सुदूर नेपाललाई विश्वसँग जोड्दै

३८ वर्षको पर्खाइपछि सेती प्रादेशिक अस्पतालको स्तरोन्नति होला ?

२०७८ असोज १६, ०७:४५ कमल सावद

धनगढीः कैलालीका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न वि.सं १९९७ सालमा धनगढीमा जिल्ला अस्पताल सञ्चालन भयो। कैलाली जिल्ला अस्पताललाई २०४० सालमा सेती अञ्चल अस्पतालमा स्तरोन्नति गरियो। सो समयमा अस्पताललाई ५० शय्याको स्वीकृति दिइएको थियो। अस्पताल व्यवस्थापन समितिले ७५ शय्या थप गर्दै अस्पताललाई एक सय २५ शय्यामा सञ्चालन गरियो।

प्रदेश सरकार गठन भएसँगै सेतीलाई प्रादेशिक अस्पताल नामाकरण गरियो। अस्पतालमा बिरामीको संख्या धेरै भएको भन्दै अस्पताल प्रशासनले तीन सय २१ शय्यामा अस्पताल सञ्चालन गर्दै आएको छ। तर सरकारी स्वीकृति ५० शय्याको मात्र हुँदा अस्पतालमा उपकरण, जनशक्ति तथा भौतिक संरचनाहरु थपिएका छैनन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले अस्पतालमा जनशक्ति, उपकरण र भौतिक संरचनाको अभाव रहेको बताए। श्रेष्ठले भने, ‘५० शय्याको अस्पताल हो। ७५ शय्या समितिले थपेको हो। एक सय २५ शय्याको अस्पताललाई स्वीकृति छ। हामीले तीन सय २१ शय्यामा सञ्चालन गर्दै छौँ।’ तर ३८ वर्ष अघिको स्वीकृत दरबन्दीमा सञ्चालित सेती प्रादेशिक अस्पताल स्तरोन्नतिको विषय फेरि चर्चामा आउन थालेको छ।

हरेक चुनावमा प्रमुख एजेण्डा बन्दै आएको प्रादेशिक अस्पतालको स्तरोन्नतिको विषय फेरि चर्चामा आएको हो। प्रदेश सरकारले नौ तलाको अत्याधुनिक भवन बनाउँदै तीन सय शय्याको सरकारी स्वीकृतिमा अस्पताल सञ्चालन गर्ने सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले बताए। उनले भने, ‘सेतीमा ९ तलाको अत्याधुनिक भवन निर्माण गर्दै छौँ। सानो जमिनमा ठुलो भवन कसरी निर्माण गर्न सकिन्छ भन्ने छ। बुटवलमा नयाँ भवन निर्माण भएको रहेछ। सोहीअनुसार डिपिआर निर्माण हुन्छ।’

अस्पताललाई तीन सय शय्याको बनाउने निर्णय गराएको भन्दै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रचारसमेत गरिएको थियो। चुनावमा काँग्रेस उम्मेदवार आर्जु राणा देउवाले तीन सय शय्यामा स्तरोन्नति भएको घोषणा नै गरेकी थिइन् भने एमाले उम्मेदवार नारदमुनी रानाले ५ सय शय्याको बनाउने घोषणा गरेका थिए।

चुनाव नजिकिदै गर्दा प्रदेश सरकार पनि आश्वासन बाँड्न थालेको छ। तर सामाजिक विकास मन्त्री खड्काले राजनीतिक मुद्दा नभएको बताए। उनले भने, ‘हामीले निर्वाचनका लागि निर्णय गरेका हैनौ। एक वर्षभित्र डिपिआरको काम पूरा गर्दै भवन निर्माण सुरु गर्छौँ।’

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पतालको डीपीआर निर्माणका लागि एक करोड रुपैयाँ स्वीकृत गरेको छ। सेती प्रादेशिकलाई तीन सय शय्या बनाउन विस्तृत परियोजना अध्ययन (डीपीआर) प्रतिबेदन तयार गरी त्यसको अनुमानित लागत, डिजाइन र टेण्डरका लागि समेत गरी एक करोड रुपैयाँ स्वीकृत गरिएको हो।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस