धनगढीका सडकमा पैदल यात्रीलाई बढी जोखिम
धनगढीः बिहीबार विहान धनगढी पुगेका डोटीको बड्डीकेदार गाउँपालिका– ३ का चक्रबहादुर बुढामगरलाई माया मेट्रो अस्पताल पुग्नु थियो। बोराडाँडीबाट उनी ६ लेन सडकको किनारै किनार पैदल यात्रा गर्न थाले।
तर पैदल यात्रीका लागि ६ लेन सडकमा सुविधा छैन। सडक किनार भने हिलाम्य थियो। सडकमै पैदल यात्रा गर्दा दुर्घटनाको जोखिम छ। उनी भन्छन्, ‘पहाडबाट आएको हुँ। बिरामीलाई अस्पताल भर्ना गरेको छुँ। एकातिर विरामी जोखीममा छन्। अर्कोतर्फ सडकमा ज्यान दाउमा लगाएर हिँड्नु परिरहेको छ।’
सडकमा पैदल यात्रा गर्दा पार्किङ गरिएका सवारीसाधनले अगाडिप–छाडिबाट आइरहेको सवारी नदेखिने समस्या रहेको उनले बताए। ‘सडकभरि पार्किङ छ, ठुला सवारी पार्किङ गरिएको हुँदा न पछाडिबाट गाडी आएको थाहा हुँन्छ न त लेन मिचेर अगाडिबाट नै सवारी आएको हुन्छ,’ उनले भने, ‘६ लेनमा सवारी तिव्र गतिमा सञ्चालन हुने भएकाले ज्यान धरापमा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ।’
सडक किनारमा पार्किङ मात्र होइन व्यापारीले सामाग्री राख्दा झन जोखिम बढेको छ। ‘सडक पेटी पनि छैन,’ स्थानीय कमला खड्काले भनिन्, ‘सडक किनारमा कुनै ठाउँमा पानी भरिएको छ भने कुनै ठाउँ फोहोरको डगुँर फालिएको छ।’ सडकमा पैदल यात्रा गर्नुपर्ने बाध्यताले ठुलो जोखिम निम्त्याएको उनले बताए।
६ लेन सडकमा हुने अव्यवस्थित पार्किङले सवारी जामसमेत हुने गरेको स्थानीय प्रकाश बोहरा वताउँछन्। ‘जताततै पार्किङ गरिएको हुन्छ,’ उनले भने, ‘त्यसमाथी झन सडकमै बालुवा गिट्टी लगायतका निर्माण सामग्री पनि राखिएको छ। रातिको समयमा त झन बढी डर हुन्छ।’
पैदल यात्रीलाई पहिलो प्राथमिकतामा राखेर सडक निर्माण हुनुपर्ने हो। तर ६ लेन सडक भने पैदल यात्रुलाई कुनै अधिकार नै नदिने गरि निर्माण भएको धनगढीका स्थानीय रमेश अवस्थीले बताए। ‘पैदल हिड्नुपर्ने यात्रीले सडकमा होइन सडक पेटीमा हिड्नुपर्छ,’ अवस्थीले भने, ‘तर यहाँ त सडक पेटी नै छैन। जोखिम मोलेर सडकमै हिड्नुपर्ने बाध्यता छ।’
६ लेन सडकमा भने सडक पेटी निर्माण हुने आयोजना कार्यालयले जनाएको छ। तर धनगढीको मुख्य सडकसहित अन्य सडकमा पनि सडक पेटी नहुँदा जोखिम छ।