मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने
धनगढी : सवारी साधनको धेरै कारोबार हुने दसैँमा यो वर्ष मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने देखिएको छ। आर्थिक वर्ष २०७८-०७९ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत गरिएको अन्तःशुल्क र सडक दस्तुर वृद्धिले दुईपांग्रे सवारी साधनको मूल्य बढ्ने भएको हो।
सरकारले गत वर्षको तुलनामा १२५ देखि २०० सिसीसम्मका मोटरसाइकलमा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरेर ५० प्रतिशत पुगाएको छ। यी मोटसाइकल-स्कुटरमा १५ हजार सडक दस्तुर पनि तोकिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विधेयकमा सवारी साधनको अन्तःशुल्क र सडक दस्तुरमा वृद्धि गरिएको छ। जसका कारण विदेशबाट तयारी अवस्थामा आयात हुने मोटरसाइकल र स्कुटरको मूल्य १५ देखि १७ हजारसम्म बढ्ने बताइएको छ।
बिक्रेताले नयाँ आर्थिक वर्षको सुरुवातीमै मोटसाइकल-स्कुटरको मूल्य बढाइसकेका बेला प्रतिस्थापन विधेयकमा नयाँ अन्तःशुल्क र सडक दस्तुर वृद्धिले पुनः मूल्य बढ्ने उनीहरुको भनाई छ। अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा) का केन्द्रीय अध्यक्ष कृष्णप्रसाद दुलालले सबै मोटरसाइकल तथा स्कुटरको मूल्य नबढेपनि केहीमा १५ देखि १७ हजार मूल्य बृद्धि हुने बताए।
‘सबै मोटरसाइकलमा मूल्य बढ्दैन। तर केहीमा भने १५ देखि १७ हजारसम्म मूल्य बढेको छ।’ उनले भने, नेपालमै एसेम्ब्लिङ हुने दुईपाङ्ग्रेको मूल्य बढ्दैन।’
गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा १५५ सीसीसम्मका दुईपांग्रे सवारीको अन्तःशुल्क ४० प्रतिशत थियो। प्रतिस्थापन विधेयकमा सरकारले १२५ सीसीसम्म ४० प्रतिशत अन्तशुल्क कायम गरेको छ। यी मोटरसाइकल-स्कुटरमा १५ हजार रुपैयाँ सडक दस्तुरसमेत तोकिएको छ।
तर १२५ भन्दामाथि २०० सीसीसम्मको मोटरसाइकलको नयाँ अन्तःशुल्क ५० प्रतिशत तोकेको छ। प्रतिस्थापन विधेयकले २०१ देखि २५० सीसीसम्मका दुईपांग्रे सवारीमा ६० प्रतिशत अन्तशुल्क तोकेको छ। जबकी यसअघिको बजेटमा १५५ देखि २५० सीसीसम्मका दुईपाङ्ग्रकोे अन्तःशुल्क ५० प्रतिशत मात्र थियो।
सरकारले बढाएको नयाँ अन्तःशुल्क र सडक दस्तुरको असर सबैभन्दा धेरै बिक्री हुने १२५ देखि २५० सीसीसम्मका दुईपाङ्ग्रे सवारीको मूल्यमा पर्नेछ। जसका कारण विभिन्न कम्पनीका लोकप्रिय मोटरसाइकल र स्कुटरको मूल्य एकैपटक १७ हजार रुपैयाँसम्म बढ्ने देखिएको छ।
तर सुदूरपश्चिमकाम ग्राहकले भने यो वर्षको दशैँ तिहारमा पुरानै मूल्यमा सवारी साधन खरिद गर्न पाउने अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्कर ओझाले बताए।
‘दशैँ तिहारमा सुदूरपश्चिमका ग्राहकले पुरानै मूल्यमा सवारी गरिद गर्न पाउने छन्।’ उनले भने, ‘हामीसँग पुरानो स्टक छ र नयाँ मूल्य सूचि पनि आएको छैन।’
कोभिड–१९ को जोखिमका कारण सर्वसाधारण निजी सवारी साधन किन्नतर्फ आकर्षित भएको बेला सरकारले भने अन्तः शुल्क तथा सडक दस्तुर बढाएर नागरिकहरुलाई मार्कामा पार्न खोजेको गुनासो गरिएको छ।