सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भिरबाट लडेर पुरूष घाइते, हेलिकाेप्टरमार्फत उद्धार

फाइल फोटो
फाइल फोटो
२०७८ असोज २३, ०४:१३ खबर संवाददाता

धनगढीः बाजुरामा भिरबाट लडेर घाइते भएका एक व्यक्तिको हेलिकाेप्टरबाट उद्धार गरिएको छ। स्वामिकार्तिक खापर गाउँपालिका २ बस्ने ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको हो। बुढा शुक्रबार भिरबाट लडेर घाइते भएका थिए। 

उद्धार गरिएको बुढाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन्। सेनाको हेलिकाेप्टरमा बुढा तथा उनकी श्रीमतीसहित ४ जनालाई नै नेपालगञ्ज पठाइएको हो। उद्धारका क्रममा लाग्ने खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने मन्त्री जोशीले बताइन्। 

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा वर्षेनी सयौं व्यक्तिले भिरबाट लडेर ज्यान गुमाउने गरेका छन्। भिरबाट लडेपछि घाइते भएकाको समयमै उद्धार तथा उपचारमा समस्या हुने गरेको छ। जसका कारण उनीहरू अकालमै ज्यान गुमाउन बाध्य छन्।

कमेन्ट लोड गर्नुस