सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

२०७८ असोज २५, ०६:२७ खबर संवाददाता

अछाम: जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पन्चदेवल बिनायक नगरपालिका -१ कुइकामा आइतबार राति जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालकसहित अन्य १४ जना घाइते पनि भएका छन्।

मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस्तै सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ।

घाइते १४ जनामध्ये १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ । जिल्ला अस्पताल अछामका अनुसार अस्पताल ल्याइएका १३ जना घाइतेमध्ये १ जनाको उपचारका क्रममा निधन भएको छ भने बाँकीको उपचार भइरहेको छ। जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको छ।

कमेन्ट लोड गर्नुस