'अप्ठ्यारो परेको बेला साथ दिने भनेको आफूभित्रकै मनोबल हो'
धनगढी: धनगढीका व्यवसायी सुरेन्द्र राठीसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
कोरोना महामारीबाट बिस्तारै उठ्दै गरेको स्थितिमा कसरी व्यावसायिक गतिविधि चलाइरहनु भएको छ ?
कोरोनाको महामारीले पुरै व्यवसाय जगतमा पक्कै पनि नराम्रो असर पारेको छ। यसमा कुनै पनि शंका छैन। व्यावसायिक खर्च काटिएका थिएनन्, आय हुने स्थिति थिएन। यसले पक्कै पनि अप्ठ्यारो स्थिति आएको थियो। फेरि व्यावसायिका लागि त सिजनल समयको मुखैमा कोरोना आएको हो तर निजी क्षेत्रलाई एउटा शक्ति नै छ। किनभने निजी क्षेत्रले आफुलाई जति सुकै अप्ठ्यारो परेपनि त्यसलाई सुधार गर्दै लैजान्छ, सामना गर्दै जान्छ। निजी क्षेत्रलाई थाहा छ, उसलाई अप्ठ्यारो परेको बेला साथ दिने भनेको आफू भित्रकै मनोबलले हो। आफू भित्रकै क्षमताले हो। पार लगाउने यही कारणले पनि बिस्तारै सहजताको स्थितिमा आएका छौँ।
व्यवसायमा आफै प्रवेश गरेको कति भयो ? कसरी प्रवेश गर्नुभएको थियो ?
मैले २०५९ सालमा एसएलसी धनगढीबाट नै गरेको हो। स्नातक भने कलकत्ताबाट सिएसिएसमा गरेको हो। प्रविणता गरिसकेपछि एक्कासी बुवा एउटा दुर्घटनामा पर्नुभयो र केही समय उहाँले घरमै आराम गर्नुपर्ने भयो। यसरी उहाँले घरमा आराम गर्नुपर्ने भएपछि मैले व्यवसायमा प्रवेश गरेको हो। सायद यदि त्यो घटना हुँदैन थियो भने म एक दुई वर्षपछि व्यवसायमा प्रवेश गर्थे हुँला। अर्थात सिएसिएसमा केही गर्थे या तेस्रो केही हुन्थ्यो। तर त्यही बेला म आएर व्यवसाय सम्हाले। व्यवसायमा लगेको मलाई २३ वर्ष भइसकेको छ भने प्रत्यक्ष रुपमा आफै गर्न लागेको १८ वर्ष भइसकेको छ।
अहिलेको र पहिलेको स्थिति हेर्दा एकदमै फरक भइसकेको छ। धनगढीको पहिलेको बजार त्यति धेरै विकास भएको अवस्थामा थिएन, अहिले भने विकास हुँदै गरेको छ, धेरै बजारको बिस्तार भएको छ। आफुले व्यक्तिगत रुपमा यो बीचमा धेरै कुरा सिक्न पाइयो र सिकेका कुरा अनुसरण पनि गरे। त्यसैले अहिलेको स्थिति सम्ममा सन्तुष्ट नै छु।
औपचारिक शिक्षाले व्यवसाय गर्नेका लागि कस्तो महत्त्व राख्छ ?
औपचारिक शिक्षाले धेरै नै फरक पार्छ। व्यवसाय भनेको मात्रै खरिद र बिक्री त होइन यसका विभिन्न पाटो छन्। औपचारिक पढाईले व्यावसायिलाई फराकिलो दिमागको बनाउँछ। इमानदारिताका साथ सोच्न सक्ने बनाउँछ। यसरी व्यवसायलाई कसरी अगाडी बढाउने भनेर पनि औपचारिक शिक्षाले सिकाउँछ। यहाँ सुदूरपश्चिममा खरिद र र बिक्रीलाई मात्रै व्यवसायको रुपमा बुझ्ने गरेको मैले देखेको छु जुन औपचारिक शिक्षाले सुधार ल्याउन सक्छ।
अहिलेको समयमा लेखाको र करको बारेमा पनि जान्नु अति आवश्यक छ। ड्राइभिङ सिटमा राख्नुपर्ने स्थिति छ। क–कसले के–के राखेर उसले व्यवसाय गरिरहेको छ। या कति कर तिरिरहेको छ भन्ने कुरा जानकारीमा त राख्नुपर्यो। नत्र व्यवसाय बढेको अर्थात् व्यापार बढेको त देखिन्छ तर नाफा भने बढेको नहुन सक्छ। यी यावत् कारणले पढाईको धेरै महत्त्व छ।
व्यवसायी भइसकेपछि कहिल्यै त्यस्तो उतारचढावकै बीचमा गाह्रो स्थितिको सामना गर्नुभयो ?
पक्कै पनि जीवनमा उतारचढाव हुन्छन्। व्यवसायिक होस या अरु हरेक जीवनले गाह्रो भोग्नु नै पर्छ। तर फेरि त्यो समय स्थितिले केही न केही सिकेर पनि लगेको हुन्छ। तपाईंले विभिन्न क्षेत्रमा हात हाल्नुहुन्छ। तपाईंले हात हालेको हरेक चिजमा सफल नै भइन्छ भने हँुदैन। कुनै स्थितिमा सफल नहुन सक्ने हुनसक्छ। तर त्यसलाई गल्तिको रुपमा भन्दा पनि सिकाइको रुपमा लिनुपर्छ भन्छु।
मलाई चाहिँ थोरै द्वन्द्वकालमा अप्ठ्यारो भएको थियो। हार्डवेरको व्यवसाय भएर पनि निर्माणका काम भएन भने त पक्कै पनि अप्ठ्यारो हुने नै भयो। त्योबेला पाइप मिलानको लागि पनि हामीले प्रशासनबाट अनुमति लिनुपर्ने थियो। हामीले त्यति बेला बिजुलीको तार बेच्न नै बन्द गर्नुपरेको थियो। त्यसपछि बिस्तारै ठिक हुँदै गयो। हेर्नुस् कुरा के हुन्छ भने सानोतिनो उतारचढाव त व्यावसायिक जीवनमा सधै रहन्छ नै। त्यसलाई सकारात्मक रुपमा लिने र पार लगाउने भनेर सिक्नुपर्छ। प्रयास गर्नुपर्छ।