देशभर ९६८ सङ्क्रमित थपिए
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा ९६८ जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार ४२ मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १६ हजार २४८ पुगेको छ। पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ छन्। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन्।
नेपालमा सङ्क्रमणदर १८।८ प्रतिशत छ। पछिल्लो २४ घण्टामा एक हजार ११४ जनाले सङ्क्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७१ हजार ३३८ छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।६ प्रतिशत छ। सो अवधिमा छ जनाको मत्यु भएको छ। हालसम्म सङ्क्रमणबाट ११ हजार १८० जनाको मृत्यु भइसकेको छ। हाल देशभर ३३५ जना सघन उपचारकक्ष आइसीयू, १२२ जना भेन्टिलेटर, १५ हजार ११७ जना होम आइसोलेशन, एक हजार १३१ जना संस्थागत आइसोलेशन र २३७ जना क्वारेन्टिनमा छन्।
आज एक लाख ३२ हजार ८९६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। हालसम्म ७९ लाख १३ हजार ५५५ जनाले पहिलो मात्रा र ६४ लाख नौ हजार १९६ जनाले पूर्ण मात्राको खोप लगाएका छन्।