सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा विपद् आइपर्दा नेपाल रेडक्रस कता हरायो ?

२०७८ कार्तिक ७, ०५:४४ विन्दु चन्द

धनगढी : नेपाल रेडक्रस सोसाइटी, जो हरेक विपद्मा पीडितहरुको साथमा हुन्थ्यो। जुनसुकै समयमा आएको विपद्मा नागरिकले खेप्नुपरेको सास्ती तथा समस्यामा सहयोग गर्ने संस्था थियो रेडक्रस। तर अहिले नागरिकलाई ठूलो संकट आउँदा भने नेपाल रेडक्रस हराएको स्थानीयले गुनासो गरेका छन्। स्थानीयका घर खेत बगाउँदा पनि रेडक्रस चुपचाप लागेको भन्दै स्थानीय आक्रोशित बनेका हुन्।  बझाङका एक स्थानीय हिरा प्रकाश भण्डारीले आक्रोशित हुँदै भने, ‘नागरिकलाई यत्रो संकट परेको छ। १ हप्ता भइसक्यो खोई कहाँ छन् रेडक्रसका साथीहरु ? यस्तो विपद परेको छ उनीहरुलाई लाज लाग्नुपर्ने हो। के का लागि हो रेडक्रस ?’ आफ्नो घर खेत सबै बगाएको उनको दुखेसो छ। 

बाढीपहिरोका कारण सुदूरपश्चिमका ९ जिल्ला मध्ये डोटी र बझाङका नागरिकले बढी सास्ती पाएका छन्। तर विपद्को बेला रेडक्रस नै नपुगेको गुनासो पीडितहरुको छ। तीन दिनसम्म परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा तीन दर्जन बढीले ज्यान गुमाएका छन्। रेडक्रसले भने अहिलेसम्म तथ्याकं संकलन नै गर्न सकेको छैन। 

तर नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला शाखा सभापति लक्षीराम कुँवरले भने सबै स्थानीयतहसँग समन्वय भइरहेको बताएका छन्। उनले आंशिक वा पूर्ण क्षति भएका स्थानीय तहसँग समन्वय गरेर विवरण लिने काम भइरहेको बताए। भौतिक क्षति भएको ठाउँमा पुर्ननिर्माण गर्ने तथा गैर खाद्य सामग्रीहरु वितरण गरिने उनले बताए। ‘जिल्लाका हरेक स्थानीय तहमा २२ वटा उपशाखा छन्। सबै स्वयंमसेवकलाई क्षतिको विवरणका लागि खटाएका छौँ। सबै विवरण आएपछि राहतका दिने कार्य गछौं’  सभापति कुँवरले बताए। 

तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा पनि हजारौं परिवार विस्थापित भएका छन्। घरको अन्न र खेतको बाली बगाएपछि भोकै बस्नुपर्ने बाध्यता उनीहरुको छ। तर रेडक्रस जस्ता विपद्का सारथी अहिले चुप लाग्दा पीडितले झन पीडा भोग्नु परेको गुनासो गरिएको छ। तर नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तमराज जोशीले तथ्यांक संकलनको काम भइरहेको बताउँछन्। ‘विभिन्न निकायसँग समन्वय गरेर मानवीय सहायताका लागि राहत प्याकेजहरु ल्याउँछौ। क्षतिको विवरण आएपछि पीडितहरुलाई आवश्यकता अनुसार राहत उपलब्ध गराउछौं’ उनले भने। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस