सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘अहिले त सबै प्रविधि धनगढीमै छ, प्रतिभा हुनेले यहीँ प्रगति गर्न सक्छन्’

२०७८ कार्तिक ७, ०५:१३ खबर संवाददाता

धनगढी: गुणाकर पनेरु धनगढीमा जन्मिए। धनगढीमा नै पढे, हुर्के र कर्म पनि धनगढीमा नै गरिरहेका छन्। उनी सानै छँदा देखिनै कलाकार बन्ने सपना देख्ने गर्थे। उनले आफ्नो स्कुले जीवनमा पनि कलाकारिताको सपना आफुम जीवित राखिराखे। त्यतिबेलाको शासन व्यावस्थाले राज्यस्तर बाटनै सांगीतिक कार्यक्रम गथ्र्यो। त्यसमा पनि उनले भाग लिने गर्थे। उनलाई अझै पनि याद छ, आफुले भाग लिएको कार्यक्रममा जहिल्यै उनी प्रथम हुन्थे। आफुले सहभागीता जनाएको समूह उनकै कारण प्रथम समेत हुन्थ्यो। त्यतिमात्रै होइन त्यो समयको सबैभन्दा ठूलो चुनौती केटी मान्छे केटाहरुसँग नाच्ने मान्दैनथे। 

केटाहरुले नै केटी बनेर नाच्नुपर्ने अर्थात् भूमिका निर्भाह गर्नुपर्ने हुन्थ्यो। तर उनको स्कुलमा भने उनको कारण यो नियम अपवाद जस्तै बनेको थियो। उनको स्कुलको उनी यस्तो मान्छे थिए जसले केटी साथीसँग नाच्ने मौका पाउथ्यो। यस्तो हुनुमा उनको शारिरिक बनावटले पनि भूमिका खेलेको हुनसक्ने उनी आफै अहिले अनुमान गर्छन्। ‘मेरो हाइट थोरै कम छ। यसले पनि केटीसाथीहरु म सँग नाच्नको लागि सहज महशुस गर्र्नुहुन्थ्यो होला’ उनी भन्छन्, ‘फेरि मभित्र साथीत्वमा कुनै पनि किसिमको भेदभाव राख्ने बानी थिएन। र, अहिले पनि छैन सायद यहि कारणले होला केटीसाथीहरु म सँग जहिल्यै पनि खुलेर साथीको सम्बन्ध राख्छन्।’ 

उनीमा कलाक्षेत्रमा काम गर्ने उत्प्रेरणा भने उनका आमाबाट प्राप्त भएको थियो। उनका आमा गौंरा पर्वमा गाइने गीतहरुमा रुचि राख्नुहुन्थ्यो र गाउनुहुन्थ्यो। सँगै गुणाकरले जीवनको केही उर्जा शिक्षा क्षेत्रमा पनि खर्चे तर अहिले भने पूर्णरुपमा उनी कलाकारितामा छन्। अर्थात् कलाकारलाई संयोजन गर्नमा छन्। उनी सुपकला प्रतिष्ठानको पनि महासचिव छन्।

सुपकला प्रतिष्ठान लगायतका विभिन्न संस्थामा रहेर कलाको क्षेत्रको काम गरेको र अनुभूति बटुलेका आधारमा उनी भन्छन्, ‘नयाँ कलाकारको लागि यो क्षेत्रमा सम्भावना छ तर मेहनत गर्नु आवश्यक छ। हिजोका दिनमा कलाकारले गर्नुपर्ने संघर्ष र अहिलेको समयको संघर्षमा धेरै फरक छ। हिजो सबै कुराको लागि काठमाडौं जानुपर्ने हुन्थ्यो त्यो पनि भारतको बाटो प्रयोग गरेर। नेपालबाट त बाटो नै थिएन।     अहिले त सबै प्रविधि धनगढीमा नै उपलब्ध छ। कला प्रतिभा हुनेले सहज तबरले पनि प्रगति गर्न सक्छन्।’

(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृखलामा कलाकर्मी गुणाकर पनेरुसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानिमा आधारित।)

कमेन्ट लोड गर्नुस