‘विदेश, समुद्री तटमा गएर सेल्फी खिचेर फेसबुकमा हाले जस्तो छैन’
धनगढी : व्यवसायी धर्मराज जोशीसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
तपाईले कस्तो किसिमको व्यवसाय सुरु गर्नुभएको छ ?
विगत एक दुई वर्ष यता कोरोना निकै बढेको थियो। यसका बाबजुद पनि नेपाल फर्केर केही गर्नुपर्छ भनेर १० वर्षको कोरियाको बसाईलाई बिट मार्दै नेपाल आएको थिए। नेपाल आएको पनि लगभग ११ महिना भइसकेको छ। नेपाल फर्कने बित्तिकै म भन्दा अग्रज जोसँग बिदेशको बसाइको बेला समाजका विभिन्न कार्यको लागि सहकार्य गरेको थिए। उहाँहरुसँग नेपालमा पनि सहकार्य गर्नुपर्छ भनेर एउटा सहकारी खोल्न पुग्यौं। अग्रज साथीहरू, केही जुनियर भाईहरुको सहकार्यमा कोरियाबाट फर्केका हामिहरु मिलेर सुरु गर्याै।
सहकारी खोलेपछि हाम्रो भेट बाक्लिदै गयो र केही नयाँ गरौँन भन्ने किसिमले छलफल अगाडी बढ्न थाले। त्यहीँ नयाँ गरौं न त भन्ने क्रममा नै एउटा गार्मेन्ट उद्योग वास प्लान्ट सहितको खोल्ने भन्नेमा पुग्यौं। यदि स्थिति सामान्य नै रह्यो भने यहीँ घटस्थापनाको दिन उद्घाटन गर्ने तयारी पनि छ। यो बीचमा अहिलेसम्मको समयावधिमा मैले कोरियामा सिकेको काम, देखेको होमडेकोरेटको काम पनि धनगढीमा सुरु गरेको थिए। पहिलो, औपचारिकरुपमा नै दर्ता गरेर होम डेकुरेटको काम गरेको मैले नै हो।
देश फर्केर फरक किसिमको व्यवसाय गर्न खोजिरहनु भएको छ। कस्तो किसिमको अनुभूति बटुल्नुभयो यो ११ महिनामा ?
देश बाहिर बस्दा धेरै कुरा सिक्ने अवसर पाए। आर्थिक रुपमा पनि पहिला भन्दा केही मजबुत भइयो। अहिलेको समयमा विदेश जानेको एकदम लहलहै छ, लाइन छ। बिदेश जानु गलत हो त म भन्दैन। एकदमै बिदेश नै जानु हुँदैन नेपालमा मात्रै गर्नुपर्छ त म भन्दिनँ। तर हातमा सीप लिएर विदेश गयो भने विदेशको बसाई पनि सफल हुनेछ। नत्र त फलानो विदेश गयो राम्रो कमाएर र सीप लिएर देश फर्क्यो भन्ने किसिमले मात्रै विदेश गइयो भने कुनै बेला भाग्यले त कुनै बेला क्षमता अभावले दुःख पाइन्छ। हामीले देखेका छौ कति त राम्रो पनि रहेका र कति को चाहिँ हामीले नै टिकट काटेर देश पठाएका छौँ। विदेश जानु मात्रै ठुलो कुरा होइन भिसा पाउनु मात्रै ठुलो कुरा होइन। तपाईंभित्र कतिको आत्मविश्वास बढीरहेको छ त्यसको मुल्यांकन गर्नु नै पर्छ भन्छु।
नेपाल फर्केर जुन मैले व्यवसाय गरिरहेको छु यसले मलाई जुन विदेशमा छदा लागथ्यो अर्काको देशमा कतिन्जेल गर्ने हो। फेरि काम जे भएपनि श्रमिक भएर गर्नुपर्ने भन्ने लाग्थ्यो। त्यसलाई केही शान्त महसुस गरेको छ। विदेश हप्तामा एक दिन समुद्र तटमा गएर र ठुलो पार्कमा गएर सेल्फी खिचेर फेसबुकमा हाले जस्तो पक्कै छैन। तर, एउटा कुरा के चाहिँ हो भने इमानदारीताका साथ कर्म गर्न भने विदेशले सिकाउँछ। नेपाल आएपछि पनि इमानदारीसाथ काम गर्नुपर्छ भन्ने उर्जा विदेशको बसाईले दिन्छ। नेपालमा नै केही गर्छु भनेर आएका फेरि फर्केका पनि धेरै छन्। उनीहरु देख्दा दुःख पनि लाग्छ। नेपालमा गर्न चाहिँ गाह्रो नै छ। अहिले हामी हार्डवरको व्यवसाय गरिरहेका छौ। हामी सबै बिलिङ अन्लाइनबाट नै गरिरहेका छौँ।
हामी एक चिया सम्म पनि अन्डर्विल गर्दैनौँ कारण हाम्रो समाज र राष्ट्रसँग हामी पारदर्शी भएर काम गर्न चाहन्छौं। यसले यति गार्हो भएको छ कि तपाईं कल्पना पनि गर्न सक्नु हुन्न। मैले १० वर्ष कोरियाको बसाईमा यहाँको जस्तो लुटेको अनुभव कहिल्यै गरिन तर यहाँ हरेक पाइलामा लुटिरहेको महसुस हुन्छ। यसले नयाँ केही गर्न चाहनेलाई असहज त गर्छ। तर यदि गर्न चाहने हो भने असम्भव केही पनि छैन।
यसो हेर्ने हो भने विश्वमै नेपालमा सबैभन्दा बढी स्टार्ट अप बिजनेसहरु सफल हुन्छन् जस्तो लाग्छ। किनकी यहाँ जे गर्यो सबै नयाँ छ। नयाँ भयो भने त सफल भै हाल्यो। त्यसैले मैले अहिलेसम्मको अनुभवमा गाह्रो पनि देखे र सम्भावना पनि। यदि दृढ़ संकल्प लिएर इमानदार भएर काम गर्ने हो भने यहाँ सफल भइन्छ भन्ने लाग्छ।
विदेशबाट फर्केर नेपालमा व्यवसाय गर्न चाहने हर कोहीले के चाहिँ गर्नैपर्छ र के चाहिँ गर्नु नै हुँदैन भन्ने लाग्छ ?
हाम्रो दक्षिण एसियाली मुलुकहरुमा हाइफाईमा नै मान्छे रुमलिरहेका पाइन्छन्। सुरुसुरुमा होमडेकुरेटको काम सुरु गर्दै गर्दा काम गर्ने केटाहरुलाई वालपेपर लाउन आउँदैन थियो। म आफै गएर वालपेपर लगाउथे। एक दिन एकजना सभ्य मान्छेको घरमा पहिला केटाहरूले वालपेपर लगाए उहाँहरुले बिगारेछन्। पछि वालपेपर लगाउन हाप पोइन्ट म गए। म जाँदा ती मान्छेले ‘तपाइँ आफै लगाउने यो अल्लि सुहाएन है’ भन्नुभयो।
यत्ती भन्दा न गरिरहेका हर कोहिको मनमा चिसो पस्छ तर मैले भने उर्जाको रुपमा लिए। सबैले यसरी नै यो चिर्ने अवसर हो भन्ने बुझेर यसलाई चिर्ने प्रयास गर्नै पर्छ। अरु चाहिँ काम आफैले सुरुवात गर्नुपर्छ। म त बाहिरबाट आएको यस्तो किसिमको कुरा चाहिँ गर्नै हुँदैन। अर्को गर्नै न हुने भनेको हाइफाइमा रमाउने काम।
नयाँ उद्यम गर्नेहरुका लागि सुदूरपश्चिममा के चुनौती देख्नुहुन्छ ?
चुनौती त हरेक पक्षका छन् जस्तो राजनीतिक अस्थिरता, भौगोलिक रुपले पनि थोरै चुनौती नै छ भने त्यस्तै तेस्रो चुनौती भनेको यहाँको मान्छेको सोच। यदि मानौँ हामी बजारमा उल्का गार्मेन्टको कपडा र लिभाइजको कपडा छान्न दियो भने लिभाइजको कपडा छान्छौ कारण लिभाइज सुनेको आधारमा किन्छौ। त्यसमा के राम्रो छ भनेर होइन। जस्तो म आफैले एडिडासको जुत्ता सुनेकै आधारमा किनेको न हो राम्रो न राम्रोमा म जाँदै गइन यहि सोच नै नयाँ उद्यमीको लागि चुनौती हो भन्ने लाग्छ।