काठमाडौँ र भैरहवाबीचको खेल रद्द
काठमाडौँ: एभरेष्ट प्रिमियर लिग इपिएल अन्तर्गत काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको उक्त खेल मैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि खेल रद्द भएको हो। खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन्।
यससँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ प्ले अफमा प्रवेश गरेको छ। काठमाडौँ चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हो। काठमाडौँले ५ खेलमा ३ अङ्क जोड्यो । ललितपुर प्याट्रियट्सले समान ३ अङ्क जोडे पनि काठमाडौँ नेट रन रेटका आधारमा प्ले अफमा पुगेको हो। लिगमा आठ अङ्क जोडेको चितवन टाइगर्स पहिलो स्थानमा छ भने सात अङ्क जोडेको पोखरा दोस्रो स्थानमा छ। त्यस्तै समान सात अङ्क नै जोडेको भैरहवा नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ।
साबिक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छन् । भोलि बिहान ९ः१५ बजे चितवन टाइगर्स र पोखराबीच पहिलो क्वालिफायर खेल हुनेछ। त्यस्तै काठमाडौँले भैरहवासँग इलिमिनेटर खेल खेल्नेछ। उक्त खेल भोलि दिउँसो १ः३० बजे हुनेछ । प्रतियोगिताको विजेता टोलीले ५० लाख तथा उपविजेताले रु १५ लाख पाउनेछ।