दसैँ हिन्दुहरुको मात्रै होइन नेपालीको साझा पर्व हो
विद्यालयका पाठ्यपुस्तक, अखबार–पत्रिका तथा सामान्य बोलीचालीमा जानेर या नजानेर दसैँलाई नेपाली हिन्दुहरुको महान चाड भनेर भन्ने गरिएको छ। तर यो भनाई तथा बुझाइ गलत भएको विभिन्न प्रमाणहरु रहेका छन्। दसैँ मान्ने समयका आधारमा पनि यो सर्वमान्य र सर्वस्वीकार्य पर्व हो भन्न सकिन्छ। दसैँ शरद ऋतुमा पर्छ। शरद ऋतु भनेको न गर्मी न जाडोको समय हो। शरद ऋतुको समय फलफूल अन्नपात र अनुकुल भएका कारण उत्सव मनाउन उपयुक्त भएकोले दक्षिण एसिया र पूर्वी एसियामा शरदीय पर्वका रुपमा दसैँ मान्न थालिएको हुनुपर्छ।
दसैँ हरेक नेपालीहरुको मौलिक पर्व हो भन्ने थुप्रै प्रमाण रहेका छन्। धार्मिक तथा आध्यात्मिक अध्येता मोहन लामा रुम्वाले दसैँ गुरुङ, मगर, नेवार, थारु, तामाङ लगायतका जातिको मौलिक पर्व रहेको उल्लेख गरेका छन्। दसैं हिन्दु, बौद्ध, किराँत, शिख तथा जैन धर्माबलम्बीको मौलिक चाड रहेको विभिन्न प्रमाण रहेको रुम्बाले उल्लेख गरेका छन्।
दसैँ पर्वबारे हिन्दु पुराणहरुमा निकै उल्लेख भएको पाइन्छ। हिन्दुहरुबाट गैर हिन्दुले दसैँ मान्न सिकेको भनेर पनि भन्ने गरिन्छ। तर दसैँ हिन्दुको मात्रै पर्व हो भन्नु या त अज्ञानता या अन्य कारण हुनुपर्ने मत रुम्बाको छ।
रुम्बाले मौलिक पर्व दसैँ सम्बन्धी शास्त्रीय विवरण गुरुङ समुदायको प्राचीन एवं मौलिक ग्रन्थ ‘प्ये’ मा उल्लेख भएको बताएका छन्। लोर्डसरी गुरुङले उल्लेख गरेको प्रसङ्ग राख्दै लामाले गुरुङ समुदायले दसैँमा टिका लगाउने, आशिष लिने मात्रै नभएर पिङ हालेर ९ दिनसम्म ९ पटक खेल्ने प्रचलन रहेको उल्लेख गरेका छन्।
दसैँको अर्थ दश दिनसम्म भनेको हो। लामाले भनेका छन्, ‘शारदीय नवरात्र भनेको शरद ऋतुको ९ वटा रात्री भनेको हो। यो न हिन्दु, न बौद्ध न कुनै धर्म, समुदाय या जाति विशेषको हो।’
गुरुङ समुदायको प्राचीन एवं मौलिक ग्रन्थ (प्ये) मा दसैँमा टिका लगाउने, आशिष लिने मात्रै होइन पिङ्ग बनाएर ९ चोटी ९ दिन सम्म खेल्ने भनेर पनि गुरुङको शास्त्रमा उल्लेख गरेको छ। जोकोहीले गुरुङको प्राचीन शास्त्र (प्ये) हेर्न सक्छन्।
तिवा ङिवा सोंवा ङवा कुवा वाना प्वों प्रिमा ङ्येरे...
(उनले एक चोटी, दुई चोटी, तीन चोटी, पाँच चोटी, नौ चोटी पिङ्ग खेलिन)
ना कुरो त खाजे ...
(नौ दिन बित्यो)
चिगो तेमा चिया तेमा
(जब हामी टिका लगाउछाैँ, यसकारण कि तपाईले आशिष दिनु हुन्छ)
‘दसैँ भनेको १० दिन भनेको हो। शारदीय नवरात्र भनेको पनि शरद ऋतुको ९ रात्री भनेको हो। यो न हिन्दुको हो, न बौद्ध, न कुनै विशेष धर्म या समुदायको। यो त समय ऋतु मौसमको कुरा हो। यो त आइतबार, सोमबार भने जस्तो हो। तसर्थ तपाईले दसैँ (शरद ऋतुको ९ रात १० दिन) जसरी माने पनि, नमाने पनि, ऋतु क्रिया त चलेकै हुन्छ।’ रुम्बाले लेखेका छन्।
अध्येता रुम्बाले गुरुङको भनाइ उल्लेख गर्दै अगाडि लेखेका छन्, ‘सबैले आ–आफ्नै हिसाबमा दसैँ मान्ने हो, कसैले कसैलाई यसरी गर या नगर, दसैं मान या नमान भनेर कर कार गर्नु स्वभनिय देखिदैन। हिन्दुले आफ्नै तरिकाले (स्थान विशेषले कतै दुर्गा त कतै राम सम्बन्ध), बौद्धले आफ्नै तरिकाले (विशेषगरी अशोकको अस्त्र त्याग सम्बन्ध), जैनले आफ्नै तरिकाले (विशेषगरी ऋषवदेव र ब्राह्मण रावण सम्बन्ध) र सिखले आफ्नै तरिकाले (अस्त्र सम्बन्ध) दसैँ मान्दछन्। यति मात्र होइन, चीन, भियतनाम, जापान, कोरियामा पनि आफ्नै तरिकाको मध्य शरद ऋतुमा ठुलो चाड मनाइने गरिन्छ।’
तामाङ बोन परम्परा अन्तर्गत घटास्थापनादेखि सप्तमीसम्म ‘खेप्प सुङ’ कतै गुरुचनको खेप्प स्याबा पुजा हुन्छ, खेप्प सुङ्को पुजा गरिसकेपछि दहीमा मुछिएको टीका मान्यजनबाट आशीर्वचनसहित लगाउने चलन रहेको लामा रुम्बाले उल्लेख गरेका छन्।
‘गुरुङले अहिले तमु भन्छन् क्यारे, तमु र तामाङको पुर्ख्यौली एकै हुन् त्यसैले मैले बारम्बार भन्दै छु दसैँ ठेंट रूपमा नेपालीहरुको पर्व हो’ रुम्बाले भनेका छन्।
नेपालमा बस्ने हरेक समुदायको दसैँ मान्ने आफ्नै मौलिक मौलिक परम्परा रहेको छ। हिन्दु तथा गैरहिन्दु सबै जाति र समुदायले दसैँ मान्दै आएका छन्। तराईंका थारुदेखि हिमाली शेर्पाहरुले दसैँ पर्व मौलिक रपमा मनाउदै आएका छन्। तसर्थ दसैँ नेपालीहरुको मौलिक र साँझा पर्व हो।