सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना संक्रमणले थला परेको खेल क्षेत्र उकास्ने प्रयास

२०७८ असोज २१, ०३:२६ विन्दु चन्द

धनगढी: धनगढीमा बुधबार सुदूरपश्चिम प्रदेशस्तरी पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। सो प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाको सहभागिता छ। कोरोना माहामारीका कारण घरमै थन्किएर बसेका खेलाडीहरु पनि प्रदेश स्तरको प्रतियोगिता हुन थालेपछि उत्साहित भएका छन्। 

‘लामो समयपछि सबै जिल्लाका खेलाडी साथीहरु आएका छन्। भेटघाट गर्न पाउँदा एकदमै खुसि लागिरहेको छ,’ कैलालीका एक जना खेलाडी महेश खत्रीले भने। कोरोना माहामारीका कारण भएको लकडाउनमा घरमै खालि बसेको उनी बताउँछन्। कोरोना पछि पहिलोपटक भलिबल प्रतियोगिता हुँदा उत्साहित भएको उनको भनाई छ। 

कोरोना माहामारीका कारण खेलकुद क्षेत्र पनि थला परेको थियो। जसकारण खेलाडीहरुको प्रदर्शनमा धेरै असर परेको बताइएको छ। लामो समयसम्म बन्द हुँदा खेलकुदमै भविष्य खोजिरहेका युवा खेलाडीहरु त पलायन समेत हुनुपर्ने बाध्यता आएको समेत कैलालीकै दिवान सिंह धामीले बताए। प्रदेश स्तरका प्रतियोगिता आयोजनाले हौसला मिलेको खेलाडीको प्रतिक्रिया छ।

तर कोरोनाले खेल क्षेत्र विथोलेपछि खेलमै भविष्य हेर्ने सपना भने टुटिसकेको धामी बताउँछन्। ‘अब यसमा कुनै भविष्य छैन। कोरोना पछि त हामीले भलिबललाई छोएका पनि छैनौं’ उनले भने। उनले सरकारले खेलाडीहका लागि खेलकुदका सामग्रीहरु उपलब्ध गराई दिनुपर्ने माग गरेका छन्।  

‘जिल्ला वा प्रदेशमै सिमित नरहेर क्षेत्रीय अर्थात राष्ट्रिय अन्तराष्ट्रिय खेलकुदका लागि पनि सहयोग गरिदिए सहज हुने थियो’ दिवान सिंह धामीले भने, ‘खेलकुदका लागि कवर्डहल, जर्सी, बल लगायत खेलकुदका सामग्री उपलब्ध गराए हामीलाई पनि अभ्यास गर्न पाइन्थ्यो। सामग्री नहुँदा पनि त्यतिकै बस्नुपर्ने बाध्यता छ।’

कोरोना संक्रमणकै अवस्थाबीच तय भएका खेलकुद तालिका पनि प्रभावित भएका थिए। खेलकुदको हब मानिएको सुदूरपश्चिममा अहिले पनि तय भइसकेका प्रतियोगिता पनि हुन सकेका छैनन्। 

अहिले नयाँ तरिकाले खेलकुद प्रतियोगिता गरिरहेको सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिहंले बताए।  कोरोनाले खेलकुद क्षेत्र धेरै पछाडी धकेलिएको उनको भनाई छ। यसपछि मुख्यमन्त्री कपको तयारीमा लागेको उनले बताए। उनले कोरोना नियन्त्रणमा आए खेल जारी रहने बताए। 

सुदूरपश्चिममा विभिन्न प्रतियोगिता आयोजना गर्दै सरकारसँगै निजी क्षेत्र थला परेको खेलकुद क्षेत्र उकास्ने प्रयासमा जुटेको छ। प्रदेशमा सबैभन्दा बढी निजी क्षेत्रबाटै प्रतियोगिता आयोजना भइरहेका थिए। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस