सुदूर नेपाललाई विश्वसँग जोड्दै

कालोपत्रे गरेको ७ महिनामै धनगढीको मुख्य सडक भत्किएपछि खाल्टाखुल्टी पुरिँदै

२०७८ असोज २४, ०६:१६ विन्दु चन्द

धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको मुख्य सडकको कालोपत्रे असार र साउनको झरीले बगाएपछि मर्मतको काम थालिएको छ। खाल्टैखाल्टाले आवागमनमा सास्ती भएपछि उपमहानगरपालिकाले मर्मतको काम थालेको हो। खाल्टाखुल्टीका कारण सास्ती खेप्नुपरिरहेकोमा अहिले भने केही सहज भएको बताइएको छ। 

खाल्टा मर्मत गर्दा केही सहज भएको सवारी चालक प्रभाकर कापडी बताउँछन्। थुप्रै ठाउँमा खाल्टाखुल्टी रहेको बताउँदै उनले भने, ‘खाल्डा पुरेर तत्कालका लागि केही सहज त भएको छ तर ग्रावेल सुकेपछि धुलै धुलो हुन्छ।’ अझ धेरै ठाउँमा मर्मत गर्न बाँकी रहेको उनको भनाई छ। ‘एसपी कार्यालय अगाडि, सब्जीमण्डीदेखि चौराहासम्म खाल्टाखुल्टी बाँकी नै छन्’ उनले भने। 

धनगढी उप–महानगरपालिकाले झण्डै करोडको लागतमा मुख्य सडकमा गरेको कालोपत्रे ७ महिना नपुग्दै असार र साउनको झरीले बगाएको थियो। उपमहानगरपालिकाले ठेक्का सम्झौता गर्दै मर्मत गरेको मुख्य सडकअन्तरगत कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालयसम्मको खण्डमा दर्जनौ खाल्डा छन्। 

जसकाकारण सवारी जामको समस्या पनि बढेको छ। खाल्टाखुल्टीका कारण धुलो हुँदा व्यवसायमा समेत असर परेको छ। धुलोका कारण घाटामा व्यवसाय गरिरहनुपरेको व्यवसायी उपेन्द्र शाहीले बताए। धुलो सफा गर्न दुई जनालाई दिनभर खटाएर राख्नुपर्ने बाध्यता आएको उनी बताउँछन्। ‘बिहान सफा गर्यो साँझ पुरानो जस्तो देखिन्छ। दिनभरी दुई जनाको सफा गर्ने ड्युटी लगाएका हुन्छौँ’ उनले भने, ‘ग्राहक आउँछन् छाम्छन््, धुलै धुलो लाग्छ र पुरानो भनेर छोडेर जान्छन्। धुलाका कारण नयाँ सामान पनि घाटामा बेच्नुपर्ने बाध्यता छ।’ 

९ महिना अगाडि सडक बोर्ड नेपालको ७० प्रतिशत अर्थात ६७ लाख १५ हजार र धनगढी उप–महानगरपालिकाको ३० प्रतिशत अर्थात २८ लाख ७७ हजार गरी ९५ लाख ९३ हजार खर्चेर उपमहानगरपालिकाले मुख्य सडक कालोपत्रे गरेको थियो। तर अहिले कैलालीपुलदेखि एलएन चोकसम्मको मुख्य सडक सबैभन्दा बढी भताभुङ्ग भएको छ।

उपमहानगरपालिकाले मर्मतको अवधि नसकिएको भन्दै पटक–पटक मल्ल निर्माण सेवालाई भत्किएको सडक बनाउन पत्राचार गरेको थियो। तर मल्ल निर्माण सेवा सम्पर्कमा नआएपछि धरौटी रोकेर अहिले उच्चाकोटी निर्माण सेवालाई मर्मतको जिम्मा दिइएको छ।

५ लाखसम्मको खर्चमा सो सडक मर्मत भइरहेको धनगढी उपमहानगरपालिकाका इञ्जिीनियर दिजराज भट्टले बताए। उनले भने, ‘तत्काल यातायात सहज बनाउन ठूला खाल्डा मात्रै पुरिरहेका छौँ। त्यसपछि नयाँ बनाउने योजना छ।’ 
धनगढीको मुख्य सडकमा पटक–पटक मर्मत गरिएपनि ६ महिना नटिक्ने समस्या पहिलेदेखिको हो।  

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस