एक हजार ७८ जनामा कोरोना सङ्क्रमण
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा ११ हजार ७६५ जनाको कोरोना परीक्षण गरिएको थियो। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १६८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना सङ्क्रमण दर १८।९ प्रतिशत छ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन्। पछिल्लो २४ घण्टामा ९११ जना कोरोनाबाट मुक्त भएका छन्। योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ६५ हजार ७५८ पुगेको छ। नेपालमा कोरोनाबाट निको हुने दर ९६।३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १३५ जनाको निधन भइसकेको छ । हाल देशभर ३५३ सङ्क्रमित सघन उपचार कक्ष आइसीयुमा, ११७ भेन्टिलेटरमा, १६ हजार ८०२ होम आइसोलेसनमा, एक हजार ३६६ संस्थागत आइसोलेसनमा तथा ३८ सङ्क्रमित क्वारेन्टिनमा छन्।
आज दुई लाख ८९ हजार ३८१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। अहिलेसम्म ७४ लाख ५६ हजार ३८४ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा ६२ लाख ८५ हजार ७४० जनाले पूर्ण मात्रा लगाएका मन्त्रालयले जनाएको छ।