सुदूरपश्चिममा चारआनाको राहत बाड्न बाह्रआनाको भ्रमण खर्च !
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरश्चिमका ६ जिल्लामा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको दुई दिन निरीक्षण गरे। कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ र बैतडीको आकाशमा हेलिकोप्टर घुम्यो। तर प्रधानमन्त्री नेतृत्वको निरीक्षण टोलीले न पीडितको गुनासो सुन्यो न त पीडितलाई सरकार भएको अनुभुति नै दिलाउन सक्यो।
अधिकांश क्षेत्रमा हवाई निरीक्षण मात्रै भएपछि पीडितले आकाशमा घुमिरहेको हेलिकोप्टर हेरेर चित्त बुझाए। केही प्रभावित क्षेत्रमा संक्षिप्त अभिव्यक्ति दिदै प्रधानमन्त्री देउवाले राजधानी फर्केपछि राहतको घोषणा गर्ने आश्वासन दिए। तर अहिलेसम्म राहतको निर्णय पनि हुन सकेको छैन। पीडितको हातमा त्यो राहत पुग्न भने थुप्रै समय लाग्ने देखिन्छ।
संघीय सरकारको सिको गर्दै प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरणका लागि प्रदेश सरकारले त झन एक साताकै लागि सेनाको हेलिकोप्टर माग्यो। सुरुवाती दिनमा घाइतेको उद्धारमा लागेको प्रदेश सरकारले पछिल्ला दुई दिनमा भने राहत वितरण र हेलिकोप्टरमा निरीक्षण ग¥यो।
प्रदेश सरकारले बाढीपहिरो पीडितलाई राहतको नाममा झुक्याएको बझाङका स्थानीय लोकेन्द्र सिहले बताए। ‘हेलिकोप्टरमा पाँच क्वीन्टल चामल ल्याएको थियो,’ उनले भने, ‘तर वितरण गरेको छैन। खप्तडछान्नामा धेरै पीडितहरु छन्। तर प्रदेश सरकारले त्यहाँ पाँच क्वीन्टर मात्र चामल दिएर जिस्क्याएको छ।’
सुदूरपश्चिम सरकारले मृतकका परिवारलाई एक लाख २० हजार र घरमा क्षति भएको परिवारलाई ५० हजार दिने घोषणा गरेको छ। तर घोषणा मात्रै भएको हुँदा उत्तः रकम तत्काल पाउने आशा प्रदेशवासीमा छैन।
उक्त रकम चाँडो वितरण गर्नुपर्ने प्रदेश सभा सदस्य भरतबहादुर खड्काले बताए। उनले भने, ‘प्रदेश सरकारले राहतको सामाग्री पठाएपछि हामी पनि प्रभावित क्षेत्रमा गएका थियौ। तर राहत सामाग्री न्यून भएको पीडितहरुले गुनासो गरेका छन्। सबैलाई राहत सामाग्री पुगेको छैन। क्षति ठूलो भएको छ। तीनै तहका सरकारले सहयोग गर्नुपर्ने देखिएको छ।’
प्रदेश सरकारले तीन पहाडी जिल्ला डोटी, बैतडी र बझाङमा राहत वितरण गरेको जनाएको छ। चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल लगायतका सामग्री वितरण गरेको प्रदेश सरकारको दाबी छ।
पहाडी जिल्ला डोटी, बझाङ र बैतडीमा वितरण गरिएको राहत सामाग्री न्यून भएको गुनासो आएको पत्रकार प्रताप ओलीले बताए। उनले भने, ‘म पहिरो पीडितसँगै छु। राहत सामाग्री आएको छ। तर वितरण गरेको छैन। सबै पीडितलाई पुग्ने सामाग्री छैन।’ बाढीपहिरो प्रभावित क्षेत्रमा क्षतिको अनुगमनका लागि मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोली आइतबार पहाडी जिल्ला गएको थियो।
नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा गएको टोलीमा सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, आर्थिक मामिला तथा योजना राज्यमन्त्री माता तामाङ बोहरा, प्रदेश सभा सदस्यहरु भरत खड्का, प्रेमप्रकाश भट्ट, पूर्वमन्त्री भानुभक्त जोशी, संविधानसभा सदस्य हर्कबहादुर सिंह लगायतको सहभागिता थियो।
उनीहरुको टोली बझाङको थलारा गाउँपालिका–४ डिक्ला, खप्तडछान्ना गाउँपालिका, बैतडीको सिगास–५ ढुंगाड, डोटीको आदर्श गाउँपालिका–६ बबिनाथ र सायल गाउँपालिका–५ देवरमाण्डौं पुगेको थियो।
आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले तीन जिल्लामा २२ क्वीन्टल चामल वितरण गरिएको बताइन्। ‘हामीले नेपाली सेनालाई एक साताका लागि हेलिकोप्टर सुदूरपश्चिम पठाइदिन आग्रह गरेका थियौँ,’ मन्त्री जोशीले दिनेशखबरलाई भनिन्, ‘घाइतेको उद्धार, राहत वितरण र निरीक्षण गरेका छौँ। खर्च कति लाग्छ अहिले निश्चित छैन।’
असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म भएको वर्षाको कारण आएको बाढीपहिरोमा परेर सुदूरपश्चिममा ३७ जनाको ज्यान गएको छ भने १९ जना बेपत्ता छन्।