धनगढीमा संघीय सरकारले निर्माण थालेका सडकको क्षेत्राधिकार खाली भएन
धनगढीः धनगढी उपमहानगरपालिका–५ तारानगरका नरेन्द्रप्रसाद भट्टको समूह शुक्रबार क्षेत्रीय सहरी विकास आयोजना सुदूरपश्चिम प्रदेश, आयोजना कार्यान्वयन इकाई धनगढीको कार्यालयमा पुग्यो।
उपमहानगरपालिकाको वडा नम्बर ५ तारानगर चौकमा डिजाइनविपरीत निर्माण भएको नाली बाँगो बनाएको, साविकको सडकमा पर्ने घर नभत्काएको भन्दै उनीहरु आयोजना प्रमुखलाई गुनासो गर्न कार्यालयमा गएका हुन्। तर आयोजना प्रमुख प्रविन शाह काठमाडौंमा गएका भन्दै इन्जिनियर पूजन न्यौपानेलाई उनीहरुले भेटे। भट्ट नक्सा हातमा लिएर भन्दै थिए, ‘सडक मापदण्ड अनुसार निर्माण भएन। डिजाइनभन्दा फरक नाली निर्माण भयो। अमुख व्यक्तिका कारण नाली पनि बाङ्गोटिङ्गोे निर्माण गरिएको छ।
उपमहानगरपालिकाले वास्ता गरेको छैन। उहाँहरु एक पटक पनि आउनु भएको छैन।’ सडकको क्षेत्राधिकार खाली गर्ने दायित्व भएको धनगढी उपमहानगरपालिकाले बेवास्ता गरेको उनीहरु बताउदै थिए। दिनेशखबससँग भट्टदे भने, ‘कालिका कन्ट्रक्सनले सडक निर्माण गर्दैछ। तर नक्साअनुसार सडक निर्माण भएको छैन। उपमहानगरपालिकाले निकास दिएको छैन। नक्सा पास नभएको, सडक क्षेत्रमा रहेको घर बचाउन उत्तरतिर बढी च्यापिएको छ। सडक पनि बाङ्गोटिङ्गोे भएको छ।’
क्षेत्रीय सहरी विकासमार्फत निर्माण सुरु भएको सडकको क्षेत्राधिकार खाली गर्न उपमहानगरपालिका उदाशिन भएको आरोप उनीहरुको छ। एशियाली विकास बैँकको ऋण सहयोगमा धनगढीको सहिद गेटदेखि क्याम्पस गेटसम्मको सडकको नाली धेरै ठाउँमा बाङ्गोटिङ्गोे हुँदा पनि उपमहानगरपालिका उदाशिन देखिएको आरोप स्थानीयले लगाएका हुन्।
स्थानीय बहादुर सिँह खत्रीले सबैभन्दा पहिले भौतिक संरचना खाली गरेको बताए। उनले भने, ‘सडक क्षेत्रका भौतिक संरचना मैले सबैभन्दा पहिले भत्काएको हुँ। विकासको बाधक हुनु हुदैन भनेको हो। तर नाली बाङ्गोटिङ्गोे बनाइएको छ।’ तारानगर क्षेत्रमा दुबैतिर एकै व्यक्तिको जमिन र कुनै बिवाद नभए पनि नाली बाँगो निर्माण भएको उनले बताए। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ को शहीद गेटदेखि वडा नम्बर ८ को क्याम्पस गेटसम्म ३ दशमलव ६५ किलोमिटर सडकका विभिन्न ठाउँमा नाली बाङ्गोटिङ्गोे निर्माण भएको छ।
प्रभावशाली व्यक्तिको घर, पर्खाल तथा जग्गा परेकाले नाली बाङ्गोटिङ्गा निर्माण भएको आरोप स्थानीयको छ। सडकको क्षेत्राधिकार खाली गर्ने दायित्व उपमहानगरपालिकाको भए पनि पटकपटक आग्रह गर्दा पनि खाली नभएको गुनासो नगरबासीको छ। तर क्षेत्रीय सहरी विकास आयोजनाका इन्जिनियर पूजन न्यौपानेले उपमहानगरपालिकाले क्षेत्राधिकार खाली गर्नुपर्ने बताए। उनले भने, ‘गुनासो सुन्ने निकाय उपमहानगरपालिकाको हो। क्षेत्राधिकार खाली भएको छैन्। उहाँहरुलाई हामी आग्रह गर्छौ।’
क्षेत्रीय सहरी विकास आयोजनाले धनगढीका ७ सडक कालोपत्रे गर्दै छ। १० किलोमिटर बढी सडक निर्माणको चरणमा भए पनि अधिकाँस सडकमा क्षेत्राधिकार खाली नभएकाले काम सुरु भएको छैन। तर धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले सबै वडाहरुले आ–आफ्नो क्षेत्रको क्षेत्राधिकार खाली गर्नुपर्ने बताए। धेरै क्षेत्रमा बिवाद रहेकाले सबैले सहयोग गर्नुपर्ने उनको धारणा छ।