सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जे गर्नुछ, समयमै गर्नुस’

२०७८ कार्तिक १६, ०४:१९ खबर संवाददाता

धनगढी: दीर्घ साउँद कैलाली, गोदावरी नगरपालिकास्थित लालपुरमा विस २०४८ मा जन्मिए। दिपशिखा डान्स क्लब खोलेर आफै डान्स सिकाइरहेका उनी सुनगाभा मन्टेश्वरी स्कुलको संस्थापक अध्यक्ष पनि हुन्।  समय समयमा सांस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम गरिरहने उनले पछिल्लो समय लालपुर बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरे। जहाँ राष्ट्रिय कलाकार र स्थानीय कलाकारको उपस्थिति रहेको थियो।

राष्ट्रिय र स्थानीय कलाकारलाई एकै मञ्चमा उभ्याउनुको कारण दर्साउँदै उनी भन्छन्, ‘यहाँको कलाकारको कला देखेर उनीहरुले पनि स्थानीय कलाकारलाई भोलिको दिनमा अवसर पर्दान गर्न सक्छन्। स्थानीय कलाकारले पनि राष्ट्रिय कलाकारलाई प्रभावित गर्ने किसीमले आफ्नो प्रस्तुति दिन सक्छन्। सबैभन्दा ठूलो कुरा त स्थानीय कलाकारलाई सिकाई राम्रो हुन्छ।’ उनी स्थानीय रुपमा आयोजना हुने यस्ता कार्यक्रमले सामाजमा सकारात्मक परिवर्तन आउने कुरामा विश्वास गर्छन्। 

उनी आयोजक रहेको लालपुर वृहत् सांस्कृतिक कार्यक्रमले त्यहाँका स्थानीयलाई केवल मनोरञ्जन मात्रै दिएन। ३२ विपन्न घरपरिवारलाई तिहार कोसेली भनेर प्रदान पनि गर्यो।  यो वर्ष कोरोना भाइरसका कारण आर्थिक स्थिति कमजोर भएको हुनाले तिहार कोसेली वितरण गरिएको थियो। त्यो भन्दा पहिलेका वर्षहरुमा अन्य सामाजिक सम्पत्ति जस्तो, विवाह पार्टी भोजमा प्रयोग गरिने साउन्डबक्स इत्यादि जोड्ने गरिन्थ्यो। आर्थिक स्रोत साधन कसरी जुटाउनुहुन्छ भन्ने प्रश्नमा उनले विभिन्न समाजिक तथा व्यवसायिक व्यक्तित्वलाई सम्झिदै भने, ‘सहयोगबाट नै हो कार्यक्रम आयोजना गर्ने। धेरैले जस्तो सहयोगीले ‘ल भाई तिमीले राम्रो गर्न सक्छौ गर हामी साथमा छौँ’ भन्ने किसिमले भन्नुहुन्छ र देश विदेशमा रहेका लालपुर निवासी, बाहिर रहेका सामाजिक व्यक्तित्वहरुबाट सहयोग मागेर नै कार्यक्रम आयोजना गर्छौ।’ 

उनी पारदर्शितामा विश्वास गर्छन्। उनी भन्छन्, ‘यदि पारदर्शिताका साथ काम गरियो भने मात्रै थप सहयोग हुन्छ। हामी जहिल्यै कार्यक्रम सकिएपछि सहयोग दाताहरूलाई खर्च र आयको स्थिति बताउँछौ। यसले उहाँहरुले अगामी कार्यक्रममा सहयोग गर्नुहुन्छ।’ 

अर्को कुरा समयलाई महत्त्व दिनुपर्ने उनको मान्यता छ। नयाँ पुस्तालाई अर्थात् यस्तै कार्यक्रम आयोजना गर्न चाहनेहरुलाई के भन्नुहुन्छ ? भनेर सोध्दा उनी भन्छन्, ‘सबै कुरा समयमा गर्नुस्। समयमै गरिएन भने जति राम्रो गर्न सक्नुहुन्छ त्यति गर्न सक्नुहुन्न। साथै पूर्णरुपले लक्ष्यमा पुग्न सकिँदैन।’ 

आफुलाई जोड्दै उनले थपे, ‘म आफुले समय दिइसकेपछि जसरी पनि त्यो समयमा भनेको ठाउँमा पुग्छु। अरुको कार्यक्रममा आफु गए भने, एक्लैले समयमा चाहेर नहुने किसिमको कार्यक्रम भए पनि म एक आधा घण्टामै सुरु गर्नका लागि पहल गर्छु।’

कमेन्ट लोड गर्नुस