दसैँको किनमेल भारतीय बजारमा
धनगढीः दसैंको किनमेलका लागि भारतीय बजारमा नेपालीको भीड लागेको छ। चाडबाडका बेला नेपालीको आकर्षण स्वदेशीभन्दा सीमापारिका भारतीय बजारमा देखिएको हो।
कैलाली, कञ्चनपुर नजिक पर्ने बनगाउँ, पलिया, तिकुनिया, सुडा, बनवासा लगायतका बजारमा नेपाली उपभोक्ताको घुइँचो लागेको छ। धनगढी, महेन्द्रनगर र आसपासको बजार छाडेर सीमा पारिको भारतीय बजारमा दसैँको किनमेल भइरहेका हो।
सस्तो मुल्यमा सामान पाइने भन्ने सुनेर भान्साको सामान किन्न बनगाउँ गइरहेको सीमा नाकामा भेटिएकी सुधा रावतले बताइन्। उनी भन्छिन्, ’पहिलोपटक आज जाँदैछुँ, त्यहाँ सस्तो पाउँछ भन्छन्।’ सस्तो मुल्यमा सामान पाइने भन्दै कैलाली र कञ्चनपुरबासी सीमा पारीको भारतीय बजार गइरहेका हुन्। स्थानिय बजारमा मुल्य आकासिएको भन्दै सीमापारीबाटै दैनिक उपभोग्यका सामग्री ल्याउन परेको धनगढीकी जानकी भाट बताउँछिन्।
नेपाली बजारमा चाडबाडलाई लक्षित गरेर व्यापारीहरुले मनपरी मुल्य बढाउन थालेको गुनासो बनगाउँ बजारमा भेटिएकी धनगढीकी दुर्गा पनेरुको छ। उनले भनिन्, ’धनगढीमा २ हजारमा पाउने सामाग्री यहाँ १२ सयमा पाउँछ।।’ अहिले त्रिनगर नाकामा किनमेल गरेर नेपाल फर्किनेको लर्को लागेको छ।
चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरु बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको धनगढीकी व्यवसायी तुल्सादेवि पौडेलले बताइन्। ‘सीमा बजारबाट किनमेल हुन थालेपछि व्यवसाय धरासायी बनेको छ,’ उनले भनिन्।