सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी आश्मा: जो बुवाको शोकसँगै सिङ्गो व्यावसायिक जिम्मेवारी सम्हाल्दैछिन्

२०७८ असोज २३, ०४:३१ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमले चर्चित व्यवसायी नारायण लम्साललाई दोस्रो चरणको लकडाउनमा कोरोना भाइरसको कारणले गुमायो। त्यो समय सुदूरपश्चिमको व्यावसायिक क्षेत्र पुरै स्तब्ध रह्यो। लम्साल परिवार शोकमा। जीवन हो, मृत्यु अन्तिम सत्य हो। कसैले रोकेर रोक्न सक्ने र गएको व्यक्ति फर्काएर ल्याउने सक्ने भन्ने हुँदैन। सायद परिवारलाई पनि उनको मृत्यु स्वीकार्न अप्ठ्यारो नै परेको थियो तर स्वीकार्नु बाहेक परिवारसँग पनि विकल्प थिएन। बिस्तारै समय बित्दै गयो, कोरोनाको प्रभाव पनि कम हुँदै गयो। र, व्यावसायिक क्रियाकलाप बढ्दै गइरहेका छन्। नारायण लम्साल सम्झनामा छन्। 

आश्मा लम्साल, स्वर्गिय नारायण लम्साल कि एक्ली छोरी। लम्साल परिवारले सुरु गरेको व्यवसायको जिम्मेवारी उनीमाथि छ। भर्खरै स्नातक गरिसकेकी उनी बुवाको आकस्मिक र अकल्पनीय घटना घटिसकेपछि व्यवसाय सम्हाल्ने क्रममा छिन्। व्यवसाय आफैले सम्हाल्नु पर्छ भन्ने थाहा भएपनि केही सहज समयमा सम्हालौंला भन्ने सोच सायद उनीमा थियो होला। तर सोचे जस्तो पक्कै पनि भएन शोकसँगै व्यवसाय सम्हाल्नै पर्‍याे। आफ्ना बुवाले हालेको व्यावसायिक जग कमजोर हुन नदिन र विश्वासको धरातललाई निरतरता दिन उनी शोकलाई शक्तिमा परिवर्तन गरेर व्यावसायिक मैदानमा छिन्। उनै आश्मा लम्सालसँग प्रभावत विमर्शको उद्योग व्यवसायमा दोस्रो पुस्ता शृङ्खलामा कुराकानी गरेका छौँ। प्रभात विमर्शका सञ्चालक पदमराज जोशीले गरेको कुराकानीलाई संक्षिप्तमा यहाँ प्रस्तुत गरेका छौँ।

व्यावसायिक व्यस्तता कस्तो छ ?
पछिल्लो ४ महिनाको समय व्यवसायमा एकदमै व्यस्त रहनुपरेको छ। एक्कासी व्यावसायिक जिम्मेवारी सम्हाल्नु परेपछि पढाईलाई रोकेर व्यवसाय अगाडी बढाइरहेकी छु।

अघिल्लो पुस्ताबाट के सिकेको जस्तो लाग्छ ?
व्यापारिक घरना भइसकेपछि हुर्काइ पनि त्यहीँ अनुसार भयो। प्रत्यक्ष रुपमा व्यवसायमा नलागेको अर्थात् पसलमा नबसेको भए पनि सिकाई भने भइनै रहनेरहेछ। आर्थिक लेनदेनमा आफु नभए पनि त्यसको प्रभाव केही न केही आफूमा पर्ने नै रहेछ। अहिले म तेस्रो पुस्तामा व्यवसाय गरिरहेकी छु। धनगढी जुगेडा १२ बाट मेरो बाजेबजैले सुरु गर्नुभएको व्यवसाय पछि बुवाले सम्हाल्नुभयो। बुवाको आकस्मिक मृत्युपछि अहिले मैले सम्हाल्नु परेको छ।

बुवाको कुरा गर्दा मनेहराबाट २०५१ सालदेखि व्यवसाय गरिरहनु भएको थियो। उहाँले मलाई भन्नुहुन्थ्यो ‘६ हजार ४ सय ७५ रुपैयाँबाट पसल  सुरु गरेको’ भनेर। त्यहीँबाट बिस्तारै फराकिलो हुँदै अहिले आम धनगढीवासीमा एउटा विश्वासको व्यवसाय गर्न सकिएको छ।   

म सानैदेखि परिवारको एउटा मात्रै बच्चा भएकोले पनि विशेष जिम्मेवारी त थियो नै। सँगै बुवाले भन्नुहुन्थ्यो ‘कसैको क्षमता, वौद्धिकता लिङ्गले निर्धारण गर्न सक्दैन, तिमी अगाडि बढनुपर्छ। सम्हाल्ने नै तिमीले हो।’ यी कुरा नै मनन् गरेर व्यवसाय सम्हाली रहेकी छु। आफु पनि प्रविणता पछिको स्नातक तहको पढाई पूरा गरेर सम्हाल्नु नै पर्छ भन्ने त थियो। तर स्थिति अप्ठ्यारो बन्यो। मनमा बुवाको शोक, काधमा व्यवसायको जिम्मेवारी। अहिले पछिल्लो ४ महिनामा केही सिक्दै र अझै अगामी दिनमा केही सिकिएला भनेर व्यवसाय सम्हाली रहेकै छु। यसरी नै अगाडि बढीरहेको छ।

बाल्यकाल र पढाई कहाँ कसरी बित्यो ?
बाल्यकाल मेरो धनगढीमा नै बित्यो। पढाई पनि एसएलसी जेसीस एभरेस्टमा पढेर दिएको थिए भने अझै पढाईमा केही राम्रो गर्न, राम्रो शिक्षाको लागि भनेर काठमाडौं गएपछि त्यहीँबाट प्रवीणता तह गरे। 

म व्यवस्थापन संकायको विद्यार्थी हो। स्कुलमा पढ्दा ३ कक्षामा डान्सर बन्ने सपना देखिन्थ्यो भने ४ मा पुगेपछि गायक हुने। सपनाहरु पनि उमेर अनुसार परिवर्तन हुँदै जाने रहेछन्। जब ९/१० मा पुगे अनि व्यवसायनै गर्नुपर्छ भन्ने पनि लाग्यो। समाजमा एउटा छोरी मान्छेले पनि गर्न सक्छ भन्ने किसिमको उदाहरण हुन मन लाग्थ्यो। फेरि आमाबुवाले पनि समय समयमा तिमीले विशेष काम गर्नुपर्छ भन्ने किसीमले सिकाइ रहनुहुन्थ्यो। ४/५ कक्षामा हुँदा एक किसिमको सपना हुन्थ्यो भने ९/१० मा पुग्दा त तयारी नै भइसकेको थियो। प्लस टूमा त्यही योजनाले नै व्यवस्थापन पढे। त्यसपछि बीबीए अध्यन गरे। केही समय मात्रै भएको छ बीबीए सकाएको। एमबीए गर्ने भन्ने सोच पनि छ तर अब हेरौ कतिको सम्भव छ। अहिले त व्यवसायनै पढाई छ। 

अहिले तपाईंले के–के व्यवसाय सम्हाली रहनुभएको छ ?
हाम्रो अहिले गोपाल सप इन्ड्स्ट्रीजको सोडा साबुनको एजेन्सी छ। भने, त्यस्तै डाबर नेपाल, सुर्तीजन्य सामग्री, साल्ट ट्रेडिङको सायद सबैभन्दा पूरानो (२०६० साल देखिको) डिलरसीप हो। समग्रमा थोक तथा खुद्रा विक्रेता भनौं। 

औपचारिक शिक्षाले व्यवसायमा कस्तो रूपमा प्रभाव पार्दो रहेछ ?
अहिलेसम्म मैले पुस्तकमा मात्रै पढे, व्यवस्थापन के हो भनेर। तर त्यो व्यवहारमा उतार्न खोज्दा फरक नै छ। बजारमा गइसकेपछि ग्राहकको मानसिकता बुझ्नेदेखि लिएर धेरै कुरा हुन्छन्। किताब र वास्तविकतामा कहिलेकाहीँ फरक रहन्छ। फेरि व्यवसायी वातावरण पनि समय–समयमा फरक–फरक हुन्छ।  जस्तो मेरो बाजेको पालामा एक किसिमको थियो बुनाले फरकै किसिमको भोग्नु भयो फेरि मलाई फरकै पनि हुन सक्छ।

नयाँ–नयाँ प्रणाली बजारमा आइरहेका हुन्छन्।  सरकारको पनि नीति नियमहरु परिवर्तन भइरहेका हुन्छन्। यसरी फरक किसिमको वातावरणलाई बुझ्न र नयाँ आइडिया निर्माण गर्न औपचारिक शिक्षाले फरक पार्छ जस्तो लाग्छ। 

 

कमेन्ट लोड गर्नुस