सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेश जाने बढे पनि विप्रेषण आप्रवाह घट्यो

२०७८ असोज ७, ०६:४५ रासस

काठमाण्डौँः चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महिनामा विप्रेषण आप्रवाह १८ दशमलव १ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव ५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव ५ प्रतिशतले बढेको थियो। सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भई १३ हजार ८०० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९९ दशमलव २ प्रतिशतले घटेको थियो। 

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २८६ दशमलव १ प्रतिशतले वृद्धि भई ११ हजार ६२८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८० प्रतिशतले घटेको थियो।

सो अवधिमा खुद ट्रान्सफर आय १६ दशमलव ४ प्रतिशतले कमी आई ८५ अर्ब २१ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो।

कमेन्ट लोड गर्नुस