सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका पहिरो पीडित प्रधानमन्त्री कुरिरहेका थिए, तर हवाई निरीक्षण मात्रै भयो

२०७८ कार्तिक ४, ०३:५९ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको पहिरो प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन्। पहिरोबाट भएको क्षति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा थलारा गाउँपालिका–४ स्थित प्रभावित क्षेत्रको हवाई निरीक्षण गरी फर्किएका हुन्। बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेबाट अधिकांश क्षेत्रको हवाई निरीक्षण मात्रै भएको बताए।

पहिरो गएको क्षेत्रमा प्राविधिक कारणले हेलिकोप्टर अवतरण हुन नसकेको बताइएको छ। स्थानीय शिक्षक मदन साउदका अनुसार थलारामा पहिरो पीडितहरु भने प्रधानमन्त्री देउवा कुरिरहेका थिए। ‘थलारा पुगेर प्रधानमन्त्रीले राहत घोषणा गर्ने आशा थियो,’ उनले भने, ‘यहाँ हेलिप्याड पनि बनाइएको थियो। तर हवाई निरीक्षण मात्रै गरेर प्रधानमन्त्री फर्केपछि थलरावासी निराश भएका छन्।’

चैनपुरमा भने जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री देउवालाई क्षतिका बारेमा ब्रिफिङ गरेका थिए। देउवाले बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई उचित राहत र जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न जिल्लाका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। बझाङमा गएको पहिरोमा परी हालसम्म ८ जनाले ज्यान गुमाइसेका छन् भने २१ जनाकाे अवस्था अझै अज्ञात रहेको छ।

प्रधानमन्त्री देउवा बझाङपछि बैतडी निरीक्षण गरे गृहजिल्ला डडेल्धुरा पुगेका छन्। डडेल्धुरापछि कञ्चनपुरमा निरीक्षण गरेर आज धनगढी बस्ने कार्यक्रम छ। उनले आजै डोटीमा पनि प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए।
 

कमेन्ट लोड गर्नुस