सुदूर नेपाललाई विश्वसँग जोड्दै

'अग्रजको सम्मानका लागि भएपनि दोस्रो पुस्ताले व्यवसाय सम्हाल्नुपर्छ'

२०७८ असोज १०, १०:४६

धनगढी: धनगढीका व्यवसायी भुवन भट्टसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

तपाईं व्यवसायमा सक्रिय रुपमा कहिलेदेखि लाग्नुभयो ?
हामीले २०४९ सालदेखि व्यावसाय सुरु गरेका थियौं। बुवा जागिरे हुनुहुन्थ्यो। कञ्चनपुर, कैलालीमा पौष्टिक आहारको एउटा प्रोजेक्टमा काम गर्नुहुन्थ्यो। सरुवा भएर धनगढी आएपछि सानो स्तरबाट व्यवसाय सुरु गर्नुभएको हो।
त्यतिखेर म ६ कक्षामा पढ्थे। बुवाले त्यो बेला उता त्यो जागिरको काम पनि गर्नुहुन्थ्यो र बचेको समयमा व्यवसायिक क्रियाकलाप गर्नुहुन्थ्यो। उहाँले त्यो बेलामा  धनगढीमा मोटर्सको पाटपूर्जाको स्कोप राम्रो देख्नुभएछ। धनगढीमा त्यो समयमा एकजना बाहिर पलियाको कि कताको सरदारको र एकजना नेपालीको बाहेक अरु त्यस्तो पार्टपूर्जाको काम गर्ने कोही थिएन। 

त्यस्तो स्थितिमा सानो पूँजीबाट उहाँले व्यवसाय सुरु गर्नुभएको हो। हामी पनि त्यही बेलादेखि बुवाको मेहनत संघर्ष नजिकबाट देखिरहेका छौँ। यसैकारणले पनि बुवाबाट धेरै तवरले व्यवसायिक कुराहरु सिक्न पाएकाले पनि कुनै औपचारिक बिजनेस कलासको आवश्यकता परेको महसुस भएन। 

बुवा बिहान १० बजे अफिस जाने बुलुका फर्किने अनि बचेको समयमा चिनेजानेका मान्छेहरुलाई म पनि यो गरिरहेको छु भन्ने र सबै काम समयमै व्यावस्थापन गर्नुहुन्थ्यो।  मैले बुवाबाट यसरी सिक्न पाए।  उसै पनि भनिन्छ अभिभावक भन्दा ठुलो शिक्षा दिने कुनै संस्था हुन सक्दैन भनेर। हुन पनि हो सबैभन्दा पहिला त हर कोहीले परिवारबाट नै सिक्ने हो। बाहिर केही थप संघर्ष गर्नको लागि बाहिरी दुनियासँग लड्नको लागि संस्थाहरुबाट औपचारिक शिक्षाले सिकाउला तर जीवन निर्वाहको लागि त परिवारबाट नै हो सिक्ने। मैले पनि परिवारबाटै सिके। 

व्यवसाय अहिले कुन स्तरमा पुर्याउनु भएको छ भन्ने महसुस हुन्छ ?
बुवाले आफ्नो समय हेरेर एकदम उत्कृष्ट गर्नुभयो। हिजो र आजको समय परिवेश एकदम फरक भइसकेको हुन्छ। हिजो बुवाको समयमा प्रविधिमा एक किसिमको स्थिति थियो अहिले एकदम फरक भइसकेको छ। बुवाले जति पनि २०/२५ वर्ष व्यावसाय गर्नुभयो त्यसपछि उमेरले पनि थोरै कामबाट अवकाश खोज्छ। र, अग्रजले यसरी अवकाश खोजेको बेला हामीले उहाँहरुले जुन बजारमा एउटा शाख निर्माण गर्नुभएको हुन्छ त्यसलाई सम्हाली सक्नुपर्छ। 

केहीमा म के देख्छु भने बुवाले केही अझ थोरै बढी अर्थात् यत्तिसम्म गरिदिएको भए म अगाडि सम्हाल्थे, केही समयसम्म गरिदिएको भए सम्हाल्थे भनेर भन्नुहुन्छ। फलानोको बुवाले त्यति सम्मगर्यो त्यसैले उसले सम्हाल्यो मेरो पनि त्यतिसम्म गरिदिएको भए सम्हालिहाल्थे भनि सोच्नुहुन्छ। यस्तो सोच्नुहुन्न।

किनकी अग्रज पुस्ताले धेरै अगाडि पुर्याई सकेको व्यवसाय दोस्रो पुस्ताले सम्हाली नसकेर खस्केको धनगढीमा धेरै उदाहरण छन्। त्यसैले अग्रजको सम्मानको लागि भएपनि दोस्रो पुस्ताले त्यो व्यवसाय सम्हाल्नुपर्छ। मेरो सवालमा के थियो भने म चाहिँ पहिलेदेखि नै व्यवसाय गर्नुपर्छ भन्नेमा नै थिए। किनकी सुरुदेखि नै मेरो सिकाई नै त्यसरी भयो। त्यो स्थितिमा पनि बुवाले निर्माण गर्नुभएको स्तर खस्कन दिएको छैन अझै राम्रो गर्ने प्रयासमा नै छु।

औपचारिक पढाई कति हो ?
मैले एसएलसी चाहि ग्यालेक्सी पब्लिक स्कुलबाट गरेको हो। प्रवीणता तह चाहिँ ऐश्वर्य माध्यमिक विद्यालयबाट भने स्नातक तह चाहिँ कैलाली बहुमुखी क्याम्पसबाट वाणिज्य शास्त्रमा गरेको हो।

समाजले व्यवसायीलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुहुन्छ ?
मेरो बुवाले जागिरसँगै ववसाय सुरु गरेपछि त मेरो घर स्थिति परिवर्तित हुँदै गयो। पहिला कमजोर थियो त्यसपछि मध्यम भयो अहिले ठिक्कको छ। अझै उत्कृष्ट होला भन्ने आश छ। समाज पनि यहीँ हो। परिवार मिलेर समाज बन्छ, समाज मिलेर देश बन्छ। यसरी परिवारहरु आर्थिक रुपले बलियो भए भने समाज त आफै बलियो भइसक्छ। हरेक व्यक्ति आर्थिक रुपले बलियो हुँदै गयो भने राष्ट्रको आर्थिक स्थिति बलियो भयो। देशको आर्थिक स्थिति बलियो भयो भने त पक्कै पनि देश बलियो हुन्छ। देशको मेरुदण्ड भनेकै अर्थतन्त्र हो। व्यक्तिगत रुपमा नै पनि सबैलाई पैसा चाहिन्छ। बिहान उठेर बाहिर निस्किने बित्तिकैदेखि पैसा त चाहिन्छ नि।

पैसा एउटा औजार हो जसले धेरै कुरा गर्न सकिन्छ। अहिले व्यवसायमा आउने सोच बनाउनु भएकाहरुलाई अनुरोध के छ भने तपाईं के गर्ने हो पहिला प्रष्ट हुनुस अनि आफुसँग भएको स्रोतसाधन कस्तो छ विश्लेषण गर्नुस् र काम सुरु गर्नुस। धैर्यताका साथ पर्खनुस। अहिल हरेकलाई हतारो छ। समाजको दृष्टिकोण पनि यहीँ छ। एक दुई वर्षमा सफल भएन भने त असफल नै भएको भन्ने।

 

कमेन्ट लोड गर्नुस