सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघमा चाहेको नेतृत्व छान्न पाउने भएपछि व्यवसायी हर्षित

जतिसक्दो चाँडो निर्वाचन गराएर महोत्सव सञ्चालन गर्न माग 

२०७५ पुष ४, ११:०९ सीताराम ओझा

कैलाली उद्योग वाणिज्य संघको सदस्यता छानविन सकिन लागेका वेला चाहेको नेतृत्व छान्न पाउने भएकोले वास्तविक व्यवसायी हर्षित भएका छन्। गत वैशाखमा हुन लागेको निर्वाचन साधारण सभा उच्च अदालतको आदेशले रोकिएपछि नक्कली सदस्यता हटाएर वास्तविक व्यवसायीलाई मात्रै सदस्य बनाउने काम सकिन लागेका बेला व्यवसायीहरु हर्षित भएका हुन्। यसअघि नक्कली सदस्यहरुकै भोटले नेतृत्वमा पुगिरहेको अवस्थामा अव भने वास्तविक व्यवसायीले चाहेको नेतृत्व आउने भन्दै व्यवसायीहरु खुशी भएको व्यवसायी मदनकृष्ण भट्टले बताए। 
सदस्य छानविनको काम एक हप्तामा पुरै सम्पन्न हुने अवस्थामा पुगेका वेला संघको चुनावी साधारण सभालाई लिएर वास्तविक व्यवसायी व्यग्र प्रतिक्षा गरिरहेका छन् । अवको  एक हप्तामा काम सम्पन्न गरेर प्रतिवेदन वुझाउने कैलाली उद्योग वाणिज्य संघको सदस्यता छानविन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत विकास लम्सालले बताए। यसअघि नक्कली सदस्य बनाएर संघको नेतृत्व छानिने गरेकोमा अव भने चाहेकै नेतृत्व छान्न पाउने भएपछि व्यवसायीहरु हर्षित भएका हुन्। उनीले आफ्नो मताधिकारको प्रयोग जतिसक्दा चाँडो गर्ने व्यवस्था मिलाउन पनि माग गरेका छन्। व्यवसायीहरुले जतिसक्दो चाँडो निर्वाचन गराएर सुदुरपश्चिमवासीको पर्वका रुपमा रहेको महोत्सवलाई पनि माघभित्रै सञ्चालन गर्न व्यवसायी टेकवहादुर बोहोराले माग गरे। 

विभिन्न वहानामा पदाधिकारीमा रहेकाहरुले चुनाव ढिलो गराउन विभिन्न वहानाबाजी गरिरहेका वेला भोट हाल्ने मतदाताहरुले भने त्यसको विरोध गर्दै निर्वाचन चाँडो गरेर सुदुरपश्चिमवासीको पर्वका रुपमा रहेको महोत्सव आयोजना गर्न माग गरेका छन्। उनीहरुले कुनै पनि व्यक्तीगत स्वार्थका लागि संघको निर्वाचन साधारण सभालाई पछाडी नढकेल्न भन्दै निर्वाचन र महोत्सवलाई तत्काल गराउन माग गरेका छन्। उच्च अदालतको आदेशपछि रोकिएको साधारण सभालाई अगाडी बढाउन सदस्यता छानविन र निर्वाचन समिती गठन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीले गठन गरेको दुवै समितीमध्ये सदस्यता छानविन समितीले काम सम्पन्न गरेर निर्वाचन समितीलाई संघका सदस्यहरु नामावली दिएपछि निर्वाचनका लागि साधारण सभाको मिति तय हुनेछ । नामावली पाएपछि जतिसक्दो चाँडो नै निर्वाचन प्रक्रियाका लागि लाग्ने निर्वाचन समितीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए। 

गत वैशाख २२ गतेको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका दुई वटा प्यानलले प्रचार प्रसार गरिरहेका छन्। तेस्रो समुह पनि सहमतिको नाममा निर्वाचन ढिलो गराउनका लागि चलखेलमा लागिरहेको आरोप लागेको छ । संघका पदाधिकारीहरुले आफ्नो स्वार्थका लागि ढिलो गरी साधारण सभा गराउन भित्रि रुपमा मलजल गरेका वेला वास्तविक व्यवसायीहरुले वास्तविक व्यवसायीको मतले छानिने संघको नेतृत्व चयनका लागि चाँडोभन्दा चाँडो प्रयास गर्न आग्रह गरेका छन्। 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस