सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा धनगढीमा

२०७८ असोज १६, ०४:०४ खबर संवाददाता

धनगढीः ९५ प्रतिशत थारु समुदाय आवद्ध रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो विशेष साधारण सभा धनगढीमा सम्पन्न भएको छ। कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको उक्त संस्था कोहलपुरको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरका लागि भएको सहमति र निर्णहरु स्वीकृत एवं अनुमोदन गर्न विशेष साधारण सभाको आयोजना गरिएको हो।

१० जिल्ला कार्य क्षेत्र रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था राष्ट्र बैंकले तोकेको पूँजी पुर्‍याउन नसकेपछि मर्जर गर्ने सम्बन्धमा भएका लिखित सम्झौताहरु लगायत सम्पूर्ण निर्णयहरु स्वीकृत गराउन विशेष साधारणको आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कुन्नानारायण चौधरीले बताए।

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल एक आपसमा गाभिने गरी २०७७ कात्तिक २१ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो। ती निर्णयहरु कार्यान्वयन गर्न शनिवार घोडीघोडाले विशेष साधारण सभाको आयोजना गरेको हो।

साधारण सभाको सुदूरपश्चिम प्रदेश सभा सांसद मलामती रानाले उद्घाटन गरेकी छिन्। सभाले युनिक नेपालसँग मर्जरमा जान यसअघि भएका सम्झौतालाई अनुमोदन गरेको संस्थाका अध्यक्ष प्रभातकुमार चौधरीले बताए। 

कमेन्ट लोड गर्नुस