सुदूरपश्चिमको आन्तरिक उडानमा यात्रुको चाप, उडान थप्न आह्वान
धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीबाट पहाडी जिल्लामा हुने उडानमा यात्रुको चाप बढेको छ। धनगढीबाट पहाड जाने तथा पहाडी जिल्लाबाट तराई आउने यात्रुहरुको चाप बढेको हो।
तीन दिनसम्म भएको वर्षाका कारण पहाडी राजमार्ग अवरुद्ध भएपछि जहाजमार्फत यात्रा गर्नेहरुको चाप बढेको धनगढी विमानस्थलले जनाएको छ। सुदूरपश्चिमको पहाडी जिल्लाका लागि समिट एयरले मात्रै आन्तरीक उडान भर्दै आएको छ।
समिट एयरले अछाम, बैतडी, बझाङ र बाजुरामा अहिले उडान गरिरहेको समिट एयरका प्रतिनिधि रोशन सिंहले बताए। उनले भने, ‘अहिले हवाई यात्रुको एकदमै चाप बढेको छ।’
बैतडी र डोटी बाहेक अन्य जिल्लाहरमा लगातार उडान भइरहेको उनले बताए। तीन दिनसम्म भएको वर्षाका कारण आएको बाढी र पहिरोले पहाडी राजमार्ग अबरुद्ध भएपछि हवाई मार्गमार्फत आवतजावत गर्ने यात्रु बढेको उनको भनाइ छ। सडक अबरुद्ध भएपछि दसैँका लागि पहाड गएका अधिकांश नागरिक पहाडमै रोकिएका थिए।
अन्य जिल्लामा हरेक दिन उडान भइरहे पनि बैतडीमा भने हप्तामा एक दिन शुक्रबार मात्रै उडान भइरहेको सिंहले बताए। उनका अनुसार डोटीमा केही समयदेखि उडान बन्द भएको छ। यात्रुहरुको चापलाई मध्यनजर गर्दै अर्को सातादेखि फेरि सुरु हुने उनले बताए।
एउटा मात्रै एयरले उडान गर्दा यात्रुहरुलाई समस्या भइरहेको समेत धनगढी विमानस्थलले जनाएको छ। यात्रुहरुको चाप ह्वात्तै बढेपछि थप जहाज आवश्यक परेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।
यात्रुहरुको चापलाई मध्यनजर गर्दै जहाज थप्न अन्य विमान कम्पनीसंग समन्वय गरिरहेको उनले बताए। उनले भने, ‘अहिले यात्रुहरुको एकदमै चाप वढेको छ। समिट एयरले मात्रै पहाडी जिल्लमा उडान भरिरहेको छ। पहाडी उडानका लागि थप उडानका लागि विमान कम्पनीसंग समन्वय गरिरहेका छाैँ।’