फुटबलको उर्वरभुमी जोनापुरमा मदरल्याण्ड युथ कप सुरु
आयोजक मदरल्याण्ड युवा क्लवको विजयी सुरुवात
फुटबलको उर्वरभुमिका रुपमा चिनिने गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा मदरल्याण्ड युथ कप २०७५ फुटबल प्रतियोगिता सुरु भएको छ । मदरल्याण्ड युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले उद्घाटन गरे । क्लबका अध्यक्ष श्रवण चौधरीको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो । प्रतियोगिताका संयोजक गोपाल चौधरीले स्वागत गरेको प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक मदरल्याण्ड युवा क्लबले सानदारत विजयी सुरुवात गरेको छ । रातोपुल युवा क्लवलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै मदरल्याण्ड दोस्रो चरणमा प्रवेश गरेको हो । मदरल्याण्डको जितमा कप्तान मणीराम चौधरीले दुई गोल गरे । पहिलो हाफको ४० औं मिनेटमा गोल गरेका उनले दोस्रो हाफको २४ औं मिनेटमा अर्को गोल थपे । टीमका लागि पहिलो हाफको १३ औं मिनेटमा धनराज थापाले गोल गर्दै खाता खोले भने विक्रम सिंहले पहिलो हाफको ३३ औं मिनेट र जीवन चौधरीले दोस्रो हाफको ३८ औं मिनेटमा गोल गरे ।
१५ टीमको सहभागीता रहेको प्रतियोगिता अन्तर्गत भोलीको पहिलो खेलमा उर्मिला पोल्ट्री र उपदेश युवा क्लव बीच पहिलो तथा वडैपुर र क्याम्पसरोड बीच दोस्रो खेल हुने छ । पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । हाम्रो गोल, सामाजिक विकृति विरुद्धको गोल भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताका खेलहरु आयोजक मदरल्याण्ड युबा क्लबको खेल मैदानमै सञ्चालन भईरहेको छ ।