सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले सुदूरपश्चिमका सांसद पार्टीको कार्यक्रममा सहभागी, योजना अनुगमन गरेको भन्दै भत्ता माग

प्रदेशसभा/फाइल फोटो
प्रदेशसभा/फाइल फोटो
२०७८ कार्तिक ११, ०७:४९ कमल सावद

धनगढी : नेकपा एमालको काठमाडौंमा असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन भयो। नेकपा एमालेका नेता–कार्यकर्ताहरु काठमाडौं पुगे। पार्टीको ठूलो रकम खर्च भयो। नेता–कार्यकताको पनि रकम खर्च भयो। तर सुदूरपश्चिमका सांसदले भने विधान महाधिवेशनको खर्च सरकारबाट तिराउन सक्रिय भएका छन्।

पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले विधान महाधिवेशनमा सहभागिता जनाएर योजना अनुगमन र उपचार गरेको भन्दै प्रदेशसभाबाट भत्ता बुझ्ने तयारी गरेका हुन्। 

प्रदेशसभाको अर्थ विकास समितिका सभापतिसमेत रहेका प्रदेशसभा सदस्य कुवंरले भने, ‘कोरोना लागेको तपाइँहरुले पनि थाँहा पाउनु भएको हो। अहिले पनि सञ्चो भएको छैन। उपचार खर्च माग्नै पर्यो। जनताको प्रतिनिधि हुँ।’ प्रदेश सभा सदस्य कुवंरले विधान महाधिवेशन भएकै अवधिमा उपचार गरेको भन्दै १५ हजार ६ सय २५ रुपैयाँ माग गरेका हुन्। 

पूर्व सामाजिक विकास मन्त्री सुवेदीले असोज १५ देखि सात दिन योजना अनुगमन गरेको भन्दै प्रदेशसभा सचिवालयमा भत्ता माग गरेका छन्। उनले चार हजार सवारी सेवाको समेत माग गरेका छन्। तर पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त विषयमा जानकारी नभएको प्रतिकृया दिएका छन्। सुवेदीले भने, ‘रकम माग भएको छ र ? मलाई थाहाँ भएन। बुझेर तपाइलाई भन्छु।’ 

सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले झुटो विवरण पेश गर्दै सरकारी रकमको दुरुपयोग गर्दै आएको पाइएको हो। उनीहरुले प्रदेशसभा सचिवालयमा भ्रमण खर्च तथा योजना अनुगमन, उपचार खर्च लगायतमा झुटो विवरण पेश गर्दै आएको पाइएको हो। 

प्रदेशसभा सचिवालयमा पेश भएको विवरण कर्मचारीहरुले रुजु समेत नगर्ने गरेको पाइएको छ। अधिकांस विवरण झुटो हुँदै आएको भए पनि कर्मचारीहरुले भुक्तानी गर्दै आएका हुन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस