि सानो तिनो रुपमा आलु लगाउँदै हाट बजारमा विक्री गर्दै आएका महिलाहरुले अहिले आएर ठुलो परिमाणमा व्यवसायिक रुपमा देती गरेका हुन् । तर आलु खेती गर्ने समयमा मलको समस्या धेरै भोगेको अनुभव महिलाहरु सुनाउँछन् । सिंचाईको व्यवस्थापन तथा अन्य आवश्यक कामहरु जसोतसो गरे पनि मल समयमै नपाउँदा आलु खेती लगाउने वेला निकै समस्या भएको महिला किसानहरु वताउँछन् । एक सय ३५ क्वीन्टल विउ किनेर लगाईएकोमा उनीहरुलाई विक्रीका लागि कुनै समस्या नै छैन् । विउ किनेको कम्पनीले नै उत्पादन भएको समयको मुल्य अनुसार सवैआलु खरिद गर्ने सम्झौता भईसकेको छ । यसले पनि विक्रीका लागि कुनै चिन्ता नगरेका महिलाहरुले अहिले आलुको गोडमेल तथा चिसोबाट बचाउनका लागि काम गरिरहेका छन् । दुवै समहुवाट झण्डै दुई सय मेट्रिक टन आलु उत्पादन हुने अनुमान गरिएको छ । कुल लगानीको झण्डै ४० प्रतिशत अनुदान पाएका महिलाहरुले झण्डै ६० प्रतिशत भने समुहकै रकम लगाएर आलु खेती थालेका छन् । आलु गर्न थालेका महिलाहरुलाई सहयोग हुन सकेमा यसको खेती विस्तार हुने र आयात कम हुँदै जाने भएकोले यसमा सहयोग हुनुपर्ने माग गरिएको छ । आलु खेती गर्नका लागि आवश्यक व्यवस्थापनको कामका लागि सहजीकरण गरिरहेका राजवहादुर ऐरले विक्री वितरणका लागि कुनै समस्या नरहेको र विउ किनेको कम्पनीले नै वजार मुल्यमा किन्ने सम्झौता भईसकेको बताए । 

गौरीफन्टा भन्सार नाका भएर गएको बर्ष २६ करोड वढीको आलु नेपाल आएको छ भने चालु आर्थिक वर्षको मंसीर मसान्तसम्म २० करोडको आलु आएको छ । बर्षेनी वढिरहेको माग अनुसार आलु आयात वढिरहेकोले स्थानीय स्तरमा आलु खेतीका लागि अनुदान सहयोग र प्राविधिक सल्लाह दिन सकेमा यसले आयात घटाउनुका साथै धेरै जिल्लावासीको जीवनस्तरमा आर्थिक रुपमा सुधार ल्याउने थियो की ? 
 

कमेन्ट लोड गर्नुस