सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङकी २२ वर्षीया इन्जिनियर सृजना: बुवाको सपना पूरा गर्न कांग्रेसको महाधिवेशन प्रतिनिधि

२०७८ असोज २३, ०७:१९ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसको १४औं महाअधिवेशनमा युवाहरुको आकर्षण बढ्दै गइरहेको छ। सोही क्रममा बझाङकी एक २२ वर्षीया युवती पनि महाधिवेशन प्रतिनिधिको रुपमा विजयी भएकी छिन्। 

जयपृथ्वी नगरपालिका वडा नम्बर १० की सृजना स्नेही शनिबार बिहान सम्पन्न मत गणनाको परिणामअनुसार विजयी भएकी हुन्। उनले अत्यधिक ६८७ मतसहित पहिलो नम्बरमा दलित महिला कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जित हात पारेकी हुन्।

कञ्चनपुरको बैजनाथ इन्जियरिङ क्याम्पसमा सब–इन्जिनियरिङ अध्ययन गरिरहेकी उनले आफ्नो बुवा पदमबहादुर स्नेहीकाे सपना साकार पार्न राजनीतिमा होमिएको बताइन्। ‘बुवाको महाधिवेशन प्रतिनिधि बन्ने सपना थियो। तर ३ महिनाअघि उहाँको निधन भयो। त्यसपछि मैले उहाँको सपना पूरा गर्नकै लागि चुनाव लडको हुँ’ दिनेशखबरसँग कुरा गर्दै उनले भनिन्। 

अत्यधिक चुनावी प्रचारप्रसार समेत नगरेर जितेको बताउँदै उनले अब राजनीतिक यात्रालाई नै अघि बढाउने बताएकी छिन्। 


 

कमेन्ट लोड गर्नुस