सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मानव-चितुवा द्वन्दः अवस्था, कारण र व्यवस्थापनका उपायहरु

२०७८ असोज ११, ०४:२४

-केशव पराजुली
नेपाल लगायत दक्षिण एसियाली देशहरुमा वढ्दो मानव(चितुवा द्वन्द वन्यजन्तु संरक्षणको क्षेत्रमा एक चिन्ता र चासोको विषय भएको छ। मानव र चितुवा बीचको द्वन्दको कारण एकातिर स्थानीय बासिन्दाका वस्तुभाउ र जीवन जोखिममा पर्ने गरेको छ भने, अर्काेतिर प्रकृतिको उपहार यो सुन्दर वन्यजन्तु पनि प्रतिशोधमा परेर प्रताडित हुनुका साथै कतिपय अवस्थामा मारिने वा गम्भिर घाइते हुने गरेका घटनाहरु वारम्बर सुनिने गरेका छन्। नेपालमा चितुवाको अत्यधिक प्रकोप रहेका जिल्लाहरुमध्ये सुदूरपश्चिम प्रदेशको मध्यपहाडी क्षेत्रमा अवस्थित वैतडी जिल्ला सम्भवतः अग्रपङ्तिमा आउँछ, जहाँ विगत १० वर्षमा २५ जना मानिसहरुको चितुवाको आक्रमणमा परेर ज्यान गइसकेको र अन्य कैयौं व्यक्तिहरु घाइते भएका छन्। 

चितुवा कस्तो जनावर हो ?
बिरालो परिवारभित्र पर्ने चितुवा हेर्दा आकर्षक र सुन्दर देखिन्छ। यसको शरीरभरि छालामा पहेँलो भुइँमा कालो थोप्लाहरु हुन्छन्। यसको घाँटी, छाती, पेट र पछिल्लो खुट्टाको भित्री भागमा सेतो भुइँमा कालो थोप्ला हुन्छन्। विश्वमा चितुवाका कूल ९ प्रजातिहरु पाईन्छन्। नेपालमा फेलिडाय परिवार अन्तर्गतका ध्वाँसे चितुवा वा क्लाउडेड लियोपर्ड, हिउँचितुवा वा स्नो लियोपर्ड र साधारण/थोप्ले गरी तीन किसिमका चितुवाका प्रजातिहरु पाइन्छ। यिनीहरुमध्ये थोप्ले चितुवा सबै किसिमको हावापानीमा बाँच्न सक्ने हुनाले नेपालका प्रायः सबै क्षेत्रमा पाइन्छ। यसलाई बोलिचालिको भाषामा बाघ, किरो पनि भन्ने चलन छ। नेपालमा थोप्ले चितुवालाई संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरिएको छैन। एउटा वयस्क भाले चितुवाको शरीरको लम्बाई सरदर २.१५ मिटर र तौल ५२ के.जी. सम्म हुन्छ भने पोथी चितुवा लगभग २ मिटर लामो र ३९ के.जी. सम्म तौल भएको हुन्छ। सामान्यतया तीन वर्षको उमेरमा वयस्क हुने चितुवाले एकपटकमा २ देखि ३ वटा बच्चा जन्माउने गर्दछ। यसको बच्चा जन्मदा आँखा नदेख्ने हुन्छन् र १५ देखि २० वर्षको उमेरसम्म बाँच्ने गर्दछन्।

शारीरिक दृष्टिले बाघभन्दा केही सानो भएतापनि चितुवालाई बाठो जनावरको रुपमा लिइन्छ। पाटेबाघ जस्तै यो पनि जङ्गलमा एक्लै विचरण गर्छ। चितुवा तीव्र गतिमा दौडनका साथै नदीमा पौडन पनि सक्छ।  यो जनावर रुख चढ्न र हामफाल्न पनि सिपालु हुन्छ। चितुवाले प्रसस्त आहार प्रजातिका जनावरहरु भएको जङ्गलका साथै झाडी र बुट्यान भएको गाउँ छेउको जङ्गललाई आफ्नो मुख्य बासस्थानका रुपमा प्रयोग गरेको पाइन्छ। जङ्गलमा यसको मुख्य शत्रु शिकारी बाघ भएकाले पनि यसले जङ्गलको किनार क्षेत्र वा गाउँ नजिकको जङ्गल क्षेत्रमा बस्न मन पराउँछ। चितुवाले मुख्य आहारको रुपमा मृग, बाँदर, दुम्सी, मुसा, वनकुखुरा जस्ता ठूला साना सबै किसिमका जनावर मारेर खाने गर्छ। गाउँ नजिकको जङ्गलमा बस्ने हुनाले यसले गाईगोरु, भेडाबाख्रा, बंगुर, कुकुर जस्ता घरपालुवा जनावर मारेर खानुका साथै कहिलेकाहीँ मानिसलाई पनि हानी पुर्‍याउने गर्छ। आफूभन्दा दोब्बर तौल भएको शिकार बोकेर यो सजिलै रुख चढ्न सक्छ र प्रायः रुखमा बसेर शिकार खान्छ।

बैतडी जिल्लामा मानव-चितुवा द्वन्दको अवस्था
चितुवाको प्रकोप बैतडी जिल्लामा मात्र नभई सिमाना जोडिएको भारतको उत्तराखण्ड राज्यमा पर्ने पिथोरागढ जिल्लामा समेत उत्तिकै रहेको छ। स्थानीय वासिन्दाहरुका अनुसार पछिल्लो समयमा पिथोरागढ बजार आसपासमा चितुवाको आक्रमणबाट ४ जना मानिसको मृत्यु भइसकेको छ। यो जनावर दिउँसै पनि बाटोघाटोमा भेटिने गरेको कुरा पिथोरागढ(झुलाघाट सडकखण्डका सवारीचालकहरुले बताउने गर्दछन्। भारतको राष्ट्रिय जैविक विविधता रणनीतिमा उल्लिखित एक तथ्यांक अनुसार गढवालको पाउरी जिल्लामा सन् १९८८ देखि २००० सम्म १२ वर्षको अवधिमा १४१ जना मानिसलाई चितुवाले मारेको थियो, जसमध्ये अधिकांश मृतकहरु नेपालको वैतडी जिल्लामा जस्तै वालवालिका तथा महिलाहरु रहेका थिए। 

बैतडीको मात्र पछिल्लो दश वर्षको तथ्यांक हेर्दा प्रतिवर्ष औषतमा २.५ जना (१० वर्षमा कूल २५ जना) मानिसको मृत्यू चितुवाको आक्रमणबाट भएको देखिन्छ र यसरी मर्ने मानिसहरुमा १४ वर्ष मुनिका बालबालिकाको संख्या ८० प्रतिशत रहेको छ भने सो माथिका मानिसहरुको संख्या २० प्रतिशत मात्र रहेको देखिन्छ। लैङ्गिक आधारमा हेर्ने हो भने मृतकहरुमा बालिका तथा महिलाहरु ६० प्रतिशत र वालक तथा पुरुषको संख्या ४० प्रतिशत रहेको छ।

बैतडी जिल्लाको हकमा हेर्दा सरकारले राहत तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउने प्रावधान लागूगरे पश्चात मात्र चितुवाबाट भएको क्षतिको व्यवस्थित तथ्यांक उपलब्ध भएको कारण सो समय भन्दा अगाडीको आधिकारिक तथ्यांक उपलब्ध हुन नसकेता पनि विस २०६८ मा चितुवाको आक्रमणबाट ६ जनाको र २०६९ सालमा १० जनाको ज्यान गएको देखिन्छ, तर यस पछाडिका वर्षहरुमा चितुवाको आक्रमणमा परि मृत्यू हुनेहरुको संख्या धेरै घटेको छ। आव २०७१ र २०७२ सालमा चितुवाको आक्रमणबाट भएको मृत्यूको संख्या शुन्य थियो भने २०७६ सालमा २ जनाको मृत्यू भए पश्चात गत वर्ष २०७७ सालमा भने चितुवाको आक्रमणमा परेर वैतडी जिल्लामा कसैले पनि ज्यान गुमाउनु परेको अवस्था छैन। 

अर्काेतर्फ चितुवाको मृत्यू भएको तथ्यांक हेर्दा विस २०७४ सालबाट हालसम्म १० वटा विभिन्न उमेर सूहका चितुवाहरुको मृत्यु भएको देखिएको छ। यसरी मृत्यू भएका चितुवाहरुमा प्राकृतिक कारणबाट ३ वटा, पासोमा परेर ५ वटा र चोटपटकको कारणले  २ वटाको मृत्यु भएको छ। यसरी उपरोक्त दुवै तथ्यांक हेर्दा बैतडी जिल्लामा मानव चितुवाको द्वन्दको दर विगत वर्षहरुभन्दा केही घट्न गएको देखिन्छ। यसरी चितुवाको आक्रमणमा परी मानवीय क्षतिमा कमि आउनुको कारण डिभिजन वन कार्यालय लगायत अन्य सरोकारवालाहरुबाट संचालन भएको प्रचार प्रसार एवं सचेतनामूलक कार्यक्रमले समेत भूमिका खेलेको मान्न सकिन्छ। 

बैतडीमा हुने मानव(वन्यजन्तु द्वन्दका घटनाहरुमध्ये विशेष गरेर चितुवाको अत्यधिक प्रकोप जिल्लाको तल्लोसोराड क्षेत्र (मेलौली नपा, शिवनाथ गापा र पञ्चेश्वर गापा) मा बढी देखिँदै आएको छ। तर, हालैका वर्षहरुमा यसरी चितुवाको प्रकोप जिल्लाका अन्य स्थानीय तहहरु जस्तै दशरथचन्द नगरपालिका, पाटन नगरपालिका तथा पुर्चौडी नगरपालिकाहरुमा समेत फाटफुट रुपमा देखिएको छ। छिमेकी मित्रराष्ट्र भारतमा जस्तै बैतडी जिल्लामा पनि चितुवाले विशेषगरी महिला तथा केटाकेटीहरुलाई नै वढि मात्रामा आक्रमण गरी घाईते वनाउने र ज्यानै सम्म लिने गरेको छ। 

घटनाहरु हुने समयको आधारमा हेर्दा चितुवाको आक्रमण बिहान सबैरै झिसमिसे उज्यालोमा तथा साँझको समयमा वढि हुने गरेको छ। यसरी हेर्दा चितुवाले मौकापरस्त हिसावले लुकेर आई उसको अनुकूल समयमा मानिस तथा वस्तुभाउहरुलाई आक्रमण गर्ने प्रवृत्ती देखिएको छ। मानव(चितुवा द्वन्दको चपेटामा परेर चितुवाको पनि मृत्यू भएका घटनाहरु उजागर हुने गरेका छन्। कतिपय अवस्थामा स्थानीय कृषकहरुले वनेल तथा दुम्सीबाट बालिनाली जोगाउनको लागि थापेको पासोमा चितुवा पर्नगई घाइते वा मृत्यु हुने गरेको भनि स्थानीय वासिन्दाहरुले बताउने गरेका छन्। 

चितुवाले आक्रमण गर्ने वा गर्नसक्ने अवस्थाहरुको मूल्यांकन गर्दा सामान्यतः सानो बच्चा साथमा भएको अवस्थामा, बुढो वा घाइते भई शिकार गर्न अशक्त भएको अवस्थामा, शिकारको समय वा खाइरहेको वा बच्चालाई खुवाइरहेको बेलामा अचानक मानिस पुगेमा वा खलल पुर्‍याएमा, अचानक जम्काभेट हुँदा चितुवाले भाग्ने ठाउँ वा मौका नपाएमा, रुखमा आराम गरिरहेको बेला मानिस पुगेर हल्ला गरेमा वा जिस्क्याएमा, जङ्गलमा आहारा कम भएको अवस्थामा, विभिन्न कारणले नरभक्षी भएको अवस्थामा, अचानक बाटो बिराई गाउँ, सहर वा बस्ती पसेको अवस्थामा र कहिलेकाहिँ भोको चितुवाले आफ्नो सिनो नभेटेको आदि अवस्थमा समेत मानिसलाई आक्रमण गर्ने गरेको पाईन्छ। 

चितुवा रुख चढ्न सक्ने भएकाले नरभक्षी भएको अवस्थामा यसले रुखमा लुकेर बस्छ र मान्छेलाई झम्टन्छ। साँझ परेपछि भाँडा माझ्ने ठाउँ वा पँधेरा समेत कुरेर बस्छ। यो धुरीबाट र कमजोर र राम्ररी वन्द नगरेको झ्याल ढोकाबाट पनि घरभित्र पस्छ। वैतडी जिल्लाको तल्लो स्वराड क्षेत्रमा ३ वर्ष अगाडी घरको ढोका र झ्यालबाट समेत मानिस तानेको (आक्रमण गरेको) घटना स्मरणमा अझै ताजा रहेको स्थानीय व्यक्तिहरले वताउने गरेका छन्। यो जनावार जङ्गलको छेउछाउमा बस्ने हुँदा साँझ परेपछि कुकुर, बाख्रा, बङ्गुर वा अन्य घरपालुवा जनावर मार्न गाउँ पस्छ र यस्तो अवस्थामा यसले साना केटाकेटी वा ठूलै मान्छेलाई भेट्यो भने पनि आक्रमण गर्छ। यसले मान्छेलाई आक्रमण गर्ने तरिका बाघले आक्रमण गर्ने तरिकासँग मिल्दोजुल्दो छ। चितुवा बुढो वा अशक्त भएपछि मान्छेलाई आक्रमण गर्ने धेरै खतरा हुन्छ। साथमा बच्चा भएको पोथी अझै बढी आक्रामक हुन्छे। यद्यपी चितुवाले पनि बाघले झै नरभक्षी नहुन्जेल प्रायः मान्छेलाई आक्रमण गर्दैन।

मानव चितुवा द्वन्दको कारण

यस क्षेत्रमा इतिहासको लामो कालखण्डमा मानवको वसोवास वन क्षेत्र र त्यसका आसपासमा नै सुरु भएको र केही मात्रामा मानव(वन्यजन्तु वीचको द्वन्द त्यही वेलादेखि नै सुरु भएको मानिन्छ।  विगत वर्षहरुमा वासस्थान विनासका कारण यो वन्यजन्तुको सङ्ख्यामा कमी आएको भए तापनि विगत तीन दशक यता जिल्लामा सामुदायिक वन विकासका कारण वासस्थानको सुधार हुनगई यसको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ। वासस्थानको संरक्षण भएता पनि विगत केही वर्षहरु यता विभिन्न विकास पूर्वाधार निर्माणको नाममा यसको वासस्थानमा खलल पुग्न गएको साथै यो मांशहारी जनावारको संख्यमा भएको वृद्धि अनुरुप चाहिँदो आहार प्रजातिहरु (खरायो, मृग, बँदेल आदि) को अभावका कारण पनि गाउँघरमा पसेर मानिसका वस्तुभाउ तथा धेरैजसो महिला केटाकेहीहरुलाई आक्रमण गर्ने गरेको हुन सक्ने केही स्थानीय जानिफकार मानिसहरुको भनाई रहेको पाइन्छ। 

मानव वन्यजन्तु द्वन्द वढ्नमा वन डढेलोको दर बढ्नु र मानिसमा बदलाको भावनाले पनि यदाकदा भूमिका खेलिरहेको देखिन्छ। अर्काेतर्फ पहाडबाट तराई लगायत अन्य सुविधाजनक स्थानमा मानिसहरुको वढ्दो बसाईसराईका कारण खेतीयोग्य जग्गाहरुमा समेत वनको विकास हुन गएको, वाँझो रहेको जग्गामा चितुवाहरु लुक्नसक्ने झाडीहरु वढेको कारण पनि गाउँघर तर्फ चितुवाको आकर्षण वढ्न गएको हुनसक्ने देखिन्छ। यसै सन्दर्भमा नारायण कोजुको अध्ययन समूहले २०७६ सालमा अघाँखाँचीमा जिल्लामा गरेको अध्ययनले एउटा रोचक निष्कर्ष निकालेको छ जो वैतडी जिल्लाको सन्दर्भमा समेत मिल्ने देखिन्छ। अध्ययनको निष्कर्षमा भनिएको छ कि, उक्त क्षेत्रमा जथाभावी सडक निर्माणको कारण जंगलको खण्डीकरण भएको र यसबाट चितुवाको आहारा प्रजातिको संख्या घट्न गएको, वैदेशिक रोजगारीको कारण गाउँमा गाईवस्तु पाल्ने र खेतिपाती गर्ने कार्यमा कमी आएको कारण झाडी बुट्यान वढ्न जाँदा चितुवालाई लुक्ने ठाउँ घरनजिकै उपलब्ध हुन गएको लगायतका कारणहरुले गर्दा चितुवा मानव वस्तिमा पसेका र वस्तुभाउ कमी हुँदा मानवलाई नै आक्रमण गर्ने गरेको देखिन्छ।

केही स्थानीयहरुको भनाईमा तल्लो स्वराड क्षेत्र भएर बग्ने सुर्नया गाढ (खोला) तथा महाकाली नदिमा मानिसको लाश जलाउँदा कतिपय अवस्थामा राम्ररी नजलेका लाशका भागहरु त्यसै छाडिदिँदा उक्त टुक्राहरु चितुवाले खाने र त्यसको स्वादमा पल्केर नरभक्षी भएर मानिसलाई आक्रमण गरी मार्ने वा घाईते वनाउनेक्रम वढ्न गएको हो भनेर वताउने गरेका छन्। यस्तै देवी रिसाएको कारणले चितुवाले मानव तथा चौपायाहरुलाई आक्रमण गर्ने घटना वढ्न गएको हो भनेर विश्वास गर्नेस्थानीय व्यक्तिहरु समेत गाउँघरमा भेटिने गर्दछन्। यद्यपी यस्ता भनाइहरुको वैज्ञानिक अध्ययन अनुसन्धान भई तथ्यबाट पुष्टि भने हुन सकेको छैन वा यस तर्फ अध्ययन नै भएको छैन।

मानव चितुवा द्वन्दको न्यूनीकरण र बैतडीमा भए गरेका प्रयासहरु
सैद्धान्तिक रुपमा भनिन्छ कि मानव-वन्यजन्तु द्वन्दलाई शुन्यमा झार्न सकिँदैन। यद्यपी, केही सावधानीका उपयाहरु अपनाएमा चितुवाको आक्रमणबाट बच्न र अरुलाई पनिबचाउन सकिन्छ। यसको लागि वन  जङ्गलमा हिडदा चितुवाको पाइला वा गन्ध याद गर्ने, ताजा पाइला देख्नेबित्तिकै वा चितुवाको गन्ध थाहा पाउनसाथ सतर्क हुन आवश्यक देखिन्छ। अन्य जनावरको सङ्केत (चित्तल, बाँदर वा चराको आवाज) याद गर्ने किनकी चितुवा वा बाघ देख्दा यिनीहरु कराउने गर्छन्। चितुवासँग जम्काभेट हुँदा वा चितुवाबाट बच्न रुख चढ्नु हुँदैन किनभने चितुवा रुख चढ्न सिपालु हुन्छ र अग्लो, ठूलो रुख पनि सजिलै चढ्छ। चितुवासँग जम्काभेट भएको खण्डमा थपडी मारेर होहल्ला गरेर भगाउने प्रयास गर्न सकिन्छ। 

चितुवाको आक्रमणबाट बच्ने केही व्यवहारिक उपायहरुमा वनजङ्गलको छेउछाउ बस्ने मानिसहरुले आफ्नो घरको झ्यालढोका राम्ररी बन्द गर्ने, घरमा कुकुर पाल्ने, गाउँमा तितुवा प्रवेश गरेको थाहा पाएमा सवैजनालाई जानकारी गराएर सावधानीका उपायहरु अवलम्बन गर्ने गराउने, साँझमा घर बाहिर नबस्ने साथै राति घरबाट बाहिर निस्कनै परे सतर्क भएर होशियारीपूर्वक निस्कने, आफ्ना केटाकेटीलाई साँझ अबेरसम्म बाहिर खेल्न नदिने, रातको समयमा चहकिलो बत्तीको व्यवस्था गर्ने, वनजङ्गल छेउछाउमा बस्नेहरुले साँझ एक्लै हिँडडुल नगर्ने, वनजङ्गल जाँदा एक्लै नजाने र रँगीचँगी कपडा नलगाउने, नरभक्षी चितुवा भएको क्षेत्र वरिपरि बस्ने बासिन्दाले घरको वरिपरी अग्लो घाँस, झाडी, बुट्यान नराख्ने, चितुवाबाट घरपालुवा जनावरलाई बचाउन यसरी तारजारी लगाउने।  यस्तै दिसा पिसाब गर्न जङ्गलमा नजाने, चितुवाको शिकार नचलाउने आदि रहेका छन्। यस्ता यावत् सूरक्षका उपायहरु अपनाउँदा पनि नरभक्षी चितुवा गाउँघरमा पसेर आक्रमण गरेमा यथाशीघ्र वन कार्यालय वा स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी डार्टिङ (उपकरण सहितका वन्यजन्तु प्राविधिकहरुको सहयोगमा लठ्याउने वा बेहोस पार्ने) गरी स्थानान्तरण लगायतकका विधिहरुमार्फत् अल्पकालिन व्यवस्थापन गर्न गराउन सकिन्छ। 

चितुवाबाट बच्ने सावधानीका उपायहरु सम्बन्धी जानकारी प्रभावित समुदायका सम्पूर्ण व्यक्तिहरु विशेषगरि महिला तथा स्कूले केटाकेटीहरुमा हुन अत्यन्त जरुरी छ, किनकी उनीहरु नै चितुवाको आक्रमणमा वढी पर्ने गरेका छन्। यसको लागि विभिन्न माध्यम तथा विधीहरुबाट प्रभावकारी प्रचारप्रसारको महत्वपूर्ण भूमिका हुने कुरालाई दृष्टिगत गरी डिभिजन वन कार्यालयले विगत लामो समयबाट विभिन्न किसिमका कार्यक्रमहरु वार्षिक वजेटमा नै समावेश गरेर कार्यान्वयन गर्ने गरेको छ। यस्ता कार्यक्रमहरुमा सामुदायिक वन उपभोक्ता समूहहरुलाई सचेतना गोष्ठी एवं तालिम संचालन, विद्यालय शिक्षण कार्यक्रम, सडक नाटक, प्रचारप्रसार सामग्रीहरु जस्तै लिफलेट/ब्रोसर, पम्प्लेट, पोष्टर प्रकाशन तथा वितरण, स्थानीय एफ.एम. तथा पत्रपत्रिकाहरुमार्फत जनचेतनामूलक सन्देस प्रशासण, अध्ययन तथा अवलोकन भ्रमण, सूरक्षाकर्मीहरु सहितको गस्ति, क्याम्पिङ्ग तथा सर्च अपरेसन, फलाम तथा काठको खोर (केज)  वितरण गर्नुका साथै हालसम्म विद्युत नपुगेका चितुवा प्रभावित क्षेत्रहरुमा ३०७ थान सोलार सेट कार्यालयको तर्फबाट जडान गरिसकिएको छ। 

यसैगरी विस २०७६ साल चैत्र महिनामा वैतडीको मेलौली नपामा चितुवाको प्रकोप वढेको गुनासो प्राप्त भएपछि स्थानीय सामाग्री (काठ) बाट बनाइएको केज (खोर) मा परेको वयस्क चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष(चितवन) को सहयोगमा डार्टिङ्ग गरी स्थानान्तरण (ट्रान्सलोकेशन) गरिएको थियो, जसबाट उक्त तल्लो स्वराड क्षेत्रमा चितुवाको प्रकोपमा कमी आएको पाईएको छ। तर, यसरी स्थानान्तरण गरी समस्याको समाधान खोज्ने कुरालाई वन्यजन्तु व्यवस्थापनको क्षेत्रमा काम गर्ने केही विज्ञहरुले यो एक अल्पकालिन उपाय मात्र हो भनेर वताउने गरेको पाइन्छ। यसै गरी चितुवाको आक्रमणबाट घाईते भएका व्यक्तिहरु तथा मृतक परिवारहरुलाई नियमानुसार पाउने राहत सहयोग रकम डिभिजन वन कार्यालय, वैतडीले समय समयमा नियमानुसार उपलब्ध गराउँदै आएको छ।

भावी कार्यदिशा 
पारिस्थितिक प्रणाली (ईकोसिष्टम)लाई सन्तुलनमा राख्न यस चराचर जगतमा रहेका सम्पूर्ण प्राणी एवं वनस्पतिहरुको प्राकृतिक वासस्थानमा नै संरक्षण एवं व्यवस्थापन हुन जरुरी हुन्छ, जो हाम्रो जैविक विविधता संरक्षणको मुख्य अवधारणा नै हो। तर विडम्बना नै मान्नुपर्छ कि, मानव वन्यजन्तुबीचको द्वन्दले यस दिशामा अवरोध सिर्जना गरिरहेको छ। वन्यजन्तुको संरक्षण, व्यवस्थापन तथा मानव(वन्यजन्तु द्वन्द न्यूनीकरणमा नेपाल सरकारले विभिन्न नीतिगत, कानूनी तथा संरचनागत व्यवस्थाहरु गरेको छ, तर सो अनुरुप आशातित प्रतिफल भने प्राप्त गर्न सकेको देखिँदैन। 

यसको लागि सम्पूर्ण सरोकारवालाहरुको समन्वयान्मक प्रयत्न जरुरी देखिन्छ। वन कार्यालयहरु, सामुदायिक वन उपभोक्ता समूहहरु, स्थानीय तहहरु, राजनीतिक दलहरु तथा सरकारी तथा गैरसरकारी निकायहरुबीच साझा अवधारणा तथा कार्यक्रम वनाई सहकार्य गरी अगाडी वढ्न जरुरी देखिन्छ। वन ऐन २०७६ ले सामुदायिक वन उपभोक्ता समूहहरुको कोषको रकम मानव-वन्यजन्तु द्वन्द व्यवस्थापनमा समेत खर्च गर्न सक्ने व्यवस्था गरेको छ। यसको लागि सामुदायिक वन उपभोक्ता समूहहरुको विधान तथा वन कार्ययोजना संशोधन गरेर मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी प्रावधानहरु राखी स्थान विशेष अनुसारका विभिन्न कृयाकलापहरु (जस्तै प्रचारप्रसार, क्षतिपूर्ति, राहत, उद्दार, तारबार वा घेरवार गर्ने आदि) संचालन गर्न जरुरी देखिएको छ। 

मानव(वन्यजन्तु द्वन्दलाई निमिट्यान्न पार्न असम्भव प्रायः छ तर यसको न्यूनीकरण तथा उचित व्यवस्थापन गर्न भने अवश्य सकिन्छ। सरकारी नीतिहरु प्रायः यस्ता द्वन्दका घटनाहमा सकभर कमी आओस भन्ने उद्देश्बाट निर्देशित रहेका देखिन्छन्। यसतर्फ राष्ट्रिय निकूञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ‌ संशोधन) ऐन, २०२९ तथा वन ऐन, २०७६ ले समेत केही नीतिगत एवं कानूनी व्यवस्था गरी सम्बोधन गर्ने प्रयास गरेको छ। यसमा एक प्रमुख नीतिगत व्यवस्थाको रुपमो वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ लाई कोषेढुंगाको रुपमा लिन सकिन्छ। सुरुमा आठ किसिमका वन्यजन्तुले गर्ने क्षतिका लागि अधिकतम डेढलाख रुपैंयाँ सम्म राहतको व्यवस्था भएकोमा २०७४ सालमा उक्त निर्देशिका संशोधन भई १४ किसिमका वन्यजन्तुहरुले गर्ने क्षति समेटेर मानवीय क्षतिको हकमा मृतकको परिवारलाइ १० लाख उपलब्ध गराउने व्यवस्था गर्नुका साथै घाईते तथा वालिनालीको क्षतिको लागि पनि तोकिएबमोजिमको राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ। यद्यपी मृत्यूको क्षतिलाई कुनै रकमले पूर्ति गर्न सकिने विषय होइन। विद्यमान व्यवस्था अन्तर्गगत प्रदान गरिने क्षतिपूर्तिको दायरा फरालिको पार्दै सरल र छोटो प्रकृयाबाट राहत सहयोग उपलब्ध गराउनु पर्ने देखिएको छ। 

वन्यजन्तु व्यवस्थापनमा एक सर्वमान्य वैज्ञानिक अवधारणा रहेको छ, जसले भन्छ कि, कुनैपनि वन्यजन्तुको वासस्थानको एक निश्चित ‘वहनक्षमता’ वा ‘यारिङ्ग क्यापासिटी’ हुन्छ, जसमा कुनै स्थानमा निश्चित समयमा कुनै निश्चित वन्यजन्तुको संख्या कति सम्म रहँदा उक्त क्षेत्रको सन्तुलन कायम हुन्छ र वन्यजन्तुहरुमा पनि खाना, आश्रय, विचरण, प्रजनन आदिको लागि कुनै समस्या नभई चर्को प्रतिस्पर्धाको सामना गर्नु पर्दैन। यही वैज्ञानिक तथ्यलाई मध्यनजर गरी केही विज्ञहरुले आगामी दिनमा कुन प्रजातिको अधिकतम संख्या कति सम्म कायम राख्ने हो ? सो निर्धारण गर्न आवश्यक भइएकेको छ भनेर सुझाव दिनु भएको देखिन्छ। 

चितुवाको हकमा हेर्ने हो भने पनि यसको संख्या वढ्न गएको तर सो अनुपातमा आहार प्रजातिहरु वढ्न नसकेको कारणले नै चितुवा वन क्षेत्र वाहिर आएको हो भन्नेकुरामा स्थानीयहरुको समेत मत्यैक्यता रहेको देखिन्छ। तसर्थ आगामी दिनमा कुनै पनि स्थानको ईकोलोजिकल क्यारिङ्ग क्यापासिटीको अध्ययन गरी कुनै अमुक वन क्षेत्रमा चितुवाको संख्या कति कायम राख्ने हो सो निक्र्यौल गर्ने र कार्यान्वयनमा लैजाने नीतिगत व्यवस्था हुन जरुरी देखिन्छ। यसै सन्दर्भमा स्मरणीय के छ भने, केही वर्ष पहिले राष्ट्रिय निकूञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालिन महानिर्देशक डा. कृष्ण प्रसाद आचार्यले पनि नेपालमा वन्यजन्तुको व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय स्तरमै प्रचलनमा रहेको सीमा तोक्ने कार्यलाई लागूगर्नु जरुरी देखिएको छ भनेर वताउनु भएको थियो। 

वन्यजन्तुलाई मानिस सँग डर नलाग्ने भन्ने होइन। यसरी हेर्दा चितुवा पनि चाहेर नै मानिसको सम्पर्कमा जाने र आक्रमण गर्ने होइन। कुनै पनि वन्यजन्तुलाई उसको स्वःस्थानमा नै संरक्षण गर्नु र यसको लागि उसको वासस्थान वा आश्रय स्थलको व्यवस्थापन गर्नु समाधानको प्रभावकारी र दिगो उपाय हो। मानव चितुवाबीचको द्वन्द्वको कारण र समाधानको विषयमा हेर्दा हामीले दुवै पक्षको व्यवाहारलाई ध्यान दिनु पर्ने हुन्छ। चितुवाको पक्षबाट हेर्ने हो भने यसको वासस्थान र आहार प्रजातिको व्यवस्थापन, क्यारिङ्ग क्यापासिटी र इकोलोजिक अध्ययन जस्ता पक्षहरु महत्वपूर्ण देखिन्छन्। 

मानव-चितुवाबीचको द्वन्दको सन्दर्भमा कुरागर्दा मानवको गतिविधि र अवस्थाका पनि धेरै कुराहरु पर्दछन्। प्रायः वनको नजिक वस्ने गरिव र विपन्न घर परिवारहरु नै हुन्छन् र उनीहरु नै वनमा बढी आश्रित पनि हुन्छन। उनीहरुको बस्ने घर पनि व्यवस्थित नहुने, काममा धेरै खट्नुपर्ने भएकोले बालबच्चाहरुको हेरचाहमा पनि पर्याप्त समय दिन नसकी एक्लै घरमा छाडेर काममा जानुपर्ने बाध्यताले गर्दा पनि बालबच्चाहरु वन्यजन्तुको मौकापरस्त आक्रमणको जोखिममा रहने सम्भावना वढी हुन्छ। बैतडी जिल्लाको हकमा पनि अधिकांश गरिव र विपन्न परिवारका बालबाललिकाहरु नै वढि मात्रामा आक्रमणमा परेको घटनाले पनि यो कुरालाई पुष्टि गर्दछ। 

यस्ता परिवारका महिला सदस्यहरु नै वनमा घाँस दाउरा गर्न वढि जाने, विहानै र साँझको समयमा पानी लिन एक्लै टाढा टाढा सम्म जानु पर्ने अवस्था विद्यमान रहेको छ। अर्काेतर्फ यस्ता समुदायमा चितुवाबाट कसरी वच्न सकिन्छ ? के कस्ता सावधानीका उपायहरु कसरी अपनाउने ? भन्ने जस्ता जानकारीको पनि अभाव रहेको देखिन्छ। यस्तो परिस्थितिले गर्दा पनि वालवालिका तथा महिलाहरु चितुवाको आक्रमणमा पर्नसक्ने सम्भावनालाई बढाएको देखिन्छ। 

तसर्थ मानव-चितुवा द्वन्दको व्यवस्थापनमा चितुवाको बासस्थान र आहारा प्रजातिको व्यवस्थापनको साथ साथै समुदायको सामाजिक आर्थिक परिवेश, बस्तीको फैलावट, वन जंगलको क्यारिङ्ग क्यापासिटी, वनको संरक्षण, व्यवस्थापन र उपयोग, वन्यजन्तु एवं मानिस दुवैको व्यवहार, उक्त स्थानको पारिस्थितिकीय प्रणालीका साथै समुदायमा रहेको लैगिँक व्यवहारका पक्षहरुलाई समेत समेटेर स्थानविशेषको वैज्ञानिक कार्यमूलक अध्ययन गरी प्राप्त नतिजाको आधारमा सम्पूर्ण सरोकारवालाहरु विशेषतः स्थानीय तहहरु, डिभिजन वन कार्यालय, स्थानीय प्रहरी प्रशासन तथा वन्यजन्तु व्यवस्थापनमा कार्यरत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाहरुको सकृय सहभागितामा ठोस नीति तथा पर्याप्त वजेटका साथ कार्यक्रमहरु तर्जूमा गरी स्थानीय समुदायहरुको समेत साथ सहयोग लिई प्राथमिकताका साथ कार्यान्वयन गर्न जरुरी देखिन्छ। 

(पराजुली विगत ३ वर्षदेखि डिभिजन वन कार्यालय बैतडीमा डिभिजनल वन अधिकृतको रुपमा कार्यरत छन्।)
 

कमेन्ट लोड गर्नुस