सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यासको सीमा पुग्यो तिंकर सडक

२०७५ मंसिर २३, ०९:१० नरेन्द्र कार्की

निर्माण सुरु भएको १० वर्षपछि दार्चुला तिंकर सडकले व्यासको सीमा क्षेत्र छोएको छ। महाकाली करिडोडर अन्तर्गत पर्ने दार्चुला तिंकर सडकले पछिल्लो समय विजयपूरभीरको ट्याक खोलेसँगै गति लिएपछि व्यास गाउँपालिकाको सीमा प्रवेश गरेको हो। झण्डै दुई महिना बढि समय खाएको विजयपूर भीर सडक खण्डको काम सकिएको छ। विजयपूर भीर सडकको ट्याक कटेसँगै तिंकर सडकले व्यास गाउँपालिकाको सीमा क्षेत्र तङ्ले भीरमा निर्माण थालेको हो। सदरमुकाम खलंगादेखिको जिरो प्वाइन्टबाट विजयपूरभीरसम्मको २८ किलोमिटर सडकको ट्याक खुलेको हो। पूरै क्षेत्रमा गाडी गुडाउन नसकिएपनि सडकको ट्याक खुलाइएको दार्चुला तिंकर सडकका इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए।
सदरमुकाम खलंगा भन्दा माथिल्लो उत्तरी क्षेत्रको अन्तिम गाउँपालिकाको रुपमा रहेको व्यास गाउँपालिकाको केन्द्र सुनसेरासम्म आगामी दुई महिनाभित्र सडक पुर्याउने गरी काम भइरहेको महालक्ष्मी कन्ट्रक्सनका प्रतिनिधि बालमुकन्द नेपालले जानकारी दिए। अहिले तिंकर सडकको तङ्ले भीरको ट्याक खुलाउने काम भइरहेको छ, नेपालले भने, प्राविधिक रुपमा समस्या नआए १५ देखि २० दिनमा सडक खुल्छ।

शुक्रबार सडक खुलाउने क्रममा तङ्ले भीरको मध्ये क्षेत्रमा पहिरो गएको कारण समस्या आएको छ। अहिले निर्माण व्यवसायीले सार्वजनिक सूचना आह्वान गर्दै १५ दिनसम्म तङ्ले भीर सडक क्षेत्रमा आवतजावतमा रोक लगाएको निर्माण व्यवसायीले जनाएको छ। मेसिन विग्रिएन र एक ठाउँमा जमिनको मुआब्जा विवाद समाधान भए दुई महिनाभित्र सुनसेरासम्म सडक पुर्याउन सकिन्छ, नेपालले बताए। तङ्ले भीरपछि नाजी भीर, सुनसेरा र धौलाकोट क्षेत्रमा थोरै समय लाग्न सक्छ। औषतमा अरु क्षेत्रमा सडक काट्न समस्या छैन्। उनले भने। अहिले सडकको काम दैनिक भइरहेको कारण स्थानीयवासी पनि ढिलै भएपनि चैत्रभित्र सुनसेरासम्म गाडी पुग्नेमा ढुक्क छन्। दुहुँ गाउँपालिकासम्म गाडी गुड्न थालेको छ, चैत्र भित्र सुनसेरासम्म सडक पुग्यो भने, व्यास बासीले पनि गाडी चढ्ने सपना पूरा हुने दिन टाढा छैन्, व्यास गाउँपालिका ४ सुनसेराका ५५ वर्षीया कमलापती भट्टले भनीन्। कच्ची सडक भएपनि आफ्नो देशकै बाटो भएर यात्रा गर्न पाईनेमा उनि ढुक्क छन्। उनले सडक निर्माणले अहिलेको अवस्थामा काम गर्नमा स्थानीय सरकार, जनप्रतिनिधि र कार्यालयले सहयोग गर्नुपर्ने बताईन्। सडक नहुँदा अहिलेसम्म भारतीय भूमि भएर यात्रा गर्नुपरेको छ।  एनले भनिन, अर्काको देशमा गएर गाडी चढ्नुपर्दा डोट्याल भनेर हेप्छन्, त्यो भन्दा आफ्नै भूमी भएर आव–जावत गरौला भन्ने सोचाई छ।
सुनसेरासम्म सकेसम्म दुई महिना भित्रै सडक पुर्याउने गरी काम भैरहेको आयोजनाले बताएका् छ। सबै भन्दा बढि राताकाठा र विजयपूर भीर खण्डमा समय लाग्यो। अब तङ्ले भीर भन्दा माथिको व्यास गाउँपालिका क्षेत्रमा धेरै समय नलाग्ने बिस्वास छ।
झण्डै अढाई सय मिटर लम्बाइ रहेको विजयपूर भीर सडकको ट्याक खुलाउन ठेक्को अवधिको हिसाबमा चार वर्ष समय लागेको हो। विगतमा विष्फोटक पदार्थ अभाव र निर्माण व्यवसायीको लार्पावाहिको कारण पनि केहि ढिलाई हुन गयो। अहिले स्थानीय सरकार, जनप्रतिनिधिको निरन्तर पहल र दबाबले निर्माण व्यवसायी पनि काम गर्न खोज्दैछन्। सडक सञ्जालमा नजोडिएको दार्चुलाको उत्तरी सीमाको व्यास गाउँपालिकाको केन्द्रसम्म मात्र गाडी पुर्याउन सकेपनि यहाँका नागरिकलाई धेरै राहत हुन्छ, व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताए। केन्द्रसम्म सडक जोडिने वित्तिकै व्यासका वडा नम्बर, ३, ४, ५ र ६ सडक सञ्जामा जोडिन्छन्।
गाउँपालिकाको केन्द्र भन्दा माथि दुई वटा गडा रहेका छन्। सडक नहुँदा गाउँपालिकाको विकासमै समस्या भएको भन्दै उनले भने,  सडक नपुगेसम्म जनताका अपेक्षित धेरै काम गर्न सकिदैन्। अहिले निरन्तर रुपमा सडक गाउँपालिका सम्म पुर्याउन पहल भइरहेको छ। यहाँका स्थानीय बासीको पहिलो प्राथमिकता भनेकै तिंकर सडक छ उहाँले भन्नुभयो, सडक नहुँदा महाकालीमाथि तुइनको प्रयोग गर्नुपर्ने अवस्था अन्त्य हुन्छ।
आर्थिक वर्ष २०६५-०६६ बाट सुरु भएको यो सडक अहिले महाकाली करिडोर अन्तर्गत राखिएको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसडम्म निर्माण गरिने यो सडकको हालसम्म १० किलोमिटर सडकमा मात्रै गाडी गुड्ने गरेको छ।  
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस