सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा हवाई टिकट पाउनै मुस्किल, नेपाल एयरलाइन्स यात्रु अभाव देखाएर पन्छियो

२०७८ कार्तिक १०, ०९:०७ कमल सावद

धनगढीः नेपाल वायुसेवा निगमका नायव महानिर्देशक गणेश चन्दले सोमबार दिनेशखबरसँग कुराकानी गर्दै सुदूरपश्चिममा यात्रु नपाएको बताए। सुदूरपश्चिममा नियमित उडान हुन्छ ? भन्ने प्रश्नमा उनले भनेका थिए, ‘यात्रु छैनन्। यात्रु नभए उडान गर्ने कुरा भएन। आज त धनगढीबाट बझाङ जाने दुई जना मात्र यात्रु रहेको खबर आएको छ।’ तर सुदूरपश्चिमका तीन पहाडी जिल्लामा हवाई यात्रा गर्नेको घुइचो नै छ।

नेपाल वायुसेवा निगमले डोटी र बझाङमा पठाएका कर्मचारी अधिकांश समय सम्पर्कमा हुदैनन् भने यात्रुलाई टिकट खरिद गर्नै सकस छ। बझाङका स्थानीय मिनबहादुर कुंवरले भने, ‘बझाङमा नेपाल एरलाइन्सको जाहजका लागि टिकट काट्ने कोही छैन। एक जनाको नम्बर दिएको थियो, बन्द गरिएको छ। विमानस्थलमा यात्रुहरुको भिड छ। नेपाल एरलाइन्सले यात्रु पाएनौ भनेको छ। तर हामीले टिकट पाएका छैनौ। यो सबै मिलेमतोमा हुँदैछ।’

हवाई टिकटका लागि हप्तौ कुर्नुपर्ने बाध्यता रहेको सुदूरपश्चिममा नेपाल वायुसेवा निगमले यात्रु अभावको समस्या देखाएपछि विरोध भएको हो। आइतबारदेखि धनगढी मुकाम बनाएर वायुसेवा निगमले तीन पहाडी जिल्लामा उडान भर्न सुरु गरेकोमा यात्रु नपाएको बताउन थालेको भन्दै कुवंरले बिरोध गरे। ‘हवाई टिकट पाउनै समस्या छ। एरलाइन्सले यात्रु नभएको भन्दैछ। सबै नाटक हो। उहाँहरुका कर्मचारीको खेल हो,’ कुवंरले दिनेशखबरसँग भने।

बझाङमा त नागरिक उड्यन प्राधिकरणको कार्यलयमा टिकटका लागि झगडा नै हुन थालेको छ। तर वायुसेवा निगमले भने हुँदै नभएको यात्रु अभावको समस्या देखाएर नियमित उडान नहुने तर्क गरिरहेको उनले बताए। प्रदेशमा समीट एयरले नियमित उडान भर्दै आएकोमा नेपाल एयरलाइन्सले भने बाढीपहिरोले विभिन्न राजमार्ग बन्द भएपछि केही दिनका लागि उडान तालिका सार्वजनिक गरेको थियो। तर अहिले आएर यात्रु नपाएको भन्दै नेपाल एयरलाइन्सले सुदूरपश्चिममा नियमित उडान नभर्ने बताएपछि प्रदेशवासीले विरोध गरेका छन्।

बाजुराका स्थानीय धिरेन्द्र शाहीले धेरै दिन विमास्थलमा टिकटका लागि गएको बताए। तर उनले टिकट नपाएको गुनासो सुनाए। ‘विमास्थलमा यात्रुहरुको भिड छ। तर टिकट छैन,’ उनले भने। टिकट काट्नको लागि सम्पर्क व्यक्ति र स्थान सार्वजनिक नगरेको वायुसेवा निगमले कार्यालय स्थापना पनि गरेको छैन। खटाइएका कर्मचारीले नियमित उडानका लागि वास्ता गरेका छैनन। तर हुँदै नभएको यात्रुको समस्या देखाएर नेपाल एयरलाइन्सले नियमित उडान नहुने बताउन थालेको हो।

सुदूरपश्चिमको हवाई सेवा र टिकट वितरणका लागि कर्मचारी खटाएको नेपाल वायुसेवा निगमका नायव महानिर्देशक गणेश चन्दले बताए। ‘नेपालगञ्जबाट कर्मचारी गएका छन्। उहाँहरुले टिकटसमेत काट्दै आएका छन्। फोन बन्द गरेका भए म के गरु,’ उनले भने। निजी एयरलाइन्ससंगको मिलेमतोमा केही दिनमै पहाडी जिल्लाको उडान सेवा बन्द गर्ने चलखेल भएको आरोप लागेको छ। यसअघि सस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले नियमित उडान हुने दाबी गरेका थिए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस