जनतालाई दुःख दिने कर्मचारीको आन्दोलनमा जनप्रतिनिधिको पनि समर्थन
सरकारले लागु गरेको नयाँ अध्यादेशमा चित्त नबुझेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा छन्। उनीहरुको आन्दोलनले स्थानीय तहको कामकाज ठप्प हुदा सेवाग्राही मर्कामा परेका छन्। अतिआवश्यक काम समेत प्रभावित भएका बेला जनताको सेवा गर्ने वाचा गरेर निर्वाचीत भएका कैलालीका जनप्रतिनिधि जनतालाई दुःख दिने कर्मचारीको आन्दोलनमा समर्थन जनाउन थालेका छन्।
जनप्रतिनिधि नै आन्दोलनमा ऐक्यबद्धता जनाएपछि कर्मचारीमा आन्दोलन गर्ने मनोबल उच्च भएको छ। सेवाग्राहीलाई दुःख दिएर गरेको आन्दोलनको तुक के भन्ने प्रश्नमा कर्मचारीहरु मख्ख हुदै भन्न थालेका छन्, ‘जनताको भोटले विजयी भएका जनप्रतिनिधिले त हामीलाई समर्थन गरेका छन् नी, तपाईले तुक खोजेर हुन्छ।’ ‘सकिन्छ भने तपाई पनि सहयोग गर्नुस्।’ कार्यालय परिसरमा कालो ब्यानर झुण्ड्याउदै हिउँदको चिसोमा सुर्यको तातो खोज्दै पेन डाउनका नाममा गफिरहेका धनगढी उपमहानगरपालिकाका फुर्सदिला कर्मचारीको भनाई हो यो।
कार्यालय समयमा पनि सेवाग्राहीको काममा गम्भीर नदेखिने कर्मचारीलाई अहिले घाम ताप्न मात्र होईन बदाम र चिया पिउदै रमाईलो गर्ने गतिलो फुर्सद मिलेको छ। त्यसै फुर्सदमा हँ मा हँ मिलाउन माहिर भएका छन्, जनताको सेवक बन्ने बाचा गरेका स्थानीय तहका जनप्रतिनिधि। बीहिबार धनगढी उपमहानगरपालिका पुग्दा एकजना कर्मचारीले रजिष्टर दिदै भने, ‘पत्रकार महोदय, आन्दोलनमा ऐक्यबद्धता जनाउनुस मेयर साप र वडा अध्यक्ष ज्यूहरुको पनि समर्थन छ।
’रजिष्टरलाई केलाउदा त्यहाँ धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड, गौरीगंगा नगरपालिकाका मेयर भीम देउवा लगायतले कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाएको देखियो। मेयर मात्र होईनन् जनतालाई दुःख दिने कर्मचारीको आन्दोलनमा धनगढी उपमहागरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐर, वडा नम्बर ५ का अध्यक्ष हिरासिह पातलीले पनि समर्थन जनाएका छन्।
यी जनप्रतिनिधिहरुले आन्दोलनमा ऐक्यबद्धता जनाउदै के देखाउन खोजेका हुन?अनुमान अनेक लगाउन सकिएला तर जनताको मतले कुर्सी पाएका जनप्रतिनिधिले जनतालाई नै दुःख दिने आन्दोलनमा समर्थन जनाउने कुराले हाम्रा जनप्रतिनिधि कत्तिका उत्तरदायी छन् भन्ने प्रस्ट पारिदिएको छ। राजनीतिक आवरणमा स्थानीय तहमा वषौँदेखी जरा गाडेर बसेका कर्मचारीकै कारण आर्थिक अनियमितता र भ्रष्टाचार मौलाएको भनिदै आइएको छ।
अर्को विभिन्न भातृ संगठन गर्दै राजनीतिक कार्यकर्ताको भुमिकामा रहेका कर्मचारीहरुले राजनीतिक आस्थालाई सर्वोपरी ठान्दै बेला बखत आन्दोलन गर्दै आएका छन्। कर्मचारीलाई पनि राजनीतिक कार्यकर्ता बनाइएपछि सरकारलाई असफल पार्ने खेलमा उनीहरु लाग्दै आएको आरोप लाग्ने गरेको छ।
अहिलेको आन्दोलनमा पनि नेकपा निकट भातृ संगठनमा आवद्ध धेरै कर्मचारी सहभागि भएका देखिदैनन् यसले पनि त्यो कुरालाई केहि हद सम्म प्रष्ट पार्ने गरेको छ।