अछाममा ७७ किलोवाट विद्युत् दुरुपयोग
अछामका कतिपय स्थानीय तह र गाउँ विद्युत् बिहीन छन्। कतिपय नागरिक विद्युत् नभएर सोलारको प्रयोग गरिरहेका छन् र विद्युत्का लागि सङ्घर्ष गरिरहेका छन्।
तर मेल्लेख गाउँपालिकाको ऋषिदहमा रहेको कासागाड लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बढी भएपछि खेर गइरहेको छ। मेल्लेखको वडा नं १ र २ ऋषिदहका एक हजार बढी घरधुरीका पाँच हजार उपभोक्तालाई चौबिसैघण्टा विद्युत् उपभोग गरेर पनि विद्युत् बढी भएपछि खेर गइरहेको छ। २०७० सालबाट नियमित रुपमा बलिरहेको ९२ किलोवाट क्षमताको कासागाड लघुजलविद्युत् आयोजनाबाट हालसम्म स्थानीयवासीले १५ किलोवाट विद्युत् मात्रै उपभोग गरिरहेका छन्।
बाँकी ७७ किलोवाट विद्युत् सदुपयोग हुननसक्दा खोलामा बगिरहेको आयोजनाका अध्यक्ष अर्जुन धामीले बताए। पाँच वर्षदेखि खेर गइरहेको ७७ किलोवाट विद्युत् सदुपयोग हुन नसक्दा आयोजना, गाउँवासी र समग्र गाउँपालिकालाई नै घाटा भइरहेको धामीको भनाइ छ।
तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जा, संसदीय कोष र विभिन्न सङ्घ संस्था तथा उपभोक्ताको जनश्रमदान गरी कूल रु एक करोड ४७ लाख लागतमा निर्माण भएको जलविद्युत् आयोजनाको व्यवस्थापन र खेर गइरहेको विद्युत् सदुपयोगका लागि ठोस् योजना नबन्दा सबैलाई घाटा भइरहेको वडा नं– २ का अध्यक्ष दानबहादुर बुढाको भनाइ छ।
विद्युत्का कारण गाउँमा टुकी र झरो युगको अन्त्य भएको छ, भने स्थानीयवासीलाई कम्प्युटर सिक्न, फोटो धुलाउन, फोटोकपी लगायतका इलेक्ट्रोनिक्टक काम गर्न निकै सहज भइरहेको छ। तर बढी भएर खेर गएको विद्युत् सदुपयोगका लागि कुनै पहल नहुँदा भने स्थानीयवासी निकै चिन्तित छन्। स्थानीयस्तरमा कुटानीपिसानी मिल, फर्निचर उद्योग, कागज तथा अल्लो उद्योग सञ्चालन गर्ने गरि गाउँपालिकाले नीति बनाएर खेर गइरहेको विद्युत् उपयोग गर्न सकिने अवस्था रहेपनि हालसम्म कुनै पहल भएको छैन।
विद्युत्को हकमा अहिले जे छ, त्यसलाई निरन्तरता दिइने र गाउँपालिकामा राष्ट्रिय प्रशारण लाइन जोडिसकेपछि त्यसको व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए। खेर गइरहेको विद्युत्लाई अन्धकारमा रहेका अन्य वडाका गाउँबस्तीसम्म वितरण गर्ने गरी गाउँपालिकाले सोचिरहेको अध्यक्ष बोहराको भनाइ छ। रासस