सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैँको मुखमा मलेसिया र साउदीबाट आए १० नेपालीको शव

२०७८ असोज २३, ०४:२५ खबर संवाददाता

धनगढीः हिन्दुहरुको महान चाड वडादसैँको मुखैमा आज बिहान (शनिबार) मलेसिया र साउदीबाट १० जना नेपालीको शव र अस्तु आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारको क्रममा मृत्यु भएका १० जना नेपालीहरुको शव र अस्तु आइपुगेको हो।

वैदेशिक रोजगार बोर्डका काउन्सिलर कृष्ण चौलागाईका अनुसार साउदीमा मृत्यु भएका एक नेपालीको शव श्रीलंकन एयरलाइन्सबाट आएको हो भने मलेसियाबाट आएको फ्लाईटबाट एकैपटक आठ जनाको अस्तु र एक जनाको शव ल्याइएको हो। साउदीमा मृत्यु भएका तनहुँका निशान भट्टराईको शव आज बिहान श्रीलंकन एयरलाइन्सबाट काठमाडौं आइपुगेको हो। मृतक भट्टराईको पशुपतिनाथस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ।

त्यसैगरी, आएको फ्लाइटबाट काभ्रेपलान्चोकस्थित महादेवस्थानका टेकबहादुर तामाङको शव ल्याएको छ भने महोत्तरीका रामदेव महत्तो, उदयपुरका अंगत राई , खोटाङ्गका जितबहादुर बस्नेत, नवलपरासीका सुरज खवास, सुर्खेतका गुप्ता बहादुर खत्री, ओखलढुंगाका तेजबहादुर खत्री, धनुषाका भोली मण्डल, लमजुङ्गका सूर्यबहादुर गुरुङको अस्तु आइपुगेको हो।

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकको शवलाई बोर्डले निःशुल्क घर तथा सम्बन्धित स्थानसम्म पुर्याउने गर्दै आएको छ। चौलागाईका अनुसार विमानस्थलमा विदेशबाट आइपुगेका शव आफन्त तथा सम्बन्धित व्यक्तिहरुले समयमै जिम्मा लिइहाल्ने गर्छन्। तर, ल्याइएका अस्तु भने समयमै जिम्मा लिन नआउने हुनाले हप्तौं दिनसम्म पनि अस्तु विमानस्थलमै रहने गरेको उनले बताए।

कमेन्ट लोड गर्नुस