सुदूर नेपाललाई विश्वसँग जोड्दै

साढे ३६ अर्ब लागत अनुमानको चैनपुर–सेती जलविद्युत आयोजना अध्ययनमै सिमित

२०७८ कार्तिक ७, ०६:०९ खबर संवाददाता

बीरेन्द्र भट्ट, धनगढीः साढे ३६ अर्ब लागत अनुमान गरिएको बझाङको चैनपुर–सेती जलविद्युत आयोजना अध्ययनमा मात्र सिमित भएको छ। २ सय १० मेगावाट क्षमताको सो आयोजनाको प्रारम्भिक अध्ययन भने यसअघि नै भइसकेको छ। ४ वर्ष लगाएर सम्भाव्यता अध्ययन गरिएको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन।

आयोजनाको दोस्रो चरणको अध्ययनको काम अघि बढाइएको दाबी गरिएपनि देखिने गरी भने कुनै काम हुन सकेको छैन। बझाङको साइपाल गाउँपालिकाको काँडामा ड्याम बाँधेर तलकोट गाउँपालिकामा आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरणले प्राथमिकतामा राखेको भएपनि अध्ययन बाहेकको काम हुन सकेको छैन। ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सो आयोजना भने अध्ययनमा मात्र सिमिति देखिएको स्थानीय स्थानीय बताउँछन्।

विस्तृत इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माण गर्नेगरी पहुँच सडक निर्माण, जग्गा अधिग्रहण लगायतका काम अघि बढेको चैनपुर–सेती जलविद्युत आयोजनाले बताएको छ। १३ किलोमिटर सुरुङमार्गसहित आयोजनालाई अघि बढाउन दोस्रो चरणको अध्ययनको काम भइरहेको आयोजना प्रमुख अनिलभक्त श्रेष्ठले बताए। ‘अन्य आयोजनाको तुलनामा थोरै लागतमा उच्च प्रतिफल दिने आयोजना भनेकै चैनपुर–सेती जलविद्युत हो। अहिले दोस्रो चरणको अध्ययनको काम भइरहेको छ’ उनले भने। दैनिक ६ घण्टा २ सय १० मेगावाट विद्युत् उत्पादन गर्नसक्ने आयोजनाका रूपमा अगाडि बढाउन लागिएको आयोजना प्रमुख श्रेष्ठले बताए।

आयोजनाको बाँध क्षेत्रमा बस्ती नभएको र पावर हाउस बन्ने ठाँउमा थोरै बस्ती भएकाले आयोजना निर्माणका लागि २ सय ३० रोपनी निजी जग्गा आवश्यक देखिन्छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर विद्युत् विकास विभागमार्फत् स्वीकृतिका लागि वन मन्त्रालयमा पठाइसकिएको छ। पहिलो चरणको भौगर्भिक अध्ययन सकेर हाल दोस्रो चरणको अध्ययनको काम भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस