सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी समिक्षा पढ्दा–पढ्दै यसरी बनिन् व्यापारी

२०७८ असोज २४, ०४:०२ खबर संवाददाता

धनगढी:  हरिप्रसाद चापागाईंले केही दशक पहिले धनगढी चौराहमा अत्री स्वट्स सञ्चालनमा ल्याएका थिए। त्यो समय उनकी छोरी सानै थिइन्। बुवा खाना खान जाँदा कहिलेकाहीं उनी पसलमा बस्थिन्। त्यहीँ पसलको बसाईले उनीलाई व्यवसायप्रतिको मोह बढाउदै लग्यो। उनले एसएलसी र प्रविणता तह धनगढीबाट नै पास गरिन् भने स्नातक पढ्न काठमाडौं गइन्। उनी पढिरहँदा बुवाको स्वास्थ्यमा समस्या आयो र व्यवसाय गर्न नसक्ने भए। त्यस्तो स्थिति भइसकेपछि काठमाडौंबाट आफ्नो बीबीए सम्मको पढाई सकेर उनी धनगढीमा फर्किइन्। ठूलो आट गरेर आफ्ना भाईसँग सहकार्य गरेर उनले हरि इम्पोरियम नामक फेन्सी पसल सञ्चालनमा ल्याएका छिन्।

व्यावसायिक रुपमा बलियो बुझाई बनाएकी र आफ्नो बुवाको व्यावसायिक यात्रामा केही नविनता ल्याएर समिक्षा चापागाई अगाडी बढीरहेकी छिन्। उनै समिक्षासँग प्रभात विमर्शका सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्।

अहिले व्यावसायिक व्यस्तता कस्तो छ ? 
लकडाउन सकिएर भर्खरै स्थिति व्यावसायिक बन्दै छ। एउटा लामो प्रतिक्षोपछि व्यवसाय लाइनमा आएको छ। दसैँ आएसँगै विशेष गरेर हामी कपडा व्यापारीहरुले यसलाई व्यावसायिक सिजनको रुपमा लिने गर्छौ। अब फेरि चिसो सिजन सुरु हुँदैछ हामीले त्यसलाई पनि हेरेर तयारी गर्नुपर्छ। त्यसैले अहिलेको समय व्यस्तताका साथ नै बितिरहेको छ। 

कहिले, कसरी व्यवसायमा प्रवेश गर्नुभयो ?
बुवा पूर्वबाट आएर ३ हजारबाट व्यवसाय गर्न थाल्नुभएको हो। त्यसकै सृष्टि अहिलेको  हाम्रो व्यवसाय पनि हो। सानो छँदा बुवा पसलबाट यताउति जाँदा बस न नानू भन्नुहुन्थ्यो। त्यतिबेलादेखि व्यवसाय गर्नुपर्छ भन्ने सोच आउन थालिसकेको थियो। तर यही नै गर्नुपर्छ भन्ने चाहिँ थिएन। पसलमा बस्दा अरुलाई व्यवस्थापन गर्दा बढो आनन्द आउने गथ्र्यो। यो त म  गर्न सक्नेरहेछु र गर्नुपर्छ भन्ने लाग्थ्यो। 

त्यो आनन्दले मैले आफ्नो जन्मनै यहीँ पेशाको लागि पो हो कि भन्नेसम्म ठान्ने गर्थे।  पछि पढाई पनि यहीँ सोचले प्लस टू धनगढीबाट नै व्यवस्थापन संकायबाट गरे। केही समय आफ्नो पढाईको लागि धनगढीबाट म काठमाडौं गए र बीबीए पढे।

बीबीएको अन्तिम नतिजा आउन बाँकी नै थियो। केही समय जागिरको पनि अनुभव लिऊ भन्ने लाग्यो र जागिर पनि सुरु गरे। तर त्यसको केही समयमा आमाबुवा पालैपालो बिरामी हुन थाल्नुभयो। धनगढीमा अब व्यवसाय सम्हाल्नका लागि आउनुपर्ने स्थिति भयो। भाई पनि सानै। आफूले पहिला कहिलेकाहीँ पसल बस्दाको अनुभव सम्झे र आफ्नो परिवारको व्यवसाय छोडेर अर्काको काम के गर्ने भन्ने महसुस भयो अनि धनगढी फर्के। अहिले धनगढी फर्केको पनि ४ वर्ष भयो। अर्थात व्यवसायमा प्रत्यक्ष लागेको ४ वर्ष भयो। 

अहिले पढाईको चाहिँ के छ स्थिति ?
धनगढी आएपछि पनि पढाईलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्यो। आउने बित्तिकै कैलाली बहुमुखी क्याम्पसमा एमबीएमा भर्ना भए। लकडाउन नभएको भए त अहिलेसम्म सकिनुपर्ने थियो। दुई वर्षको कोर्ष लकडाउनले गर्दा तीन वर्ष लाग्ने जस्तो भयो। त्यसैले एमबीएको अन्तिम सेमिस्टरमा छु। अहिले फर्केर आफैलाइ हेरे, पढाई गर्दागर्दै व्यापारी भइएछ।

अघिल्लो पुस्ताबाट अर्थात् आमाबुवाबाट के सिकाई भएछ भन्ने महसुस गर्नुहुन्छ ?
आमाबुवा त मेरो प्रेरणाको स्रोत नै हो। कहिलेकाहीँ केही चिजको आइडिया भएन भने उहाँहरुले नै मलाई निकास दिनुहुन्छ। उहाँहरु कहिलेकाहीँ ‘आत्तिन्छेस्, अहिलै आत्तिएपछि के गरेर खान्छे’ सिधै भन्नुहुन्छ। ‘बिस्तारै हुन्छ, हतार गर्नुहँुदैन डरमा बस्नु हुँदैन, हरेक कुरा सकारात्मक रुपले लिनुपर्छ, कहिले नाफा कहिले घाटा हुन्छ, व्यवसाय हो नि’ भनेर पनि सम्झाउनु हुन्छ। 

बुवा एकदमै सकारात्मक मनोवृत्तिको हुनुहुन्छ। चुनौतीलाई स्विकार्न भन्नुहुन्छ। ‘काम गर्नुपर्छ सोचेको जस्तो नभए केही त हुन्छ नि काममा लागिरह्नु पर्छ’ भन्नुहुन्छ। कहिले तनावमा साँझा घर पुगेपछि सम्झाउनु हुन्छ। फेरि कहिलेकाहीँ छोरीलाई पनि जिम्मेवारी दिने हो र भन्ने कुरा सुनेपछि उहाँ मलाई भन्नुहुन्छ ‘भन्ने भन्दैगर्छ तिमीहरुले गरेर देखाउने हो। हामीले त हाम्रो समयमा गर्यौ अब तिमीहरूको पालो।’ 

उहाँले सम्झाएका कुराका धेरै सिक्न पाइएकी छु। सबैभन्दा बढी त उहाँको सकारात्मकपन सिके।

 

कमेन्ट लोड गर्नुस