‘फार्मेसीको लाइसेन्स भाडामा दिनका लागि होइन’
धनगढी : फार्मासिष्ट नारायण भट्टसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
फार्मासिष्टहरुले पाउनुपर्ने जिम्मेवारी र खेल्नुपर्ने भूमिका तपाईंहरुले पाइरहनु भएको छ ?
हाम्रो देशको स्थिति हेर्दा सबै ठाउँमा एमबीबीएस डाक्टर पुग्न सक्ने स्थिति थिएन। त्यसै कारणले नेपालमा उबेलाको एसएलसी पास गरेपछि पढ्न पाउने गरी तीन वर्षीय कोर्षको डिजाइन गरियो। फेरि त्यो बेला १८ महिनाको ओरन्टेसनले नै पनि काम चलाउनुपर्ने स्थिति थियो। उनीहरुले नै औषधि दिने, चेकजाँच गर्ने आदि सबै गर्नु गर्नुहुन्थ्यो। उनीहरुको योगदान स्वास्थ क्षेत्रमा एकदमै छ त्यसलाई भुल्नु हुँदैन। तर पछिल्लो समयमा जसरी समाज विकास हुँदै गए, जसरी बजारमा विभिन्न नयाँ औषधि आउँदै गए। जीवनशैलीमा परिवर्तन हुँदै गयो। यसले गर्दा नेपालमा पनि ३ वर्षीय डिप्लोमा इन फार्मेसी भनेर कोर्सको विकास गरियो। २०५९/६० मा जब सिटीभीइटीले यो कोर्षलाई लिन थाल्यो।
त्यो समय सोचाइ यस्तो निर्माण भयो कि आम मानिसको डाक्टर भनेकै सिएमए पढेका हुन। स्वास्थचौकीमा काम गर्ने हुन् भन्ने भयो। त्यसपछि बिस्तारै फार्मेसी कलेजहरु पनि खुल्न थाले र फर्मासिष्टहरुले काम गर्न थाले। पछिल्लो समय स्वास्थ क्षेत्रमा फर्मासिष्टको राम्रो भूमिका रहेको देख्न सकिन्छ। सुदूरपश्चिममै पनि हेर्ने हो भने फार्मेसी व्यवसाय गरेर पनि लगभग हामी ५/६ सय जना काम गरिरहेका छौँ।
अबको समयमा औषधि भनेको के हो ? यो औषधि कसरी प्रयोग गर्ने ? त्यत्तिकै खान त मिलेन, कस्तो प्रयोग त्यसको बजारमा भइरहेको छ ? कसले औषधि दिइरहेको छ ? यसलाई एकदम मध्यनजर गर्नुपर्ने भइरहेको छ। किनकी फार्मेसी भनेको एउटा त हेल्थसंँग जोडिएको विषय भयो, अर्को व्यवसायको कुरा भयो। व्यवसायतिर जोडिएपछि यसले केही विकृतिहरु भित्र्याउँदो रहेछ। फेरि नेपाल सरकारले पनि जनशक्ति त निर्माण गरिदियो तर त्यसलाई व्यवस्थापन कहाँ गर्ने भन्ने कुरा हेरिदिएन। अबको समयमा सरकारहरु स्थानीय, प्रदेश र संघीय भएपछि एउटा यसलाई सम्बोधन गरिने खाले नीति आउनुपर्छ, आउँछ होला।
फार्मासिष्ट भनेका चाहिँ को हुन् ?
फार्मासिष्ट भनेको चाहिँ औषधि मात्रै बेच्ने हो भन्ने छ धेरैमा। अब यो भुलेर जानुपर्छ भन्ने लाग्छ। फर्मासिष्ट भनेको त औषधि विज्ञ हो। औषधि विज्ञ भनेपछि यसमा के पर्यो त भन्दा औषधि कसरी बन्छ ? बनिसकेको औषधि बजारमा कसरी आउँछ ? औषधि बजारमा आइसकेपछि कसरी त्यसलाई भण्डारण गर्ने ? आदि कुरा जो एउटा फार्मासिष्टले जानकारी राख्छ। धेरै औषधि यस्ता हुन्छन् जसका लागि कस्तो तापक्रम चाहिन्छन् लगायतका कुरामा ध्यान पुर्याउनुपर्छ। फेरि डाक्टरले औषधि तोकिदिएपछि बिरामीलाई बुझाउने आदि भूमिका पनि फार्मासिष्टकै हुन्छ। हाम्रो जस्तो विकासउन्मुख देशमा के छ भने डाक्टरले भनेको सबै कुरा बिरामीले बुझ्नसक्ने स्थिति छैन। यसैले डाक्टर, बिरामी र फार्मासिष्ट तिनैको समन्वय बनाउन सकियो भने अनि औषधिको प्रभावकारी प्रयोग हुन्छ।
तपाईंहरुको जहाँ औषधि त्यहाँ फार्मासिष्ट भन्ने अभियान चाहिँ के हो ?
औषधि भनेको त क्यामिकल हो। जसले एउटा रोग निको त पार्छ तर अरु असर पनि पार्न सक्छ। यसका लागि औषधि विज्ञको सल्लाह चाहिन्छ। फेरि डाक्टरले सबै कुरा बिरामीलाई भन्नसक्ने स्थिति हुँदैन त्यसैले बिरामीसँगको समन्वयको लागि पनि फार्मासिष्टको आवश्यकता पर्ने हुन्छ। त्यसैले फार्मेसीहरुमा त फार्मासिष्ट छन् तर अस्पताल आदि ठाउँहरु जहाँ औषधि बिक्री हुन्छन् त्यहाँ फार्मासिष्ट हुनुपर्याे भन्ने हो।
फार्मेसी पढ्ने, लाइसेन्स बेच्ने भनेर सुनिन्छ। यो के हो ?
सहायक फार्मेसी अर्थात ३ बर्षे फार्मेसी पढी सकेपछि नेपाल फार्मेसी संघले एउटा प्रमाणपत्र दिने भन्ने छ। त्यसलाई नै लाइसेन्स भनिन्छ। त्यो प्राप्त गरिसकेपछि भाडामा दिनको लागि त होइन। अब तीन वर्ष पढीसक्यो, यसमा विज्ञता भयो, बिरामीलाई सम्झाउन सक्छ भनेर नेपाल सरकारले दिएको प्रमाणपत्र न हो। तर त्यो भाडामा दिने गरिएको समाचारहरु आइरहन्छन्। त्यो एउटा विकृति हो।