सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुराम धामको मन्दिर महाकालीले बगायो

२०७८ कार्तिक ५, ०५:५६ खबर संवाददाता

धनगढी: डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुरामको मुख्य मन्दिर बाढीले बगाएको छ। आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण महाकालीमा बाढी आएर चुनढुंगामा रहेको मन्दिर बगेको त्यहाँका पत्रकार हर्क चन्दले बताए। वर्षौदेखि प्राकृतिक चुनढुङ्गामा बनाइएको मन्दिर बगाएको स्थानीयले बताएका छन्।

परशुराम क्षेत्रमा गुरु योजना अनुसार निर्माण भइरहेका संरचना समेत बगाएको स्थानीयले बताएका छन्। तटबन्ध नभएकाले उक्त मन्दिर बगेको स्थानीयले बताएका छन्। अझ पनि तटबन्ध नबनाइए धामका अन्य संरचना समेत बाढीले बढाउने उनीहरु बताउँछन्। ४ धाममध्येको एक धाम परशुराम धाममा पुस महिनाको मसान्त तथा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ।

यस्तै परशुराम नगरपालीका–५ कै परिगाउँस्थित महाकाली नदीको बगरमा निर्माण गरिएको खेलमैदान समेत बगेको छ। सुदूरपश्चिम प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक खेल मैदान निर्माण कार्यक्रम अन्तरगत परशुराम धामनजिक महाकाली नदीको बगरमा खेलमैदान निर्माण गरिएको थियो।

खेल मैदान निर्माणमा गत आर्थिक वर्षमा प्रदेश सरकारले करिब २० लाख रुपैयाँ खर्च गरेको थियो। खेल मैदान निर्माणको काम सम्पन्न भएपछि खेलकुद गतिविधि सञ्चालनका लागि सहज हुने विश्वास लिइएको थियो।

कमेन्ट लोड गर्नुस