सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकाको नफेरिएको दृश्य : परेली भिजाएर भारत पस्छन् नेपाली

२०७८ कार्तिक १२, ०३:५० विन्दु चन्द

धनगढी : बिहीबार दार्चुलाका ५४ वर्षीय मानसिंह बोहरा त्रिनगर–गौरीफन्टा नाकामा भेटिए। थकित ज्यानसंगै अनुहार पनि मलिन थियो उनको। भारतको मुम्वई गन्तव्य बनाएका बोहरा पीडामा भएको पुष्टि अनुहार हेरेरै गर्न सकिन्थ्यो। 

दसैँ मनाउन घर फर्केका बोहराले दुई साता मात्रै घर बस्न पाए। ‘चाडपर्वको समयमा पीडा बोकेर परेली भिजाउँदै परदेश पस्नु पर्ने बाध्यता छ,’ उनले भने, ‘चाडबाडको समयमा रमाउने रहर कसलाई हुँदैन र ? तर बाध्यताले बुढेसकालमा पनि गाउँमा तिहार मनाउन नपाइने भयो।’

दसैँ मनाउन अछामका कमल बिक पनि घर फर्केका थिए। घर निर्माणको काम गर्दै आएका उनलाई पनि तिहार सम्म नै बस्ने रहर थियो। तर दसैँमा ल्याएको खर्च सकिएपछि फेरि उनी तिहार मान्न छाडेर भारत नै फर्किरहेका थिए। ‘दसैँ त जेनतेन मनाइयो अब तिहार कसरी मनाउने,’ उनले भने, ‘गरिवका लागि के दसैं के तिहार। भारत गन्तव्य बनान हाम्रो बाध्यता नै हो।’

भारतको सुरत गन्तव्य बनाएका डडेल्धुराका अर्जुन जोशीलाई पनि घर फर्केको दुई साता मात्रै भएको थियो। ५ वर्षपछि दसैंको टिका लगाएका अर्जुनले भाइटिका लगाउन नपाएको पनि ५ वर्ष नै भइसकेको छ। तर यसवर्ष पनि भाइटिका लगाउन नपाउँदाको पीडा अर्जुनको मलिन अनुहारमा प्रष्टै देखिन्थ्यो। ‘देशमा संघीयता आएपछि गाउँमै रोजगारी पाउने आशा पलाएको थियो,’ उनले भने, ‘तर नेताहरुले आफ्नै छोरा–नातीलाई रोजगारी दिन थाले। हाम्रो भारत जाने बाध्यता उस्तै छ।’

भारत पस्ने नेपालीसंगै थिइन् कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ की आरती ऐर। उनले भनिन्, ‘घरमा जस्तो रमाइलो त कहाँ हुन्छ र अर्काको देशमा। तर दसैँ र तिहारमा विदा नपाएपछि टिका लगाउन दाजु भएकै ठाउँमा गइरहेको छु।’ 

सोही नाकामा भेटिएका केही नेपाली भने दंग थिए। कारण, उनीहरु वर्षौपछि भाइटिकाका लागि घर फर्किरहेका थिए। उनीमध्येका बझाङका महेश थापाको अनुहारमा चमक देखियो। ‘वर्षमा एकपटक घर फर्किदा संसार जिते जस्तो खुसी हुन्छ,’ उनले भने, ‘बहिनीको हातको टिका लगाउन पाइन्छ। केही दिन रमाइलो गरेर फेरि अर्काकै देश पस्नु त पर्छ नै।’

अहिले त्रिनगर–गौरीफन्टा नाका व्यस्त छ। स्वदेश फर्किनेभन्दा मजदुरीका लागि भारत पस्नको संख्या धेरै हुन्छ। यो दृश्य नाकामै सधैं देखिन्छ। तर नाकाको दृश्य फेर्न तीन तहको सरकारले प्रयास पनि नगरेको गुनासो नेपालीहरुको छ।

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस