सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली नजिकको सीमामा दंगाः हत्या आरोपपछि गृहमन्त्रीका छोराले गरे आत्मसमर्पण

२०७८ असोज २३, ०१:४८ खबर संवाददाता

धनगढीः लखिमपुर हिंसाको सातौ दिन मुख्य आरोपी आशिष मिश्रले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। रुमालले मुख छोप्दै अपराध महाशाखा पुगेर उनले आत्मसमर्पण गरेका हुन्। उनी भारतका केन्द्रीय गृहमन्त्री अजय मिश्रका छोरा हुन्। मिडिया रिपोर्टका अनुसार १२ वटाभन्दा धेरै पेन ड्राइव बोकेर आशिष प्रहरीसमक्ष पुगेका हुन्। यी पेन ड्राइभमा रहेका भिडियोहरूले उनी घटनाको दिन कहाँ थिए भन्ने प्रमाणित गर्छ। उनले आफु घटनास्थलमा नरहेको र घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन्। आशिषसँग सोध्नका लागि प्रहरीले पनि झन्डै ४० वटा प्रश्नहरु तयार गरिसकेको छ। 

के भएको थियो ? 
भारतको उत्तर प्रदेशस्थित लखिमपुर जिल्ला कार्यालयबाट झन्डै ७५ किलोमिटर टाढा नेपालको सीमा नजिकैको तिकुनिया गाउँमा गत आइतबार हिंसा र आगलागी हुँदा ८ जनाको मृत्यु भएको थियो। यस गाउँमा रहेको एक स्कुलको कार्यक्रममा सहभागी हुन केन्द्रीय गृहमन्त्री अजय मिश्रा आएका थिए।

त्यहीक्रममा किसानहरुले पनि कालो झन्डा देखाउँदै उनको विरोध गरे। त्यसक्रममा मन्त्रीसँगै आएका गाडीहरु धर्नामा बसेका किसानहरुलाई किचेर तेजसँग अघि बढे। चारजनाको किसानको यसक्रममा ज्यान गयो भने एक दर्जनभन्दा धेरै घाइते भए। त्यस्तै, दुईजना बिजेपीका कार्यकर्ता र दुईजना ड्राइभरको पनि मृत्यु भयो। 

गृहमन्त्रीका छोरा आशिष मिश्रामाथि धर्नाकारीलाई गाडीले कुल्चिएको र एकजना किसानमाथि गोली हानेको आरोप छ। यस घटनाको समाचार कभरेज गर्नेक्रममा साधन न्युज च्यानलका संवाददाता रतन कश्यपको पनि मृत्यु भएको थियो। गाडीमा ठक्कर खाएपछि उनी सडक किनारमा रहेको पानीमा डुबेका थिए। 

कमेन्ट लोड गर्नुस