अत्तरिया बसपार्क पुगेर भक्कानिए हरिराम
धनगढीः अत्तरिया बसपार्कमा भेटिएका बर्दीयाको गेरुवा गाउँपालिका वडा नम्बर १ का हरिराम ठाकुरको मन बेचैन थियो। बुधबार बिहान उनी बैतडीबाट घर जान अत्तरिया बसपार्क पुगेका थिए। आँसु झार्दै उनले भने, ‘भाडामै आम्दानी सकिने जस्तो छ। भक्कानो छोडेर रुने मन छ तर माहोल छैन। ठेकेदारले पुरै पैँसा दिएन। भारत गएको भए खर्च ल्याएर आउँथे। बालबालिका खुसी हुन्थे।’
एक महिना अघि मात्रै उनी कामका लागि बैतडी गएका थिए। उनी डकर्मी हुन्। काम खुलेको थाहा पाएपछि फोन सम्पर्कमार्फत नै उनीसहित ६ जनाको समूह बैतडीको जिल्ला अदालतको भवनको काम गर्न पुगेका थिए। दैनिक ज्यालामा काम गर्दै आएका उनले दसैँको विदा त पाए तर ज्याला पाएनन्।
‘अहिले गाडीवालाले पनि चर्को भाडा लिरहेका छन्, गरिवलाई जहाँबाट पनि सास्ती हुने रहेछ,’ उनले थपे, ‘७ जनाको परिवार छ। मैले १५ हजार रुपैयाँ पाउनु पर्ने थियो। तर ५ हजार मात्रै दिएर पठाइयो।’ उनी बसपार्कमै पटकपटक भक्कानिए। तर उनीसंग विकल्प थिएन। रितो हात नै घर फर्किए।