कञ्चनपुरका बाढीपीडित किसानको गुनासो, ‘क्षतिको विवरण लिन कोही आएनन्, राहतको आस छैन’
कञ्चनपुरः आजभोलि साँझबिहान घर पारि रहेको धान खेत हेरेर चिन्तित बनिरहन्छन् कञ्चनपुरको भिमदत्त नगरपालिका वडा १७ का दिपक भट्ट र उनकी श्रीमती धनेश्वरी भट्ट। एक बिघामा लगाएको धान वर्षाले पुरै सखाप बनाइदिँदा परिवारको गुजारा कसरी चलाउने भनेर सधैँ चिन्ता भइरहने गरेको उनीहरु बताउँछन्।
उनीहरुले एक बिघामा तोरी खेती गरेका छन्। ‘तोरीको खेतमा पनि बाढी पस्यो। धेरै फल्थ्यो तर यस वर्ष केही हुँदैन’ दिपकले भने। आजसम्म तेल बजारबाट किन्ने अवस्था नआएको तर यो वर्ष तेल पनि किन्नुपर्ने बाध्यता आएको उनी बताउँछन्। ‘खेतको पानी अझै सुकेको छैन। थोरै धान काट्न बाँकी थियो त्यो पनि डुब्यो। काटेको धान सबै सखाप पार्याे। एक दाना पनि राख्न पाएनौं’ धनेश्वरी भट्टले भनिन्, ‘दाना त सबै गयो पराल पनि रहेन। हामी त जसोतसो गुजारा चलाउँला। गाइबस्तुलाई के हाल्ने।’
बाढी आएको हप्तौँदिन पुग्दा पनि कुनै पनि निकाय क्षतिको विवरण बुझन नआएको उनीहरुको भनाई छ। उनीहरु राहतबारे पनि नसुनेको बताउँछन्। ‘अहिलेसम्म कोही पनि के–कति क्षती भयो भन्नेबारे बुझ आएका छैनन्। खै राहतको बारेमा त हामीलाई केही थाहा छैन’ दिपकले भने।
खेतमा पुरै पानी जम्दा गहुँ छर्न सक्ने अवस्था समेत नरहेको उनीहरु बताउँछन्। ‘यसरी नोक्सान होला भनेर सोचेका पनि थिएनाैँ। अचानक यस्तो भयो। अब कम्मरमा हात टेकेर हेर्नु बाहेकको विकल्प केही छैन’ भट्ट भन्छन्, ‘विपद् आएपनि सरकारले सहयोग गर्नुपर्ने हो तर देशको राजनीतिक अवस्था नै अस्तव्यस्थ छ हाम्रा पिडा कसले सुन्छ। आस गर्नु पनि बेकार हो।’