सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजेश हमाललाई ठट्यौली देउडा गीतमा अभिनय गराउने बिजुलीको सपना

२०७८ कार्तिक १०, ०४:५४ खबर संवाददाता

धनगढी : रमेश बिजुली बिसी जसले अहिलेसम्म १ हजारभन्दा बढी भिडियो निर्देशन गरिसकेका छन्। उनी कैलालीको अत्तरियामा २०४४ सालमा जन्मिए। १४ वर्षको हुँदादेखि नै म्यूजिक भिडियो निर्देशन सिक्न र नृत्य सिक्नमा लागेका उनले औपचारिक रुपमा पनि शिक्षा लिने प्रयास गरे। सुदूरपश्चिमका विभिन्न भाषाका म्युजिक भिडियो निर्देशन गरिसकेपछि उनले लगभग २ वर्ष भारतमा गएर काम गर्नुपर्यो। ‘आर्थिक रुपले गार्‍हो हुन थालेपछि भारतमा जानुपर्‍याे। भारतमा गएर पनि मैले निर्देशनको काम कहिल्यै छोडिन। सिक्नको लागि भए पनि औपचारिक कक्षा लिएर पनि यो क्षेत्रसँग म जोडिएरै बसे’ उनले भने। 

घरखर्च चलाउनको लागि अहिले यो क्षेत्रमा लागेर सम्भव छ त ? भन्ने प्रश्नमा उनले भने ‘एउटा स्तरमा पुगिसकेकाहरुले घरपरिवार यहीँ क्षेत्रमा लागेर मात्रै पनि चलाइरहेका छन्। यस क्षेत्रमा रहिरहनेका लागि प्रतिभा चाहिन्छ। प्रतिभाले नै मान्छेलाई स्रोताहरुमा टिकाउने हो र स्रोताहरुले नै मान्छेलाई यो क्षेत्रमा टिकाउने हो। गर्नेले राम्रै अर्थोपार्जन पनि गरिरहेका छन्। तर पनि एउटा साइड बिजनेस भने गरिरहनु राम्रो हुन्छ। मेरो कुरा गर्दा यो बाहेक अरु मेरो केही पनि छैन। चलिरहेकै छ फेरि यो भनिरहँदा चलाउन नसकिने स्थितिमा पनि धेरै छन्। त्यसैले सकिने स्थिति पनि हो र गार्‍हो पनि उत्तिकै छ नै।’

बिजुली नाम चाहिँ किन राख्नुभएको भन्ने प्रश्नमा उनले भने, ‘साथीहरूले पहिला त्यतिकै भन्ने गर्नुहुन्थ्यो। अहिले उनीहरुकै सम्मानको लागि राखेको भन्न मिल्यो।’ बिजुली  सिक्ने कुरालाई एउटा निरन्तर प्रक्रियाको रुपमा लिने गर्छन्। 
औपचारिक पढाई र अनौपचारिक सिकाइलाई कसरी लिनुभयो ? के फरक पाउनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘सिक्ने भन्ने कुरा भनेको बढी गल्तीबाट नै हो। आज यो गल्ती भयो, भोलिदेखि यस्तो दोहोर्याउँदैन भनेर सिकेमो कुरा दिगो हुन्छ। हुन्छ औपचारिक शिक्षाको महत्त्व त एक किसिमको छँदैछ नै तर पनि तुलनात्मक रुपमा केही फरक पक्कै पनि हुन्छ। काम गरिरे नै सिक्ने हो, म अहिले पनि सिकिरहेकै छु।’ 

कलाकार देशको सम्पत्ति हुन् र देशले उनलाई सम्मान गर्नुपर्छ भन्ने उनको मान्यता छ। पछिल्लो समयको महानायक विवादमा बोल्न उहाँलाई प्रोत्साहन गर्दा उनले महानायकको रुपमा राजेश हमाललाई नै मान्ने भनाई राखे। उनले महानायक राजेश हमलालाई मान्नुको कारण ‘राजेश हमालमा अभिनयको रस छ’ भन्ने छ।  यसमा थप्दै उनले भने, ‘उहासँग सहकार्य गर्ने संयोग त अहिलेसम्म मिलेको छैन तर उहाको अभिनय हेर्दा मलाई लाग्छ उहाँ मन भित्रबाट नै अभिनय गर्नुहुन्छ।’ 

राजेश हमाललाई सुदूरपश्चिममा कुनै ठट्यौली देउडा गीतमा अभिनय गराउने बिजुलीको सपना छ। ‘हामी केही जना मिलेर प्रयास पनि गरिरहेका छौं। यहाँको परम्परा झल्काउने किसिमको ठट्यौली गीतमा महानायकलाई अभिनय गराउन, हेरौं कति को सकिन्छ’ उनले भने।

औषतमा कति खर्चमा सुदूरपश्चिममा म्युजिक भिडिओ बन्ने गरेका छन् भन्ने सवालमा बिजुली भन्छन्, ‘एक लाख रुपैयाँमा सोचे जस्तो भिडिओ बनाउन सकिन्छ। मान्छेले हुन त छ÷सात  लाख पनि भिडिओको लागि खर्च गरेका छन् तर मैले चाहिँ दुई लाख रुपैयाँको भिडिओहरु निर्देशन गरेको छु।’ 

उनले लगानी कर्ताहरुलाई पनि यहीँ प्रसंगमा सुझाव दिएको भावमा भने, ‘लगानीकर्ताहरुले पनि कम खर्चमा नै भिडिओ बनाउने प्रयास गर्नुस्। वाइयात खर्च नगर्नुस्, राम्रो कलाकारलाई हाल्ने प्रयास गर्नुस्।’ 

(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृखलामा निर्देशक रमेश बिजुली बिसीसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित। )

कमेन्ट लोड गर्नुस