सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैँ बुझ्न गाउँ बस्नुपर्छ

२०७८ असोज २५, १२:०२

-धर्मराज जोशी
दसैँको मूल्यांकन राजधानी र अन्य शहरहरूमा बसेर गरिन्छ भने त्यो पूर्णतया अधूरो अपूरो र धरातलीय यथार्थ भन्दा धेरै फरक अनि सतही हुन जान्छ।  दसैँको स्वरूप शहरमा केवल दारूमासु टिकाटालो, म्यारिज फलास, भेटघाट मात्रै होकि जस्तो लाग्ने खालको बुझ्ने बुझाइनेमा सिमित हुन गएको छ। वास्तवमा दसैँ नेपालका ७ वटै प्रदेशका ग्रामिण भूभागमा भेट्न सकिन्छ। दसैँ खानपानको पर्व मात्रै हो भनेर बुझ्ने शहरले दसैँमा लुकेको कठिन आध्यात्मिक साधना वा ऐतिहासिक सांस्कृतिक अभ्यास देख्न भोग्न र बुझ्न पाएकै छैन। अर्थात् दसैँको मौलिक पक्षबाट सहर पुरै बेखबर छ।

त्यसैले शहरले बनाउने दसैँ सम्बन्धी दृष्टिकोण एकदमै हलुका र धरातलीय यथार्थ भन्दा ज्यादै पर छ। दसैँमा हिंसा वा बलि मात्रै हुन्छ, दसैँमा भोजभतेर र पिङमा हल्लिएर रमाउँदै मस्त दिनहरू बित्छन् वा बिताइन्छन् भन्ने बुझेको शहरले दसैँमा ९ दिन निराहार ब्रत उपासना बुझेको छैन। घरगृहस्थीको सम्पूर्ण सुख त्यागेर ब्रह्मचर्य एवम् कठोर अन्य साधनासहित सुत्ने ओछ्यान समेत छोडेर डाँडापाखा, वनजङ्गल र नदीका किनारमा रहेका प्राचीन देवल(माणु)हरूमा पराल वा पात बिछ्याएर ९ दिन ९ रात भोको र अनिदै आध्यात्मिक अभ्यास गरिने कुरो सहरले बुझेको छैन। 

माणु (मन्दिर)वा त्यसमा निवास गर्ने देवीदेवताको सत्व वा तम गुण बमोजिमको पुजाविधानको कठोर धार्मिक अभ्यास सहरले बुझेको छैन। व्हिस्की, बियर, मांसमदिरा त धेरै परको कुरा कति शक्तिपिठ पूजक तथा तिनका मडाल(भक्त)निर्जलीय ब्रत उपासनामा रातदिन बिताउँछन भन्ने कुरो झन् यो शहरले बुझ्ने कुरै भएन।  यतिका कुरा नबुझी हावामा तिर चलाउँदै केही शहरिया र केही बाहिरियाले पूर्खाहरूको यतिविघ्न कठोर आध्यात्मिक संघर्ष, आस्था वा अभ्यासलाई चटक्कै बिर्सेर दसैँंलाई बलि र मासु चपाउने कामको पर्व होकि जस्तो मात्रै बुझेर बुझाएर बडादसैँको संकुचित व्याख्या गर्दै आत्मरतिमा तिर हान्छन्।

यत्ति मात्रै बुझ्नेले दसैँं कत्ति पनि बुझेको छैन। रगत बलि त छोडौं रक्त चन्दन समेत प्रयोग नगरी हप्तौं देवीको पूजा गरिने देवथानबारे शहरियालाई के थाहा। कपाल मुण्डन, शुद्ध स्नान, एकसरो पातलो सेतो लुगा लगाएर घरवारको सुखसयल त्यागेर, मासु मदिरा दालभात अन्य परिकारको त कुरै नगरौं एकछाक कोरो भातको एक डल्लो मात्रै प्रसादस्वरूप ग्रहण गरी नवरात्रकर्म गर्ने हजारौं सनातनीहरूलाई पनि मासु मदिराको पर्वको साक्षी बनाएर व्याख्या गर्ने सतही व्याख्याताहरूले दसैँंको असली पाटो  न हिजो बुझे न आज र न भोलि नै बुझ्नेछ्न्।  

यी पूर्खाहरूको लगन र त्यागबाट प्राप्त संस्कृतिको बिरासत नबुझेका धमिराहरूलाई दसैँं  बुझेर मात्रै दसैँं सम्बन्धी धारणा बनाउन अनुरोध छ। पुरातन महत्वका बस्तु, पुरातात्त्विक धरोहर र संस्कार खोज्न नेपालका ग्रामिण भेगमा जानुस् त्यता भेटिनेछ दसैँ। दसैँं त्यतै बुझिनेछ र नबुझेर बोलेको लेखेकोमा नैतिक धरातल भएको मान्छेलाई अवश्य पछुतो हुनेछ। बुझ्नेलाई दसैँं  श्रीखण्ड हो नबुझ्नेलाई दसैँं खुर्पाको बिंड। खास दसैँंमा कसैलाई दशा आउँदैन यो नक्कली दसैँंमा दशा आउनु स्वाभाविक छ।

असली दसैँंमा समाजवाद भन्नुस् वा साम्यवाद भन्नुस् त्यो सबै छ। धनी गरिवको अर्थ नै छैन। केवल पाँच मुठ्ठी चामल, एक पोका धुप, दुई बत्ती भिजाउन गाइको घिउ, गाउँमा जे भेटिन्छ त्यै फलफूल यति भए पुग्छ दसैँंमा। असली दसैँंमा दशा आउने कुनै विधान नै छैन। दसैँंका नाममा शुम्भ निशुम्भ भन्दा पनि ज्यादा तामसी, आसुरी, घमण्ड आदि प्रदर्शन गर्ने व्यक्ति वा समाजले पक्कै दसैँंमा दशा देखाएकै हुन्छन्। तर मौलिक दसैँंमा दशा लाग्ने वर्ग नेपालमा छँदै छैन।।
जय दसैँं जय नवदुर्गा भवानी।
 

कमेन्ट लोड गर्नुस