सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि आयो दसैँतिहार

२०७८ असोज १६, ०६:१४

प्यारी झुम्की,
अटुट मायाका साथ मीठो सम्झना। आशा छ, तिमी त्यता सकुशल छौ। र, सदैव सकुशल नै रहने छौ। म यहाँ हरेक दिन तिम्रो निरोगी, दीर्घायु अनि प्रगतिमय जीवनको कामना गरिरहेको छु। त्यसैगरी तिमी पनि। झुम्की, अब त हामी नेपालीहरुको महान पर्व दसैँ पनि आँगनमै आइसक्यो। यतिबेला यो मन बेचैन भएको छ। शहरबाट नानाभाति सामाग्री किनेर गाउँतिर जानेको लर्को देख्छु। मेरी माया, ती दृष्य देखेर मन थाम्न नसकी भक्कानिन्छु।

तिमी मेरो बाटो हेरेर बसेकी हौली। तिम्रो मन यतिबेला चँगाझै फुर्रफुर्रर्र एक्लै उड्दै होला। नउडोस् पनि कसरी ? मैले गत साल नै तिमीसँग बाचा गरेको थिएँ– झुम्की, यो दशैमा अवश्य आउँनेछु भनेर। तर, मेरी माया हेरन मनले सोचे र भनेको जस्तो कहाँ हुँदो रहेछ ? मेरो त अझैँ गाउँ आउने टुंगो लागेको छैन। मेरी माया, तिमीलाई थाहा नै छ। मेरो पेशा नै त्यस्तै छ। जो हरेक कुरालाई तिलाञ्जली दिँदै हरेक निमेषमा सुसुचित गरिरहनुपर्ने।

झुम्की, म आएन भनेर नरिसाउनु। तिमीले भनेकी थियौ– ‘दिले म हजुरको नासो हुँ, जबसम्म तपाइँ फर्कनु हुन्न त्यतिञ्जेलसम्म पर्खिरहनेछु, चाहे दशक बितोस्, बिसौं साल बितोस्, यात सिंगो युग नै बितोस्। म सदा बाटो हेरेर बसेकी हुनेछु, छिट्टै आउनु है मेरो प्यारो मान्छे।’

हो झुम्की, यो बिरानो शहरमा तिम्रा यी यस्तै ढाडस दिने शब्द मेरा जिउने आधार बनेका छन्। हरेक दिन यो आधुनिक युगको सञ्चारमा मलाई सम्बोधन गर्दै आउँछौ। म त्यहीलाई तिम्रो उपस्थित सम्झदै हर्षित हुन्छु। आशा छ, अझै पनि यसरी नै दिनहुँ मीठो सम्बोधनका साथ हाम्रो सम्वाद भइरहने छ।

मेरी माया, तिम्रो सम्झनाले यतिबेला मायारुपी मनले थेग्न नसक्ने गरी सम्झनाका फूलहरू निरन्तर बर्सिरहेछन्। एकछिन ती सम्झनारूपी फूलहरुलाई डालीरुपी चौतारोमा बिसाएर अन्यन्त्रै हिडम् की पनि लाग्छ। तैपनि मेरी माया मायाको भारी बिसाउन कहाँ सजिलो हुँदो रहेछ र ?

अँ, यतिबेला हाम्रो बारीको डिलमा मखमली, सयपत्री ढकमक्क फूलेका होलान् है ? कठै ! म नआउने खबर थाहा पाए ती मखमली सयपत्री मन–मनै भन्दा पनि होलान्– ‘झुम्कीले वर्षैपिच्छे तँ दिलेलाई भनेर कत्रो मेहेनत गरी हामीलाई हुर्काउँछे, फूलाउँछे तँ भने हरेक साल अनेकन् बाहना बनाई शहरमै हराउँछस्।’

मेरी माया यो मेरो बहाना होइन, बाध्यता हो। तिमीले सानो मन नबनाउनु। मेरो बाध्यता बुझ्नेछौ र अहिलेसम्म बुझेकी पनि छौ।

तिम्रो जीउ–ज्यान मखमली सयपत्रीको थुंगा जस्तै फूर्तिलो तथा तनमन सदा स्वस्थ रहोस् भन्ने कामना गर्दै म हरेक दिन तिम्रो तस्वीरलाई स्पर्श गरिरहेको छु। मेरी माया, म आउन नपाएर के भो र ? तिमीलाई साथ दिने बा, तल्लाघरे काकी, सुली छदैछन्। उनीहरुसँगै बसेर दशैतिहार मनाउनु ल।

झुम्की, जमरा राख्ने दिन नजिकिँदै छ। घर लिपपोत गरी जमरा हाल्न बालाई सघाउनु।   घटस्थापनाको दिन छरेर उमारी दशमीमा लगाइने जमराजस्तै हाम्रो माया–प्रेम पवित्र र चोखो छ। अझै रहनेछ। तिमीले कुनै शंकै नगर्नु। मैले यसलाई हरेक पल सुरक्षित राख्दै कहिल्यै नमर्ने गरी जोगाएर अटल राखेको छु। यो कुनै सपना होइन, सत्य हो मेरी माया। अहिलेलाई यति मात्र। बाँकी भेटमा। 

शुभ विजया हजुर ।
उही तिम्रो
दिले
धनगढी, कैलाली ।

कमेन्ट लोड गर्नुस