सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाले फूल खेतीमा पनि क्षति, तिहारमा फूल अभाव हुनसक्ने

२०७८ कार्तिक १७, ११:५५ विन्दु चन्द

धनगढीः सुदूरपश्चिम प्रदेशमा यो वर्षको तिहारमा मखमली फूलको अभाव हुने देखिएको छ। वर्षाका कारण फूल खेतीमा नोक्सानी भएकाले फूलको अभाव हुने देखिएको हो। कार्तिक पहिलो हप्ताको वर्षाका कारण फूल खेतीमा क्षति भएको पुष्प व्यवसायीहरुले बताएका छन्। 

कैलालीका पुष्प व्यवसायी पुष्पराज पन्तले दुई लाख बढीको लगानीमा खेती गरेको बताए। ५ लाख बढी आम्दानी गर्ने लक्ष्य रहेकोमा बाढीकै कारण सबै फुल नष्ट भएको उनले बताए। ‘रोप्ने, गोडमेल गर्नेदेखि अहिलेसम्म दुई लाख बढी खर्च लाग्यो। त्यो सबै पानीमा बग्यो’ उनले भने। वर्षाले डेढबिघामा लगाएको फुलका बोट पिरोल जस्तै बनाएको उनले बताए। 

गत वर्ष कोरोना महामारीका कारण त्यति फूल खेती गर्न पाइएको थिएन। कोरोनाका कारण बिउ नपाउँदा भनेजति फूल खेती गर्न नपाएको धनगढीका अर्का पुष्प व्यवसायी चन्द्रबहादुर दमाई बताउँछन्। ‘केही कोरोनाले नोक्सान गर्यो। अहिले त वर्षाले जम्मै नोक्सान गर्यो’, उनले भने, ‘माग त धेरै आइरहेको  छ। पुराना ग्राहकहरु धेरै आउँदैछन्। तर फर्किदैछन्।’वर्षाले डेढ कट्टामा रोपेको फुल सबै नष्ट भएको दमाई बताउँछन्।

 दुई वर्षदेखि फूल खेती गर्न नसकेका फूल व्यवसाय उब्जनी कर तिर्न समेत बाध्य छन्। दमाई भन्छन्, ‘यस वर्ष अलि फूल लगाएका थियौं, त्यो पनि नष्ट भयो। अब सरकारलाई बिनाकारण कर तिर्नु परिरहेको छ।’ फूल खेतमा क्षति भएपछि उनले घाँस लगाएका छन्। उनले तरकारी समेत लगाएका छन्। 

अहिले भारतले पनि फूल आयातमा रोक लगाएको छ। पुक्ष्पराज पन्तले भने, ‘भारतबाट समेत फूल नआउने भनिएको छ। पश्चिम पहाडमा कसैले फूल खेती गर्दैनन्। पूर्वतिर  २÷४ जनाले फूल खेती गरेका छन्। त्यहाँबाट भए पनि आपूर्ति गर्न सकिन्छ।’

गत विगतका वर्षहरुमा तिहारका लागि सुदूरपश्चिमबाटै फूलहरु आपूर्ति हुन्थ्यो। तर यस वर्ष भने सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा प्राकृतिक फूलहरुको अभाव हुने देखिएको छ।  फूल खेती गर्दा लागेको खर्च असुल हुने समेत कुनै सम्भावना नै छैन। 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस